सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काङ्ग्रेस कार्यकर्ता भन्छन् : ‘परिक्रमीका होइन परिश्रमीका कुरा सुन’


  •    /२५ जेष्ठ २०७६, शनिबार २१:२१ 
  • भीष्मराज ओझा/रासस

    काठमाडौँ । नेपाली काङ्ग्रेसले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण आज समापन भएको छ ।

    पहिलो चरणको एक महीने जागरण अभियानका क्रममा काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तरसम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवारसँग भेटघाट र सुझाव सङ्कलन गरेको छ ।

    सो जागरण अभियानका क्रममा अधिकांश जिल्लामा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा नेतालाई मिल्न र पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिएका छन् । त्यस्तै काम नगरी नेताका वरिपरि घुमेर चाकडी गर्ने परिक्रमी भन्दा परिश्रमीलाई महत्व दिन र सोहीअनुसार मूल्याङ्कन गर्नुपर्ने सुझाव जागरणमा मुख्यरुपमा उठेको छ ।

    अभियानका क्रममा भोजपुरमा खटिनुभएका नेता रामहरि खतिवडाले गाउँमा काङ्ग्रेस आउँदैन भन्ने गुनासोलाई सम्बोधन गरेर टोलस्तरसम्म विभिन्न कार्यक्रम गरेको बताउनुभयो ।

    केन्द्रका नेतालाई मिल्न आग्रह

    कार्यक्रममा गत निर्वाचनमा जितेका र हारेका पार्टीका उम्मेदवार सँगै भएर सौहार्द वातावरणमा कार्यक्रम गरेको जानकारी गराउँदै नेता खतिवडाले भन्नुभयो, “स्थानीय नेता कार्यकर्ताले पार्टीमा एकता कायम गर्न र गुटउपगुट अन्त्य गर्न सुझाव दिनुभएको छ । कार्यकर्ताले केन्द्रका नेतालाई मिल्न र परिक्रमीको नभई परिश्रमिकका कुरा सुन्न आग्रह गर्नुभयो ।”

    काङ्ग्रेस पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्ने र काङ्ग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धिको सम्प्रेषण गर्ने अभियानको मुख्य उद्देश्य रहेको थियो ।

    सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित जागरण अभियान २०७६ सालभरि तीन चरणमा सम्पन्न हुनेछ । अभियानको प्रथम चरण गत वैशाख २५ गते प्रारम्भ भई आज समापन भएको छ । दोस्रो चरण आगामी भदौ २४ गते बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ । तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ मेलमिलाप दिवसमा समापन हुने गरी तय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

    बाँकेमा खटिनुभएका नेता एनपी साउदले अभियानमा पार्टीका सबै एकाइ र भ्रातृ तथा शुभेच्छुक संस्था परिचालन भएको, पार्टीमा एकताको सन्देश गएको र नयाँ सन्दर्भमा पार्टी एक भएर जानुपर्छ भन्ने स्थानीय नेता कार्यकर्ताको बुझाई रहेको बताउनुभयो । साउदले भन्नुभयो– “सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनता निराश भएको पायौँ, जनचासोका विषयलाई काङ्ग्रेसले उठाउनुपर्छ, केन्द्रमा नेताहरु मिल्नुपर्छ, जागरण अभियानजस्ता कार्यक्रम पार्टीले निरन्तर गर्नुपर्छ भन्ने स्थानीय तहमा माग छ ।”

    संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ

    काङ्ग्रेसले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, बढ्दो महँगी, असुरक्षा, भ्रष्टाचारलगायत विषयका विरुद्ध पार्टीले कार्यक्रम बनाई जनतामा जानुपर्ने सुझाव आएको नेता साउदले जानकारी दिनुभयो । साथै गुटउपगुटका आधारमा नभई पार्टी संस्थागत र पद्धतिका आधारमा चल्नुपर्ने काङ्ग्रेसजनको सुझाव छ ।

    लमजुङमा खटिनुभएकी नेत्री कमला पन्तका अनुसार अभियानले पार्टीका सबै निकाय परिचालन भएको र पार्टीमा एकताको राम्रो सन्देश गएको छ । सयौँ नेता कार्यकर्ता र जनतासँग प्रत्यक्ष अन्तक्र्रिया भएको बताउँदै उहाँले अभियानका बारेमा केहीले ठीक र आवश्यक थियो भने पनि केहीले भने पहिला केन्द्रमा नै जागरण गर्नुस् भनेर आक्रोश पोखेको उल्लेख गर्नुभयो ।

    नेतृत्वले सबैलाई समान व्यवहार गर्नुपर्ने, इमान्दार कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्ने सुझाव दिएको नेत्री पन्तको भनाइ थियो । अभियानका क्रममा नेता कार्यकर्ताले पार्टीका भ्रातृ, शुभेच्छुक संस्था र पार्टीका विभाग चुस्त बनाउन सुझाव दिएका छन् ।

    अभियानका क्रममा जुम्लामा एक महीनासम्म रहनुभएकी नेत्री रमा पौडेलले अभियानले कार्यकर्तामा उत्साह जागेको सुनाउनुभयो । वडास्तरसम्म भेला, प्रशिक्षणका साथै पार्टीका विभिन्न एकाइका बैठक पनि भएको बताउँदै उहाँले स्थानीय नेताकर्तामा केन्द्रमा नेताहरु एक ढिक्का हुनुपर्छ भन्ने सुझाव दिएको जानकारी दिनुभयो ।

    रिक्त संरचनालाई यथाशीघ्र पूर्णता दिनुपर्छ

    रसुवामा खटिनुभएका नेता जीवन परियारले अभियानका क्रममा मुख्यरुपमा स्थानीय तहमा लामो समयदेखि पार्टीका तदर्थ समिति भएको र कतिपय एकाइ रिक्तसमेत रहेकोप्रति आक्रोश पोख्दै यथाशीघ्र पूर्णता दिन आग्रह गरेको बताउनुभयो ।

    काङ्ग्रेसको संशोधित विधानमा संविधानअनुसार पार्टीका नयाँ संरचना बनाउन सङ्क्रमणकालीन व्यवस्था गरिएको भए पनि पार्टी कार्यालयले रिक्त कमिटीलाई पूर्णता दिन प्रभावकारी काम गरेको देखिँदैन । कार्यकर्ताले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको समयमा महाधिवेशन गर्न र प्रशिक्षणका लागि समय समयमा केन्द्रबाट पहल हुनुपर्ने माग गरेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.