नेपालमै छापिएर प्रकाशित भएका पत्रिकाहरूमध्ये सुधासागरलाई पहिलो पत्रिका मानिएको छ । यो वि.सं. १९५५ श्रावणमा प्रकाशित भएको थियो । यो साहित्यिक पत्रिका हो । योभन्दा झन्डै तीन वर्षपछि मात्र समाचारपत्रको रूपमा गोरखापत्र प्रकाशित (वि.सं. १९५८ ज्येष्ठ ३ गते सोमबार) भएको थियो । यसर्थ यसलाई माहिलो र सुधासागरलाई जेठो पत्रिका भन्ने गरिएको पाइन्छ (देवकोटा, २०५९ : २९) । हुन त यसअघि नै भारत, वनारसबाट कवि मोतीराम भट्टद्वारा नेपाली भाषामा गोर्खा भारत जीवन (१९४३) नामक पत्रिका प्रकाशित भएको थियो भन्ने उल्लेख पाइन्छ तर त्यसको पुष्टि भइसकेको छैन ।
सुधासागरको प्रकाशनपछि ३६ वर्षसम्म अरू कुनै साहित्यिक पत्रिका जन्मिएनन् एकैचोटि वि.सं. १९९१ मा शारदाको प्रकाशन हुन पुग्यो । शारदापछि भने उध्वोग (१९९५), साहित्यस्रोत (२००४), आँखा (२००५), सेवा (२००८), प्रगति (२०१०), इन्द्रेणी (२०१३), धरती (२०१३) आदि साहित्यिक मासिक पत्रिकाहरू प्रकाशित हुन थाले । यसै गरी डाँफेचरी (२०१०), जनसाहित्य (२०११), रूपरेखा (२०१७), रत्नश्री (२०२०), रचना (२०२१) आदि द्वैमासिक रनौलो पाइलो (२०१२), स्वास्नी मान्छे (२०१५), नेपाली (२०१६), भानु (२०२०), पूर्णिमा (२०२१), कविता (२०२१) आदि त्रैमासिक पत्रिकाहरू प्रकाशन हुन थालेको उल्लेख पाइन्छ (देवकोटा, २०५९ : ३०) ।
नेपाली भाषाको साहित्यिक पत्रिका प्रकाशनमा भारत, बनारसको ठूलो भूमिका रहेको देखिन्छ । नेपालबाट सुधासागर (१९५५) पछि लामो समय पत्रिकाहरू प्रकाशित भएनन् तर बनारसबाट भनेगोर्खा भारत जीवन (१९४३), उपन्यास तरङ्गिनी (१९५९), सुक्तिसुधा (१९६१), माधवी (१९६५), चन्द्र (१९७१), जन्मभूमि (१९७९), उदय (१९९३) आदि पत्रिकाहरू प्रकाशित हुँदै आए । यसै गरी भारती (२००६), दियो (२०१४), तेस्रो आयाम (२०२०) आदि पत्रिकाहरू दार्जिलिङबाट;आदर्श (१९८७), मुङ्ग्रो (२००६) आदि कालिम्पोङ;कञ्चनजङ्गा (२०१४) सिक्किमबाट;चन्द्रिका (१९७४) खरसाङबाट; हिमालय (२०१८), सुमन (२०२२), कामरूपा (२०२२), हाम्रो ध्वनि (२०२८) आदि असमबाट प्रकाशित भए । यसरी नै कलकत्ताबाट उत्थान (२००५); पटनाबाट नेपाल पुकार (२००६); दिल्लीबाट स्वतन्त्र विश्व (२०१८) आदि पत्रिकाहरू प्रकाशित भए ।
नेपाको साहित्यिक पत्रकारिताको विकासमा भारतमा शिक्षार्जनका लागि गएका नेपाली र त्यहीँकै नेपाली मूलका भारतीय साहित्यकार पत्रकारहरूको ठूलो हात रहेको देखिन्छ ।
समाचारपत्रको प्रकाशनमा पनि गोर्खापत्र (१९५८) पछि नेपालबाट लामो समय समाचारपत्रहरू प्रकाशित भएनन् । एकैचोटि वि.सं. २००७ मा आवाज देखापरेको थियो । यसपछि समाज (२०११), दि कमनर(२०१३), नेपाल दैनिक(२०१६), मातृभूमि (२०२१), समीक्षा (२०२२) आदि समाचारपत्रहरू प्रकाशित हुँदै आएका देखिन्छन् भने भारत दार्जिलिङबाट गोर्खे खबरकागज (वि.सं. १९५८), नेपालबाट निस्कने गोर्खापत्र सँगसँगै प्रकाशित हुन थालेको देखिन्छ । यसै गरी देहरादूनबाट गोर्खा संसार (१९८६), बनारसबाट गोर्खाली (१९७२), युगवाणि (२००४); शिलाङबाट गोर्खा सेवक (१९९२), दरभंगाबाट जनमत (२०१२), मुजफरपुरबाट क्रान्तिकारी (२०१५) आदि समाचारपत्रहरू प्रकाशित हुँदै आएका देखिन्छन् ।
संवत् १९५५ देखि आजसम्म यो १२१ वर्षको समयावधिमा नेपालबाट प्रकाशित साहित्यिक पत्रिकाहरूको सङ्ख्या ३/४ हजार रहेको अनुमान गरिएको पाइन्छ । तर वि.सं. २०६५ मा प्रेस काउन्सिल नेपालले प्रकाशित गरेको नेपाली साहित्यिक पत्र–पत्रिका संक्षिप्त ग्रन्थकोशमा भने ११८० वटा साहित्यिक पत्रपत्रिकाहरूको संक्षिप्त विवरण रहेको छ र साहित्यिक पत्रपत्रिकाहरूको ऐतिहासिक विकासक्रमलाई हेर्दा भने नेपालको पत्रकारिताको आधार नै साहित्यिक पत्रकारिता रहेको उल्लेख पाइन्छ (संक्षिप्त ग्रन्थकोश, २०६५ : क) ।
संवत् २०६५ पछि पनि धेरै साहित्यिक पत्रपत्रिकाहरू देखापरेका छन् । देशभरि प्रकाशित भएका साहित्यिक पत्रपत्रिकाहरूको विवरण त यसमा सम्भव छैन तर साहित्यिक पत्रकारिताका निम्ति जनस्तरबाट २०६३ मा गठन भएको नेपाल साहित्यिक पत्रकार संघमा रहेका पत्रिकाहरूको नाम लिनुपर्दा अन्तर्बोध, अभिव्यक्ति, अक्षर, कलम, कल्पतरु, कौशिकी, गुगुल्डी, गुञ्जन, जनमत, जुही, तन्नेरी, तादी, थौंकन्हे, दायित्व, नवआकांक्षा, नवप्रज्ञापन, नागार्जुन, निर्झर, नेपाल संस्कृति, पल्लव, फित्कौली, बगर, शब्द संयोजन, शाब्दाङ्कुर, शारदा, शिवपुरी सन्देश, रचना, रश्मी, लिब्जुभुम्जु, लेखक, वनिता, वेदना, समकालीन नेपाली साहित्य, साथी, साहित्यसागर, हाम्रो सिर्जना, हिमाली गुराँस, ज्ञानगुन आदि पत्रिकाहरू रहेका देखिन्छन् । यस्तै गरी भृकुटी, मधुपर्क, नेपाली, वैजयन्ती, कविता, अक्षलोक, गरिमा, प्रज्ञा, मिर्मिरे, नवआलोक, समष्टि, ज्योति, शृङ्खला, रश्मी, सयपत्री, सर्वदा, हाम्रो यात्रा आदि पत्रिकाहरू प्रकाशित हुँदै आएका देखिन्छन् ।
नेपाली पत्रपत्रिकाहरूको विकासक्रमको यही पृष्ठभूमिमा चितवनमा पनि पत्रकारिताको चेतनाले जन्म लिएको देखिन्छ । तर चितवनमा पत्रिकाको जन्म हुन सुधासागरपछि ६६ वर्ष लागेको थियो । नेपालको प्रख्यात साहित्यिक पत्रिका शारदाभन्दा ३० वर्षपछि मात्र २०२१ पौषमा चितवनबाट पहिलो पत्रिकाको रूपमा चितवनको चिनो प्रकाशित भएको हो । तैपनि यो शारदा जस्तो पत्रिका नभई चितवन हाइस्कुलका छात्रछात्राहरूको सांस्कृतिक कार्यक्रममा वाचित रचनाहरूको सङ्कलन मात्र थियो । यसअघि रापती उपत्यका (२०१४) र जितिया पावनी (२०१६) नामक पुस्तकहरूको प्रकाशनबाहेक साहित्यिक पत्रिका प्रकाशित भएको थिएन । यसर्थ यो नै चितवनको पहिलो पत्रिका हो । चितवनमा पनि पत्रकारिताको आरम्भ साहित्यिक पत्रिकाबाट नै भएको देखिन्छ । समाचारपत्रको प्रकाशन त चितवनको चिनोभन्दा १८ वर्षपछि मात्र भएको थियो ।
२. साहित्यिक पत्रकारिता
साहित्यिक पत्रकारिता साहित्य क्षेत्रसितै सम्बन्धित छ । साहित्य, जीवन र जगतको सूक्ष्म अनुभूति र त्यसको कलात्मक अभिव्यक्ति हो । यथार्थको पुनर्सर्जन हो । सामाजिक जीवनको प्रतिबिम्बन हो । यसर्थ यसलाई समाजको ऐना पनि भनिन्छ । यथार्थ चित्रणको अर्थमा ऐना भनिए पनि यसमा आदर्शको उच्छलन हुन्छ । सोद्देश्यता अन्तर्निहित हुन्छ । समाज रूपान्तरणकारी भूमिका छिपेको हुन्छ । यही समाज रूपान्तरणकारी भूमिकाका कारणले यसलाई समाज रूपान्तरणको औजार पनि भनिन्छ ।
पत्रकारिताचाहिँ पत्रिका सम्बन्धीको क्रियकलाप हो । एउटा पत्रकारले पत्रिका प्रकाशनार्थ जे जस्तो क्रियाकलाप (समाजमा घटेका घटना र प्रवृत्तिलाई सार्वजनिक जानकारीमा ल्याउन सूचनाहरूको सङ्कलन, सिर्जनाहरूको सङ्कलन, त्यसको व्यवस्थापन अखबार वा पत्रिको रूपपक्षको रेखाङ्कन, शुद्धीकरण एवं परिमार्जन, टङ्कन, मुद्रण, प्रशारण आदि) जुन कामधन्दा गर्छ, त्यो नै पत्रकारिता हो । यसरी नै साहित्य सम्बन्धीको क्रियाकलाप चाहिँ साहित्यिक पत्रकारिता हो । यसमा सूचना समाचारका साथै सिर्जना पनि संलग्न गरिएको हुन्छ ।
साहित्य–सिर्जनालाई अभिप्रेरित, अभिसिञ्चित गर्ने यसलाई विकसित गर्ने, परिष्कृत गर्ने पूर्वाधार थलो पत्रपत्रिका हुन् । साँच्चै भन्ने हो भने सिर्जनशीलता बढाउने प्रारम्भिक पाठशाला यिनै हुन् । अझ साहित्यिक पत्रकारितामा सिर्जनात्मकता बौद्धिकता, प्राज्ञिकता, उध्र्वगामिता र यथार्थपरकता जस्ता विशेषता हुन्छन्, जसको अभावमा साहित्यले परिष्कार नै पाउँदैन ।
३. चितवनको साहित्यिक पत्रकारिता
जैविक विविधता, भौगोलिक वा प्राकृतिक रमणीयता, सामाजिक विकासको द्रुतता, सांस्कृतिक समन्वयता र आर्थिक सम्पन्नताका दृष्टिले आज चितवन सुपरिचित स्थान बनेको छ । एक सिङ्गे गैँडा, घडियल गोही, पाटे बाघ एवं अनेक प्रजातिका वनस्पति, चराचुरुङ्गी, जीवजन्तुहरूले शोभायमान बनेको र विश्वसम्पदा सूचीमा सूचीकृत भएको चितवन राष्ट्रिय निकुञ्जलगायत ऐतिहासिक र आर्थिक स्थलहरू – देवघाट, वाल्मीकि आश्रम, उपरदाङगढी, सोमेश्वरगढी, विक्रमबाबा, चित्रसारी आदिले सुपरिचित रहेको र नारायणी नदीदेखि मकवानपुरको हर्ना माडीसम्म फैलिएको महाभारत र चूरे पर्वत शृङ्खलाबीचमा फैलिएको द्रोणी (मैदानी भाग) र यस भूभागमा संवत् २०१०/०११ तिर औलो उन्मूलन भई पहाडतर्फका मानिसहरूको आगमनले घना बसोबास बन्दै आएको हो । यहाँका रैथाने आदिबासीहरूसँग लेख्य परम्पराको भाषा र साहित्य थिएन । कथ्य परम्परामा रहेको लोकसाहित्यका भने उनीहरू धनी थिए । पहाडतर्फबाट झरेका आगन्तुकहरूको भने लेख्य परम्परा भएको भाषा र साहित्य दुवै थियो । तसर्थ उनीहरूको सांस्कृतिक–साहित्यिक अभिव्यक्तिहरू हुन थाल्यो । स्कुलहरू खुले । सामाजिक संस्थाहरू खुल्दै गए । यही क्रममा साहित्यिक सांस्कृतिक अभिव्यक्तिहरूको सङ्कलन र प्रकाश गर्ने चेतना पनि पैदा भयो र त्यसले पुस्तकाकार कृतिकारूपमा २०२१ पौषमा प्रकाशन हुन पायो । यसको नाम चितवनको चिनो राखियो ।
यसपछि भने क्रमशः पत्रिकाहरू प्रकाशित हुँदै आए । यस्ता दर्ताविना नै सामयिक सङ्कलन, मुखपत्र आदिका रूपमा प्रकाशित हुँदै आएका साहित्यिक पत्रिकाहरू निम्नानुसार रहेका छन् –
आदि पत्रिकाहरू प्रकाशित भएको उल्लेख पाइन्छ । सँगसँगै गोजिका र हवाइपत्रहरू पनि प्रकाशित भएका देखिन्छन् – ६६) सुसेली (२०५०), ६७) अनुप्रस्थ (२०५३), ६८) सौदामिनी (२०५४), ६९) प्रस्फुटन (२०६५), ७०) सेवा (२०६५), ७१) उपहार, ७२) नवप्राञ्जली आदि हवाइपत्रहरूसमेत गरी कुल७२ वटा पत्रिकाहरू प्रकाशित भएका देखिन्छन् । यी भए विनादर्ता प्रकाशित हुँदै आएका साहित्यिक पत्रिकाहरू । यसरी नै संवत् २०४८ सालदेखि जिल्ला प्रशासन कार्यालय, चितवनमा दर्ता भएर प्रकाशित हुँदै आएका साहित्यिक पत्रिकाहरू पनि निम्नानुसार रहेका छन् : यसरी चितवनको साहित्यिक पत्रकारिताको अवलोकन गर्दा ७२ वटा विनादर्ताका र १७ वटा दर्ता भएका गरी जम्मा ८९ वटा पत्रिकाहरू प्रकाशित भएका देखिन्छन् ।
चितवनको भाषा साहित्य कलाको विकासमा यी साहित्यिक पत्रिकाहरूले अहंभूमिका खेलेको कुरो जगजाहेर नै छ तर भाषा साहित्य कला र पत्रकारिताको विकासमा साहित्यिक पत्रकारिताले मात्र योगदान पु¥याएको भने होइन । चितवनबाट प्रकाशित चितवनको साहित्यिक पत्रकारिताको चर्चा गर्दा साहित्यिक गतिविधिको स्वतः चर्चा गर्नुपर्ने हुन्छ ।
वि.सं. २०२१ मा चितवनको चिनो प्रकाशित भयो । त्यसपछि रामपुरमा बृहत् राष्ट्रिय साहित्य गोष्ठी र देवघाटमा राजा महेन्द्रको उपस्थितिमा डुङ्गामा कविगोष्ठी पनि सम्पन्न भएको थियो । यस्तै गरी २०२४ सालमा चितवन जिल्लास्तरीय साहित्य गोष्ठी भई गोष्ठीमा बाचिएका रचनाहरूसमेत संलग्न गरी दोभानको प्रकाशन भएको थियो । यो स्तरीय पत्रिकाको रूपमा प्रकट भएको थियो तर एक अङ्क मात्र प्रकाशित भयो । चितवनको चिनो पनि एक अङ्क मात्र प्रकाशित भएको थियो पछि २०६० को दशकमा चितवन हाइस्कुलको अल्मुनाई गठन भई त्यसको मुखपत्रको रूपमा केही अङ्क (६ अङ्कसम्म) प्रकाशित हुँदै आएको छ । वीरेन्द्र कलेज वि. संघबाट प्रकाशित प्रकाशपुञ्ज र चितवन हाइस्कुलको मुखपत्रको रूपमा प्रकाशित वेणीको भने केही अङ्क प्रकाशित भएका देखिन्छन् । नारायणी रात्री हाइस्कुल, वि. सङ्गठनबाट प्रकाशित रात्रीप्रकाशको भने १ अङ्कमात्र प्रकाशित भएको देखिन्छ । केही व्यक्तिहरूको सामुहिक प्रयासमा प्रकाशित नौलो राँकोको चौथो र पाँचौँ अङ्क प्रशासनले जफत गरेको र लामो समय थान्को लागी बहुदलीय व्यवस्था आएपछि प्रगतिशील समूहको साहित्यिक संस्था, साहित्य सङ्गमको मुखपत्र बनेर दशौँ अङ्कसम्म प्रकाशित हुँदै आएको छ । चित्रवन युवा क्लबको प्रकाशनमा नयाँ गोरेटोपनि नौलो राँकोकै चिन्तनपथमा १ अङ्कप्रकाशित भएको थियो । नारायणी पुस्तकालयले तिर्सना प्रकाशित ग¥यो। यसको १ अङ्क प्रकाशित भयो । ज्ञानोदय पुस्तकालय पटिहानीले नौलो राँको र नयाँ गोरेटोको बल्यो ।राँको निभाउन छहरो प्रकाशित ग¥यो । पछि छहरो ने.वि. संघको मुखपत्र बन्यो र आज ५ अङ्कसम्म प्रकाशित हुँदै आएको छ । नारायणी कला मन्दिरले मारुनीको फन्को निकाल्दै आएको छ र अहिले १७औँ फन्कोसम्म प्रकाशित गरेको छ । यसै अवधिमा नयाँ जोशको १ अङ्क, कीर्तिको १ अङ्क र राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलले भृकुटी १ अङ्क प्रकाशित गरेको देखिन्छ ।
वैयक्तिक प्रयासमा प्रकाशित भएका जाँगरको १अङ्क, आरनको ३ अङ्क, इन्द्रकमलको ३ अङ्क, ऋचा र गोधुलीको दुई÷दुई अङ्क, दियालो परिवारले प्रकाशन गरेको नौलो समाजको १ अङ्क, कविता–कुशुम र युवासयको एक/एक अङ्क प्रकाशित भएको देखिन्छ । यस्तै गरी वैयक्तिक प्रयत्नमा प्रकाशित जनसाहित्यको ६ अङ्क र सामूहिक प्रयासमा चितवन साहित्य परिषद्को मुखपत्रको रूपमा प्रकाशित वागीश्वरीको २७अङ्क प्रकाशित भएको देखिन्छ ।
यसरी साहित्यिक पत्रिकाहरू एकपछि अर्काे प्रकाशित भएका देखिन्छन् । आजभन्दा ५०/५५ वर्षअघिदेखि प्रकाशित हुन थालेका पत्रिकाहरूमध्ये कतिपय पत्रिकाहरू विभिन्न रूपमा अझै जीवित छन् । चितवनको चिनो अल्मुनाइको मुखपत्रको रूपमा नौलो राँको साहित्य सङ्गमको मुखपत्रको रूपमा र मारुनी नारायणी कला मन्दिरको मुखपत्रकोरूपमा आज पनि प्रकाशित हुँदै आएका छन् । यसै गरी यस चरणमा प्रकाशित भएका पत्रिकाहरूमध्ये धेरै अङ्क निस्किएको पत्रिका वागीश्वरी हो । यसको आजसम्म २७औँ अङ्क प्रकाशित भएको देखिन्छ । वि.सं. २०२१ देखि २०४८ सम्म प्रकाशित भएका यी २१ वटा पत्रिकाहरू दर्ता भएर प्रकाशित हुनुअघिका पत्रिकाहरू हुन् । यी २१ वटा र यिनका अङ्कहरूको समेत हिसाब गर्ने हो भने प्रारम्भिक चरणमै साहित्यिक पत्रकारिताको धेरै अभ्यास भएको देखिन्छ ।
संवत् २०४८ देखि भने चितवनमा पत्रपत्रिकाहरू दर्ता हुन थाले । साप्ताहिक पत्रिका प्रतिकार जिल्ला प्रशासन कार्यालयमा २०४८ मा दर्ता भएको पहिलो समाचारपत्र हो । हुन त यसअघि प्रवाह नामक समाचारपत्र २०३९ मै दर्ता भएको उल्लेख पाइन्छ (छिमेकी, २०५५ : १४०) तर जिल्ला प्रशासन कार्यालयको दर्ता किताबमा भने उल्लेख छैन । साहित्यिक पत्रिकाहरूमा दर्ता भएको पहिलो पत्रिका सम्प्रेषण (२०४९) हो । यसपछि सुनगाभा (२०५०), युवासय (२०५५), मझेरी (२०५७), हाम्रो मझेरी (२०५७), पल्लवी सन्देश (२०५९), पल्लव (२०६०), हाम्रो सिर्जना (२०६१), स्रष्टा (२०६१), श्रद्धा हाम्रो समाज (२०६३), सरोजिनी (२०६३) र सिराइचुली (२०६३), चरैवेती (२०६७) आदि पत्रिकाहरू दर्ता भएका देखिन्छन् ।
सूचना, सन्देश र जानकारीहरू बाहिर ल्याउने काम साहित्यिक पत्रकारिताले मात्र गर्ने होइन । यो छापा माध्यममध्येको अखबारी पत्रकारिता र अन्य (व्यावसायिक र मनोरञ्जनात्मक) पत्रकारिताबाट पनि हुन्छ । अझ यतिमात्र नभई विद्युतीय सञ्चार माध्यम र अन्य माध्यमबाट पनि जनताको सूचनाको नैसर्गिक अधिकार पूरा भइरहेको हुन्छ ।
छापा माध्यम आमसञ्चारको परम्परागत माध्यम हो । चितवनमा यही पहिले शुरु भयो । यसमध्ये पनि साहित्यिक पत्रकारिताबाट चितवनको छापा माध्यमको आरम्भ भएको उल्लेख भइसकेको छ । साहित्यिकभन्दा १८ वर्षपछि मात्र अखबारी पत्रकारिताको थालनी भयो । संवत् २०३९ मा प्रवाह साप्ताहिकबाट सुरु भएको र प्रतिकार (२०४८) साप्ताहिकबाट दर्ता हुन सुरु गरेको अखबारको रूपमा व्यावसायिकतातर्फ लम्किएको अखबार पत्रकारिताले संवत् २०५३ मा दैनिक चितवन नामबाट दैनिक अखबारको रूपमा प्रवेश पायो । यसपछि चितवन पोष्ट, पारदर्शी आदि दैनिक पत्रिकाहरू प्रकाशित हुन थाले र आजसम्म आइपुग्दा १०३ वटा समाचारपत्रहरू अस्तित्वमा आएको देखिन्छ तर हाल चालु रहेका अखबारहरूमा भने दैनिकमा (चितवनपोष्ट, कायायैरन, लोकतन्त्र सन्देश र ड्रिम्स) ४ वटा लगायतका चारवटा पत्रिकाहरू नियमित रूपमा प्रकाशित भइसकेका छन् । दैनिक पारदर्शी र समाचारपत्र भने बन्द भएका छन् । साप्ताहिक समाचारपत्रहरूमा चितवन, चुरे सन्देश, आक्रमण, भण्डाभोड अभियान, जोश, राजधानी, आस्था, अर्थ समाचार, चितवन ज्योति, नमस्ते बिहानी, शुभेच्छा सन्देश, अग्रता, उज्यालो टाइम्स, स्वर्णखबर आदि समाचारपत्रहरू प्रकाशित भएका भए पनि नियमित रहेका पत्रिकाहरू चाहिँ चार पाँचवटा भन्दा बढी छैनन् । अन्य पत्रिकाहरूमानारायणी टुडे मासिकलगायतका केही पत्रिकाहरू प्रकाशित भइरहेका देखिन्छन् .(यसको समग्र विवरण परिशिष्ट “ख” मा दिइएको छ) । यी पत्रिकाहरूमा पनि आंशिक रूपमा साहित्यिक रचनाहरू प्रकाशित हुँदै आएका छन् । साहित्य सिर्जना र पत्रकारितामा यिनले पनि योगदान पु¥याएकै देखिन्छ ।
छापा माध्यमले जस्तै विद्युतीय माध्यमले पनि चितवनको साप्ताहिक पत्रकारितामा योगदान पु¥याएको देखिन्छ । चितवनमा एफ.एम. रेडियो र टि.भी. च्यानल संवत् २०५८ मा स्थापित भएका हुन् । एफ.एम.मा सिनर्जी एफ.एम. ९१.६ २०५८ सालमा र बेसो संस्थाबाट सञ्चालित टि.भी. च्यानल २०५८ सालको असोजदेखि सुरु भएको देखिन्छ । आज चितवनमा २० वटा एफ.एम. रेडियोहरू (सिनर्जी, कालिका, हाम्रो, त्रिवेणी, रेडियो नारायणी, रेडियो ध्रुवतारा÷रेडियो साइनो, रेडियो चितवन, रेडियो अर्पण, सामुदायिक रेडियो माडी, सिराइचुली, ग्रेट एफ.एम., रेडियो सम्पदा, ड्रिम्स, रेडियो शिवशक्ति, रिलेशन, रेडियो मनकामना, इच्छाकामना एफ.एम., रेडियो वाल्मीकि आदि एफ.एम.हरू र ५ वटा टेलिभिजनहरू (बेसो, आभास, टि.भी. कालिका, नमस्ते, अभियान) क्रियाशील रहेका छन् । यिनले पनि आंशिक रूपमा साहित्यिक रचना एवं कार्यक्रमहरू प्रशारण गर्ने गरेका छन् ।
यस्तै गरी नेपाल पत्रकार महासंघ, चितवनमा आबद्ध रहेका १५ वटा अनलाइन पत्रिकाहरू (नारायणी, सौराह, कालिका दैनिक,ए टु जेड, मिडिया डटकम, न्युज भित्तो, चितवन समाचार, सफल खबर, मेरो खबर साथी, शासन खबर, सरोकार अनलाइन, मकालु खबर, खबर तरङ्ग, क्लिक खबर) ले पनि साहित्यिक रचना एवं सूचनाहरू केही मात्रामा प्रसारण गरेको पाइन्छ । अनलाइन पत्रिकाहरू धमाधम खुलिरहेका छन् । चितवनसँगै सम्बन्ध रहेका र प्रेसकाउन्सिल नेपालसँग आबद्ध रहेका ३० वटा अनलाइन पत्रिकाहरूको समग्र विवरण पनि प्राप्त भएको छ (विवरण परिशिष्ट “ग” मा दिइएको छ) । यसबाहेक अन्य मेडियाहरू (गोष्ठी, सेमिनार, टक–प्रोग्राम, साहित्यिक भेला, सम्मेलन आदि आवधिक कार्यक्रमहरूले पनि साहित्यिक पत्रकारितालाई प्रोत्साहित गर्दै ल्याएको देखिन्छ ।
४. विकासक्रम र प्रवृत्ति
चितवनमा पत्रकारिता आरम्भ भएको ५५ वर्ष पुगिसकेको छ र यस कालखण्डभित्र छापा माध्यमका २७० वटा (साहित्यिक ८९ वटा, समाचारपत्र १०३ वटा र अन्य ७८ वटा) पत्रपत्रिकाहरू प्रकाशित भएका छन् । यसै गरी विद्युतीय माध्यमका ५५ वटा सञ्चार संस्थाहरू (टि.भी. ५ वटा, एफ.एम. २० वटा र अनलाइन ३० वटा) क्रियाशील रहेका छन् । छापा माध्यमको २०२१ देखि र विद्युतीय माध्यमको २०५८ देखि विकासक्रम सुरु भएको हो र यो चरणबद्ध रहेको देखिन्छ :
क) पहिलो चरण (२०२१–२०४७) ख) दोस्रो चरण (२०४८–२०६३) ग) तेस्रो चरण (२०६४–२०७६ वा आजसम्म)
क) प्रथम चरण : वि.सं. २०२१ मा प्रकाशित भएको साहित्यिक पत्रिका चितवनको चिनोदेखि २०४७ सालमा प्रकाशित वागीश्वरीसम्मको यो २६ वर्षे कालखण्डभित्र प्रकाशित २०/२१ वटा साहित्यिक र ६ वटा समाचारपत्रहरूको कालखण्डलाई चितवनको पत्रकारिताको पहिलो चरण मान्न सकिन्छ । यस चरणमा साहित्यिक पत्रिका प्रकाशनको बाढी नै आएको देखिन्छ तर यी पत्रिकाहरू सामयिक सङ्कलन, संस्थागत मुखपत्र र केही वैयक्तिक आवधिक पत्रिकाको रूपमा प्रकाशित भएका थिए । यी पत्रिकाहरू दर्ताविना नै प्रकाशित हुँदै आएका पत्रपत्रिकाहरू थिए । यस चरणमा एउटै पनि साहित्यिक पत्रिका दर्ता भएको पाइँदैन तर समाचारपत्रहरू भने जुन छ वटा (प्रवाह, मुलुकी आवाज, विवेचना, अन्वेषणा र जनआवाज) प्रकाशित भएका देखिन्छन्, ती दर्ता भएका थिए भन्ने उल्लेख पाइन्छ (छिमेकी, २०५५ : १४०) तर जिल्ला प्रशासन कार्यालयको दर्ता पुस्तकमा ती दर्ता भएका देखिन्नन् । दर्ता नभएर हो वा प्रशासन कार्यालयमा दर्ता गर्ने चलन नभएर हो वा सुरुको दर्ता पुस्तक हराएर हो यो खुल्न सकेको छैन ।
प्रकाशित भएका साहित्यिक पत्रिकाहरू भने निकै उत्साहित र उज्याला देखिन्छन् । आ–आफ्नो विचार र आस्थाप्रतिको समर्पण भाव, जनताका समस्याप्रति संवेदनशील, सामाजिक विकृति–विसङ्गतिप्रति आक्रामक, सुन्दर समाज निर्माणको हुटहुटी, साहित्यिक सेवाको भाव, स्वाभिमानी भाव, देशभक्ति, सिर्जनात्मक प्रतिस्पर्धा आदि यस चरणका पत्रपत्रिकाहरूका विशेषता हुन् । यसै गरी राष्ट्रिय रूपमा जेजस्ता विचारधारात्मक प्रवृत्तिहरू पैदा भएका थिए, चितवनको पत्रकारिताको क्षेत्रमा पनि त्यसको असर परेको देखिन्छ । केही पत्रिकाहरू स्वच्छन्दतावादी यथास्थितिवादी चिन्तनधारातर्फ प्रवृत्त थिए भने केही पत्रिकाहरू यथार्थवादी, आलोचनात्मक यथार्थवादी र समाजवादी यथार्थवादी चिन्तनधारातर्फ प्रवृत्त थिए । आ–आफ्ना चिन्तन एवं प्रवृत्तिअनुसार समाजमा जागरण फैलाउने, नवीन विचार र सूचनाहरू सञ्चार गर्ने र विचार समूहहरू पैदा गर्ने खालका कामहरू गर्ने गर्थे । आस्थाको पत्रकारिताले प्रतिस्पर्धाको रूपसमेत धारण गरेको थियो । प्रगतिशील पक्षधर पत्रिका नौलो राँको, नयाँ गोरेटो, नयाँ जोश, जाँगर आदि थिए भने स्वच्छन्दतावादी धाराका अन्य पत्रिकाहरू थिए । यथार्थवादी पत्रिका कीर्तिलगायतका पत्रिकाहरू पनि थिए ।
नौलो राँकोको राँको निभाउन छहरो पत्रिकाको प्रकाशन भएको थियो । साहित्यिक पत्रकारिताको क्षेत्रमा यस हदसम्मको प्रतिस्पर्धा भएको देखिन्छ तर यस चरणको पत्रकारिताको मूल प्रवृत्ति भने साहित्यप्रति समर्पण, आफ्नो आस्था र विचारप्रति जागृत, समाजप्रति संवेदनशील, अत्यन्त क्रियाशील र आस्थाको पत्रकारिता नै थियो ।
ख) दोस्रो चरण : वि.सं. २०४८ मा दर्ता भई प्रकाशन हुन थालेको त्रैमासिक साहित्यिक पत्रिका सम्प्रेषण र साप्ताहिक समाचारपत्र प्रतिकारदेखि २०६३ मा प्रकाशित सरोजिनी साहित्यिक र दैनिक समाचारपत्र कायाकैरनसम्म १५ वर्षभित्रका १३ वटा दर्ता भएका र ३४ वटा दर्ता नभएका साहित्यिक पत्रिका, ४४ वटा दर्ता भएका समाचारपत्र र २७ वटा दर्ता भएका अन्य पत्रिकाहरू गरी जम्मा ११८ वटा पत्रपत्रिकाहरू यस चरणमा अस्तित्वमा आएका देखिन्छन् ।
यस चरणको मूल प्रवृत्ति भनेको जिल्ला प्रशासन कार्यालयमा दर्ता भई व्यवस्थित रूपमा प्रकाशन हुनु रहेको छ । यसै चरणदेखि समाचारपत्रहरू व्यावसायिक हुन थालेका देखिन्छन् । यसै चरणमा दैनिक चितवन (२०५३) र चितवन पोष्ट (२०५६) चितवनका दैनिक पत्रिकाको रूपमा प्रकाशित हुन थालेको पाइन्छ । ३० वटा त साप्ताहिक पत्रिका दर्ता भएको देखिन्छ । १३ वटा दर्ता भएका यस चरणका साहित्यिक पत्रिकाहरूमध्ये सम्प्रेषण, हाम्रो मझेरी, पल्लव र हाम्रो सिर्जना आजसम्म पनि प्रकाशित हुँदै आएका छन् भने बाँकी सुनगाभा २० अङ्कसम्म, पल्लवी सन्देश ५ अङ्कसम्म, अभिव्यञ्जना २ अङ्कसम्म, स्रष्टा ४ अङ्कसम्म, सिराइचुली सेरोफेरा ४ अङ्कसम्म र चरैवती १० अङ्कसम्म प्रकाशित भएर स्थगित भएका देखिन्छन् । आजसम्म चालु रहेका साहित्यिक पत्रिकाहरूमासम्प्रेषणको २४ अङ्क, हाम्रो मझेरीको ५७अङ्क, पल्लवको २४ अङ्क र हाम्रो सिर्जनाको २३ अङ्कसम्म प्रकाशित हुँदै आएको देखिन्छ । यी पत्रिकाका वैचारिक प्रवृत्तिहरूमा सम्प्रेषण र पल्लवले स्वच्छन्दतावादी, हाम्रो सिर्जनाले यथार्थवादी र हाम्रो मझेरीले मिश्रित वैचारिक धारलाई महत्व दिएको पनि प्रतीत हुन्छ ।
यस चरणको पत्रकारिताको सामान्य प्रवृत्ति हेर्दा पहिलो चरणको तुलनामा साहित्यिक पत्रकारिताप्रतिको मोह कम हुँदै गएको १३ वटा पत्रिका दर्ता भएर पनि थोरै मात्रले निरन्तरता पाएको देखिन्छ । तर समाचार पत्रको हकमा भने पहिलेको तुलनामा ह्वात्तै विकास भएको, व्यावसायिकतातर्फ प्रवृत्त भएको, दैनिक पत्रिकाहरूसमेत प्रकाशित हुन थालेको देखिन्छ तर दर्ता भएका पत्रिकाहरूमध्ये थोरैले मात्र निरन्तरता पाएको र प्रायः धेरैजसो पत्रिकाहरूदर्तामै सीमित हुन पुगेको देखिन्छ ।
यस चरणमा केवल छापामाध्यमका पत्रपत्रिकाहरू मात्र नभई विद्युतीय माध्यमले पनि चितवनको पत्रकारितालाई सशक्त तुल्याएको छ । यही चरणमा एफ.एम. र टि.भी.हरूको पनि आरम्भ भएको देखिन्छ ।
ग) तेस्रो चरण : वि.सं. २०६४ देखि २०७६ सम्मका आजसम्मको १२ वर्षको अवधिमा १२४ वटा पत्रपत्रिकाहरू अस्तित्वमा आएको देखिन्छ तर यसमध्ये दर्ता भएका साहित्यिक पत्रिकाहरू केवल ४ वटा छन् र तीमध्ये पनि नियमित भने कुनै पनि हुन सकेका छैनन् । केही अङ्कसिराइचुली सेरोफेरोको प्रकाशित भएको र चरैवेती १० अङ्कसम्म प्रकाशित भएर थन्किएको देखिन्छ । यस चरणमा दर्ता नभएका साहित्यिक पत्रिका ७ वटा रहेका छन् । समाचारपत्रको हकमा ५३ वटा पत्रिकाहरू दर्ता भएका देखिन्छन् । यीमध्ये कायाकैरन र ड्रिम्सआजसम्म प्रकाशित हुँदै आएका छन् । साप्ताहिक पत्रिकाहरूमा आक्रमण, जोश, चित्रवन सन्देश, नमस्ते बिहानी, भण्डाफोड अभियान, शुभेच्छा सन्देश आदि ५/६ वटा चालु रहेको देखिन्छ ५३ वटा समाचारपत्रहरूमा केवल ८/१० वटा मात्रले निरन्तरता पाएको र ठूलो भाग दर्तामै सीमित रहेको देखिन्छ । यस्तै अन्य पत्रिकाहरूका दर्ता भएका ५१ वटा र नभएका १६ वटा रहेका छन् र यीमध्ये ज्यादै सानो सङ्ख्याले मात्र नियमितता पाएको छ ।
यस चरणको उल्लेख्य भनेको अनलाइन पत्रिकाहरू अस्तित्वमा आउनु हो । वि.सं. २०७० देखि आजसम्म प्रेस काउन्सिलमा दर्ता भएका चितवन सम्बन्धित अनलाइन पत्रिकाहरूको सङ्ख्या ३० वटा रहेको उल्लेख पाइन्छ ।
यी सबैले चितवनको साहित्यिक पत्रकारितामा धेरथोर सहयोग पु¥याएका छन् । चितवनको पत्रकारितालाई जगेर्ना गर्ने काम यहाँका सङ्घ–संस्थाहरूले, स्कुल, क्याम्पसहरूले आवधिक रूपमा प्रकाशन गरेका स्मारिकाहरूले पनि गरेका छन् । सङ्घ–संस्थाहरूमा संस्थागत प्रतिवेदनहरू र केही अभिलेखहरू बाहेक यिनले पनि साहित्यिक लेख रचनाहरू नै प्रकाशित गर्ने गरेका छन् । अरूणोदय रजत स्मारिका (२०४३), गीतानगरदेखि स्मारिकाहरूको प्रकाशन हुन थालेको देखिन्छ र आजसम्म यसको सङ्ख्या दर्जनौँ पुगिसकेको छ । २०६७ सालमा पत्रकारिता चितौन स्मारिकामा प्रकाशित एक लेखमा स्मारिकाको सङ्ख्या साहित्यिक स्मारिकाहरू ३५ वटा र गैर साहित्यिक स्मारिकाहरू १८ वटा गरी ४३ वटा स्मारिकाहरू भएको उल्लेख पाइन्छ (पोखरेल, २०६७ : २५) । यसपछिका १० वर्षभित्र (२०७६ सम्म) झन धेरै स्मारिकाहरू प्रकाशित भएका छन् ।
साहित्यिक पत्रकारिताका अन्य गतिविधिहरूमा यहाँ सम्पन्न भएका र हुने साहित्यिक गोष्ठीहरू, सेमिनारहरू, सम्मेलन एवं सभाहरू र टक प्रोग्रामहरू हुन् । चितवनका यस प्रकारका साहित्यिक कार्यक्रमहरू धेरै हुँदै आएका छन् । कतिपय पत्रिकाहरूमा तिनका बारेमा उल्लेख पनि भएका छन् । यसरी पत्रपत्रिकाको विकासमा साहित्यिक कार्यक्रमहरूको पनि भूमिका रहँदै आएको छ । २०२२ र २०२४ को चितवनको साहित्यिक कार्यक्रमदेखिआजसम्म अनेक स्कुलहरूको साहित्यिक कार्यक्रमहरूमा वाचित लेख रचनाहरूसङ्कलित भएर सामयिक सङ्कलन र स्मारिकाहरू निस्कँदै आएका छन् र आज पनि निस्किरहेका छन् ।
अर्काे साहित्यिक पत्रकारिताको विकासमा महङ्खवपूर्ण योगदान शोधार्थीहरूको पनि रहेको छ । चितवनको पत्रकारितालाई लिएर आधा दर्जनभन्दा बढी नै स्नातकोत्तर तह नेपाली विभागबाट शोधहरू भएका छन् । यसै गरी चितवनका पत्रपत्रिकाहरूको विकास सन्दर्भलाई लिएर बेलाबेलामा भएका सेमिनारहरूमा कार्यपत्रहरू पनि प्रस्तुत हुँदै आएका छन् ।
५. कमी र उपलब्धि
चितवनको साहित्यिक पत्रकारिताका केही उज्याला पक्षहरू रहेका छन् । संवत् २०१०÷११ सालदेखि मात्र घना बसोबास खुलेर नयाँ बस्ती बसेको चितवनमा द्रुत गतिले पत्रकारिता अघि बढेको देखिन्छ । दुई सय सत्तरीवटा पत्रिकाहरू अस्तित्वमा आउनु, पाँच छ वटा दैनिक समाचार पत्र प्रकाशित हुनु, सुरुदेखि नै साहित्यिक र आस्थागत प्रतिस्पर्धा हुनु, सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक आदि स्थानीय र राष्ट्रिय समस्याहरूप्रति सचेत बनेर साहित्यिक अभिव्यक्तिहरू दिनु, गण्डक सम्झौता, दिल्ली सम्झौता, सुस्ता समस्या, सीमा समस्या, ब्रिटिश गोर्खा भर्तीकेन्द्रका समस्या, महङ्गी, गरिबी, अशिक्षा र अव्यवस्थाको समस्याप्रति सचेत रहँदै तिनप्रति काव्यात्मक, कलात्मक, प्रतिकात्मक, व्यङ्ग्यात्मक अभिव्यक्तिहरू मार्फत समाजलाई सचेत बनाउने कार्यमा जनचेतना अभिवृद्धि गर्ने काम, अनेक समाजोपयोगी सूचना र जानकारीहरू पस्किने काममा यहाँको पत्रकारिताको योगदान रहेको देखिन्छ । आज चितवनमा जुन दर्जनौँ साहित्यिक संस्थाहरू खुलेका छन्, जुन साहित्यक कार्यक्रम र जमघटहरू हुन थालेका छन्, राष्ट्रिय तहमै परिचित व्यक्तित्वहरू जुन पैदा भएका छन् र ४०० जति पुस्तकाकार कृतिहरू र सयौँ साहित्यकारहरू जुन पैदा भएका छन्, यो पनि साहित्यिक पत्रकारिताको अभावमा सम्भव हुने थिएन किनभने पत्रकारिता स्रष्टा–द्रष्टा पैदा गर्ने सिर्जनाहरूको विकास र परिमार्जन गर्ने पाठशालाहरू हुन् । यसबाट नै नयाँ नयाँ सांस्कृतिक साहित्यिक सचेत र नैतिक पुस्ताको जन्म हुँदै गएको देखिन्छ ।
तर यी उपलब्धिहरूमै सन्तुष्ट भएर बस्ने बेला चाहिँ होइन किनभने प्रारम्भमा अग्रगामी देखिएको, प्राज्ञिक, बौद्धिक र सचेतनताको विशेषता भएको साहित्यिक पत्रकारिता क्षेत्र विस्तारै कमजोर भएको देखिन्छ । आज अखबारी पत्रकारिता कहाँ पुगिसक्यो, त्यो कति सङ्गठित, मर्यादित, विशिष्टीकृत, व्यावसायिक र क्रियाशील बनिसक्यो त्यसको तुलनामा साहित्यिक पत्रकारिताको अवस्था कति दयनीय छ यो भनिरहनु पर्दैन । न यो व्यवस्थित बन्न सकेको छ, न व्यावसायिक तर बौद्धिक, प्राज्ञिक, साहित्यिक, भाषिक हिसाबले अझै पनि यसलाई सूचना पत्रकारिताले भेट्टाउन सक्तैन तैपनि कार्यक्षेत्रमा यो विचरो देखिएको छ । अखबारी पत्रकारहरू राजनीतिक गतिविधिसँगै देशविदेश चाहर्छन्, रातो प्रेसकार्ड बोकेर हिँड्छन् । अनेक सरकारी सुविधा उपभोग गर्छन् । धेरथोर कमाइ पनि गर्छन् तर साहित्यिक पत्रकारिता भने उही सिमसिमे राजाको पालाको कटुवालको जस्तो छ । सरकारी प्रोत्साहनको त कुरै नगरौँ, यस क्षेत्रलाई राज्यले नै अनुत्पादक क्षेत्र ठान्ने गरेको छ ।
अखबारी पत्रकारितातर्फ बिग हाउसेसहरू पनि आकर्षित भएका छन् । यो क्षेत्र कमाइको क्षेत्रसमेत बनेको छ तर विचरो साहित्यिक पत्रकारिता त अझै पनि आस्थाको पत्रकारिताको तहमै छ न सङ्ख्यामा, न गुण केही विकास हुन सकेको छैन । यही भनौं न कान्तिपुर, गोरखापत्र कहाँ छन् र मधुपर्क, गरिमाहरू कसरी बाँचिरहेका छन् । यही हेर्दा पनि साहित्यिक पत्रकारिताको अवस्था थाहा पाइन्छ ।
अब चितवनको सन्दर्भमा त झन् साहित्यिक पत्रकारिता लिखिरपिखिर बाँचेको मात्र छ । ३, ४ वटाभन्दा बढी साहित्यिक पत्रिका निरन्तर हुन सकेका छैनन् र यी ३।४ वटाको पनि व्यावसायिकता छैन । न अफिस, न स्टाफ, न सुवितरण, न व्यवस्थापन । यी सबै वैयक्तिक प्रयासमा बाँचिरहेका छन् । यिनमा कुनै व्यवस्थित लगानी पनि छैन । न आफ्नो प्रेस छ, न साहित्यिक पत्रकाहरू नै सामूहिक रूपले यसतर्फ लागेका छन् । यहाँको पत्रकारिता लगभग फुर्सतको समयमा गरिने काम जस्तो भएको छ ।
पत्रिका दर्ता गर्ने तर एउटा अङ्क पनि प्रकाशित नगर्ने, एक दुई अङ्क विज्ञापन खोजेर निकाल्ने तर निरन्तरता नदिने । निरन्तर प्रकाशन गर्ने योजना पनि नहुनु र लगानी पनि केही नभएकाले र २०२०/०३० को दशकमा जस्तो पत्रिका प्रकाशनको हुटहुटी र आस्थागत प्रतिस्पर्धा पनि नभएकाले यहाँको साहित्यिक पत्रकारिता सेलाउँदै गएको देखिन्छ ।
६. अग्रगमनको उपाय
सुस्ताएको चितवनको साहित्यिक पत्रकारितालाई पुन जागृत, क्रियाशील र जीवन्त तुल्याउनका निम्ति यसका कमजोरी र उपलब्धिहरूको ध्यानपूर्वक अध्ययन गरिनु जरुरी छ । हुन त यहाँको पत्रकारिताको लागि यहाँकै पत्रकारहरू, साहित्यकारहरू, बुद्धिजीवी सरोकारवालाहरू जिम्मेवार छन्, समस्या यहीँ नै छ । यहाँ बाहिरको मानिस आएर पत्रकारिता गरिदिने होइन । तैपनि यो क्षेत्र अत्यन्त संवेदनशील, बौद्धिक, प्राज्ञिक, विशेषीकृत र राष्ट्रकै सांस्कृतिक पहिचानसँग सम्बन्धित क्षेत्र भएकाले यो यहाँको मात्र विषय बन्न सक्तैन । जस्तो भनौँ यसको सम्बन्ध प्रेस काउन्सिल नेपालसँग, सञ्चार मन्त्रालयसँग, पत्रकार महासंघ नेपालसँग, नेपाल साहित्यिक पत्रकार संघसँग जोडिएको छ । यी संघ–संस्थाले प्रोत्साहन गर्ने हो भने यहाँका पत्रिकाहरू प्रोत्साहित हुन्छन् । यहाँ नियमित प्रकाशित भइरहेका साहित्यिक पत्रिका अत्यन्त थोरै छन् । तिनलाई नियमित बनाउन प्रेस काउन्सिल मात्रले पनि पहल गर्न सक्छ । केही लाख रूपैयाँ एकमुष्ठ सहयोग गरेर त्यसलाई पत्रिकाको अक्षयकोष बनाई त्यसको आम्दानीबाट पत्रिकालाई अर्काे व्यवस्था नहुन्जेल नियमित गर्न प्रोत्साहन गर्न सक्छ । प्रेस काउन्सिलले महानगरपालिकालाई साहित्यिक पत्रकारिताको विकासको लागि केही बजेट छुट्याउन अनुरोध गर्न सक्छ । मोफसलका पत्रिकाहरूलाई स्वयं प्रेस काउन्सिलले नै अनुगमन गरी वर्गीकरणादिको मूल्याङ्कनमा पार्न सक्छ र पार्नु पर्दछ । केहीलाई ऋण सहयोग उपलब्ध गराउनेतिर पनि सोच्न सक्छ ।
अर्काे, सूचना विभागमा अनेक पत्रिकाहरूको नाम दर्ता भएका छन् तर पत्रिका प्रकाशित छैनन् । तिनले नाममात्र ओगटेका छन् । राम्रा नामहरू बन्द भएका पत्रिकाहरूले ओगटिएकाले क्रियाशील पत्रिकाहरूले भने जसोतसो नामको अगाडि पछाडि विशेषणहरू थपेर पत्रिका निकाल्नु परेको छ । जस्तो सिर्जना नाम पहिलेनै दर्ता भएकाले नै हाम्रो सिर्जना नाम राख्नु परेको छ । क्रियाशील पत्रिकाले राम्रो नाम नपाउने, राम्रो नाम भएकाहरू निस्कँदै ननिस्कने रोग रहेको छ । यतातिर सूचना विभागले ध्यान दिनु जरुरी छ । साहित्यिक पत्रिका प्रकाशनका अरू समस्याहरूप्रति नेपाल साहित्यिक पत्रकार संघले आवाज उठाउनु पर्छ । साहित्यिक पत्रकारलाई प्रेसपासको व्यवस्था, ऋण सहयोगको व्यवस्था, दण्ड र पुरस्कारको व्यवस्था, लोककल्याण्कारी विज्ञापन प्राप्तिमा सरल र सहज नियमको व्यवस्था, पत्रिका वर्गीकरणमा प्रेस काउन्सिल आफैँले पत्रिकाहरूको सर्भेक्षण र मूल्याङ्कन गर्नै व्यवस्था, मोफसलका साहित्यिक पत्रिकाहरूकोअङ्क प्रकाशनको सीमालाई सहज बनाउनुपर्ने व्यवस्था आदि साहित्यिक पत्रकार सङ्घले गर्न सक्ने व्यवस्थाहरू हुन् ।
सबभन्दा मूल कुरो त राज्यले साहित्यिक पत्रिकाहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु जरुरी छ । साहित्यिक पत्रकारिताप्रति सरकारले सद्भाव मात्र राखने नभई लगानी नै गर्ने नीति बनाउनु पर्छ ।
७. उपसंहार
चितवनको साहित्यिक पत्रकारिताको चर्चा ६ वटा उपशीर्षकहरूमा गरिसकिएकै छ । पृष्ठभूमि, साहित्यिक पत्रकारिता, चितवनको साहित्यिक पत्रकारिता, विकासक्रम र प्रवृत्ति, कमी र उपलब्धी, अग्रगमनको उपाय र उपसंहार गरी जुन चर्चा गरियो यसमा प्रेस एवं पत्रपत्रिका सम्बन्धीका सरकारी नीतिनियमहरूको चर्चा छुट्न गएको छ । पत्रपत्रिका दर्ता, एफ.एम. रेडियोहरू दर्ता र अनलाइन पत्रिकाहरूको दर्ता र त्यसको अनुगमन र मूल्याङ्कन सम्बन्धी सरकारी नीति एकदमै फितलो देखिन्छ । यहाँसम्म कि दर्ता गरिसकेपछि त्यसको अनुगमन कस्ले गर्ने, पत्रिका प्रकाशित भए नभएको विवरण कसले राख्ने, दर्ता भएर वर्षौं प्रकाशित नभएका पत्रिकाहरूको दर्ता खारेज गर्ने कि नगर्ने, दर्ता गरेर एउटा अङ्क पनि प्रकाशित नगर्नेलाई दण्ड जरिवाना गर्ने कि नगर्ने, दर्ता गरेर इमान्दारीपूर्वक प्रकाशित भइरहेका पत्रिकाहरूलाई पुरस्कृत गर्ने कि नगर्ने र गर्दा कसले गर्ने ? यी सम्बन्धी कुनै स्पष्टता सरकारी निकायहरूमा रहेको देखिन्न । अर्काे चितवन जस्तो सानो बजार भएको जिलामा कतिवटा टेलिभिजन, कतिवटा एफ.एम. चल्न सक्छन् भनेर अध्ययन गर्ने कि नगर्ने, एउटा जिल्लामा चलोस् नचलोस् जति पनि सञ्चार माध्यमहरू खोल्न दिने कि समाज र परिवेशको आवश्यकता र सम्भावनाको अध्ययन गरेर निर्दिष्ट सङ्ख्यासम्म खोल्न दिने, यति सङ्ख्यासम्मलाई दर्ता गर्ने भन्ने कुनै नियम वा दृष्टि सरकारसँग भएको जस्तो लाग्दैन । सरोकारवाला कसैले कुनै दायित्व वा स्वामित्व लिए जस्तो पनि लाग्दैन ।
गणतन्त्रपछाडि प्रकाशित भइरहेका साहित्यिक पत्रिकाहरूमा देशमा भएको परिवर्तनको कुनै असर परेको छैन । पञ्चायतकालमा र प्रजातन्त्र कालमा यहाँका साहित्यिक पत्रिकाहरूको जुन हालत थियो, आज पनि त्यही छ आर्थिक सामाजिक सांस्कृतिक हालत । अलिकति फेरिएको भनिएको राजनीतिक हालत हो त्यो पनि सत्ताशीन दलका बाहेक अरूले महसुस गर्न पाइएको छैन । सबैको ध्यान रूपैयाँमा गएको छ । परिवर्तनका वाहक भनिएका राजनीतिक दलहरूको मुख्य मुद्दा नै जसरी पनि चुनाव जित्नु रहेकाले बौद्धिक, प्राज्ञिक र सेवामूलक श्रम अब कसले गर्ने र साहित्यिक पत्रकारिता गर्नेहरूले कति समयसम्म राजनीतिक दासता व्यहोर्नु पर्ने हो त्यो थाहा छैन ।
तर जे–जस्तो भए पनि समाजलाई सभ्य, सचेत, नैतिक, सुसंस्कृत र सभ्य बनाउने काममा भने पत्रिकाहरूकै भूमिका रहन्छ । उन्नत समाजको मापन गर्ने साधन भनेका यिनै कुराहरू हुन् । यी कुराहरूको स्थापनाको बाटोभन्दा राज्य अलगै हिँडिरहेकाले राज्यले लिएको बाटो अग्रगमनको बाटो होइन भन्ने छर्लङ्ग भएको छ ।
गोष्ठीपत्रको शीर्षक चितवनको साहित्यिक पत्रकारिता भए पनि साहित्यिक पत्रकारितालाई कुनै न कुनै रूपमा सहयोग पु¥याउने चितवनको समग्र पत्रकारिताको पनि यसमा सङ्क्षिप्त उल्लेख गरिएको छ । गोष्ठीपत्र तयार गर्नका लागि उत्प्रेरणा दिने नेपाल प्रेस काउन्सिल र काउन्सिल सदस्य चेतनाथ धमलाप्रति हार्दिक आभार प्रकट गर्दछु ।
(प्रेस काउन्सिल नेपालको आयोजनामा २०७७ भदौ ३० गते जुममा सम्पन्न “चितवनको साहित्यिक पत्रकारिता” विषयक विचारगोष्ठीमा प्रस्तुत कार्यपत्र)
१. पृष्ठभूमि
नेपालमै छापिएर प्रकाशित भएका पत्रिकाहरूमध्ये सुधासागरलाई पहिलो पत्रिका मानिएको छ । यो वि.सं. १९५५ श्रावणमा प्रकाशित भएको थियो । यो साहित्यिक पत्रिका हो । योभन्दा झन्डै तीन वर्षपछि मात्र समाचारपत्रको रूपमा गोरखापत्र प्रकाशित (वि.सं. १९५८ ज्येष्ठ ३ गते सोमबार) भएको थियो । यसर्थ यसलाई माहिलो र सुधासागरलाई जेठो पत्रिका भन्ने गरिएको पाइन्छ (देवकोटा, २०५९ : २९) । हुन त यसअघि नै भारत, वनारसबाट कवि मोतीराम भट्टद्वारा नेपाली भाषामा गोर्खा भारत जीवन (१९४३) नामक पत्रिका प्रकाशित भएको थियो भन्ने उल्लेख पाइन्छ तर त्यसको पुष्टि भइसकेको छैन ।
सुधासागरको प्रकाशनपछि ३६ वर्षसम्म अरू कुनै साहित्यिक पत्रिका जन्मिएनन् एकैचोटि वि.सं. १९९१ मा शारदाको प्रकाशन हुन पुग्यो । शारदापछि भने उध्वोग (१९९५), साहित्यस्रोत (२००४), आँखा (२००५), सेवा (२००८), प्रगति (२०१०), इन्द्रेणी (२०१३), धरती (२०१३) आदि साहित्यिक मासिक पत्रिकाहरू प्रकाशित हुन थाले । यसै गरी डाँफेचरी (२०१०), जनसाहित्य (२०११), रूपरेखा (२०१७), रत्नश्री (२०२०), रचना (२०२१) आदि द्वैमासिक रनौलो पाइलो (२०१२), स्वास्नी मान्छे (२०१५), नेपाली (२०१६), भानु (२०२०), पूर्णिमा (२०२१), कविता (२०२१) आदि त्रैमासिक पत्रिकाहरू प्रकाशन हुन थालेको उल्लेख पाइन्छ (देवकोटा, २०५९ : ३०) ।
नेपाली भाषाको साहित्यिक पत्रिका प्रकाशनमा भारत, बनारसको ठूलो भूमिका रहेको देखिन्छ । नेपालबाट सुधासागर (१९५५) पछि लामो समय पत्रिकाहरू प्रकाशित भएनन् तर बनारसबाट भनेगोर्खा भारत जीवन (१९४३), उपन्यास तरङ्गिनी (१९५९), सुक्तिसुधा (१९६१), माधवी (१९६५), चन्द्र (१९७१), जन्मभूमि (१९७९), उदय (१९९३) आदि पत्रिकाहरू प्रकाशित हुँदै आए । यसै गरी भारती (२००६), दियो (२०१४), तेस्रो आयाम (२०२०) आदि पत्रिकाहरू दार्जिलिङबाट;आदर्श (१९८७), मुङ्ग्रो (२००६) आदि कालिम्पोङ;कञ्चनजङ्गा (२०१४) सिक्किमबाट;चन्द्रिका (१९७४) खरसाङबाट; हिमालय (२०१८), सुमन (२०२२), कामरूपा (२०२२), हाम्रो ध्वनि (२०२८) आदि असमबाट प्रकाशित भए । यसरी नै कलकत्ताबाट उत्थान (२००५); पटनाबाट नेपाल पुकार (२००६); दिल्लीबाट स्वतन्त्र विश्व (२०१८) आदि पत्रिकाहरू प्रकाशित भए ।
नेपाको साहित्यिक पत्रकारिताको विकासमा भारतमा शिक्षार्जनका लागि गएका नेपाली र त्यहीँकै नेपाली मूलका भारतीय साहित्यकार पत्रकारहरूको ठूलो हात रहेको देखिन्छ ।
समाचारपत्रको प्रकाशनमा पनि गोर्खापत्र (१९५८) पछि नेपालबाट लामो समय समाचारपत्रहरू प्रकाशित भएनन् । एकैचोटि वि.सं. २००७ मा आवाज देखापरेको थियो । यसपछि समाज (२०११), दि कमनर(२०१३), नेपाल दैनिक(२०१६), मातृभूमि (२०२१), समीक्षा (२०२२) आदि समाचारपत्रहरू प्रकाशित हुँदै आएका देखिन्छन् भने भारत दार्जिलिङबाट गोर्खे खबरकागज (वि.सं. १९५८), नेपालबाट निस्कने गोर्खापत्र सँगसँगै प्रकाशित हुन थालेको देखिन्छ । यसै गरी देहरादूनबाट गोर्खा संसार (१९८६), बनारसबाट गोर्खाली (१९७२), युगवाणि (२००४); शिलाङबाट गोर्खा सेवक (१९९२), दरभंगाबाट जनमत (२०१२), मुजफरपुरबाट क्रान्तिकारी (२०१५) आदि समाचारपत्रहरू प्रकाशित हुँदै आएका देखिन्छन् ।
संवत् १९५५ देखि आजसम्म यो १२१ वर्षको समयावधिमा नेपालबाट प्रकाशित साहित्यिक पत्रिकाहरूको सङ्ख्या ३/४ हजार रहेको अनुमान गरिएको पाइन्छ । तर वि.सं. २०६५ मा प्रेस काउन्सिल नेपालले प्रकाशित गरेको नेपाली साहित्यिक पत्र–पत्रिका संक्षिप्त ग्रन्थकोशमा भने ११८० वटा साहित्यिक पत्रपत्रिकाहरूको संक्षिप्त विवरण रहेको छ र साहित्यिक पत्रपत्रिकाहरूको ऐतिहासिक विकासक्रमलाई हेर्दा भने नेपालको पत्रकारिताको आधार नै साहित्यिक पत्रकारिता रहेको उल्लेख पाइन्छ (संक्षिप्त ग्रन्थकोश, २०६५ : क) ।
संवत् २०६५ पछि पनि धेरै साहित्यिक पत्रपत्रिकाहरू देखापरेका छन् । देशभरि प्रकाशित भएका साहित्यिक पत्रपत्रिकाहरूको विवरण त यसमा सम्भव छैन तर साहित्यिक पत्रकारिताका निम्ति जनस्तरबाट २०६३ मा गठन भएको नेपाल साहित्यिक पत्रकार संघमा रहेका पत्रिकाहरूको नाम लिनुपर्दा अन्तर्बोध, अभिव्यक्ति, अक्षर, कलम, कल्पतरु, कौशिकी, गुगुल्डी, गुञ्जन, जनमत, जुही, तन्नेरी, तादी, थौंकन्हे, दायित्व, नवआकांक्षा, नवप्रज्ञापन, नागार्जुन, निर्झर, नेपाल संस्कृति, पल्लव, फित्कौली, बगर, शब्द संयोजन, शाब्दाङ्कुर, शारदा, शिवपुरी सन्देश, रचना, रश्मी, लिब्जुभुम्जु, लेखक, वनिता, वेदना, समकालीन नेपाली साहित्य, साथी, साहित्यसागर, हाम्रो सिर्जना, हिमाली गुराँस, ज्ञानगुन आदि पत्रिकाहरू रहेका देखिन्छन् । यस्तै गरी भृकुटी, मधुपर्क, नेपाली, वैजयन्ती, कविता, अक्षलोक, गरिमा, प्रज्ञा, मिर्मिरे, नवआलोक, समष्टि, ज्योति, शृङ्खला, रश्मी, सयपत्री, सर्वदा, हाम्रो यात्रा आदि पत्रिकाहरू प्रकाशित हुँदै आएका देखिन्छन् ।
नेपाली पत्रपत्रिकाहरूको विकासक्रमको यही पृष्ठभूमिमा चितवनमा पनि पत्रकारिताको चेतनाले जन्म लिएको देखिन्छ । तर चितवनमा पत्रिकाको जन्म हुन सुधासागरपछि ६६ वर्ष लागेको थियो । नेपालको प्रख्यात साहित्यिक पत्रिका शारदाभन्दा ३० वर्षपछि मात्र २०२१ पौषमा चितवनबाट पहिलो पत्रिकाको रूपमा चितवनको चिनो प्रकाशित भएको हो । तैपनि यो शारदा जस्तो पत्रिका नभई चितवन हाइस्कुलका छात्रछात्राहरूको सांस्कृतिक कार्यक्रममा वाचित रचनाहरूको सङ्कलन मात्र थियो । यसअघि रापती उपत्यका (२०१४) र जितिया पावनी (२०१६) नामक पुस्तकहरूको प्रकाशनबाहेक साहित्यिक पत्रिका प्रकाशित भएको थिएन । यसर्थ यो नै चितवनको पहिलो पत्रिका हो । चितवनमा पनि पत्रकारिताको आरम्भ साहित्यिक पत्रिकाबाट नै भएको देखिन्छ । समाचारपत्रको प्रकाशन त चितवनको चिनोभन्दा १८ वर्षपछि मात्र भएको थियो ।
२. साहित्यिक पत्रकारिता
साहित्यिक पत्रकारिता साहित्य क्षेत्रसितै सम्बन्धित छ । साहित्य, जीवन र जगतको सूक्ष्म अनुभूति र त्यसको कलात्मक अभिव्यक्ति हो । यथार्थको पुनर्सर्जन हो । सामाजिक जीवनको प्रतिबिम्बन हो । यसर्थ यसलाई समाजको ऐना पनि भनिन्छ । यथार्थ चित्रणको अर्थमा ऐना भनिए पनि यसमा आदर्शको उच्छलन हुन्छ । सोद्देश्यता अन्तर्निहित हुन्छ । समाज रूपान्तरणकारी भूमिका छिपेको हुन्छ । यही समाज रूपान्तरणकारी भूमिकाका कारणले यसलाई समाज रूपान्तरणको औजार पनि भनिन्छ ।
पत्रकारिताचाहिँ पत्रिका सम्बन्धीको क्रियकलाप हो । एउटा पत्रकारले पत्रिका प्रकाशनार्थ जे जस्तो क्रियाकलाप (समाजमा घटेका घटना र प्रवृत्तिलाई सार्वजनिक जानकारीमा ल्याउन सूचनाहरूको सङ्कलन, सिर्जनाहरूको सङ्कलन, त्यसको व्यवस्थापन अखबार वा पत्रिको रूपपक्षको रेखाङ्कन, शुद्धीकरण एवं परिमार्जन, टङ्कन, मुद्रण, प्रशारण आदि) जुन कामधन्दा गर्छ, त्यो नै पत्रकारिता हो । यसरी नै साहित्य सम्बन्धीको क्रियाकलाप चाहिँ साहित्यिक पत्रकारिता हो । यसमा सूचना समाचारका साथै सिर्जना पनि संलग्न गरिएको हुन्छ ।
साहित्य–सिर्जनालाई अभिप्रेरित, अभिसिञ्चित गर्ने यसलाई विकसित गर्ने, परिष्कृत गर्ने पूर्वाधार थलो पत्रपत्रिका हुन् । साँच्चै भन्ने हो भने सिर्जनशीलता बढाउने प्रारम्भिक पाठशाला यिनै हुन् । अझ साहित्यिक पत्रकारितामा सिर्जनात्मकता बौद्धिकता, प्राज्ञिकता, उध्र्वगामिता र यथार्थपरकता जस्ता विशेषता हुन्छन्, जसको अभावमा साहित्यले परिष्कार नै पाउँदैन ।
३. चितवनको साहित्यिक पत्रकारिता
जैविक विविधता, भौगोलिक वा प्राकृतिक रमणीयता, सामाजिक विकासको द्रुतता, सांस्कृतिक समन्वयता र आर्थिक सम्पन्नताका दृष्टिले आज चितवन सुपरिचित स्थान बनेको छ । एक सिङ्गे गैँडा, घडियल गोही, पाटे बाघ एवं अनेक प्रजातिका वनस्पति, चराचुरुङ्गी, जीवजन्तुहरूले शोभायमान बनेको र विश्वसम्पदा सूचीमा सूचीकृत भएको चितवन राष्ट्रिय निकुञ्जलगायत ऐतिहासिक र आर्थिक स्थलहरू – देवघाट, वाल्मीकि आश्रम, उपरदाङगढी, सोमेश्वरगढी, विक्रमबाबा, चित्रसारी आदिले सुपरिचित रहेको र नारायणी नदीदेखि मकवानपुरको हर्ना माडीसम्म फैलिएको महाभारत र चूरे पर्वत शृङ्खलाबीचमा फैलिएको द्रोणी (मैदानी भाग) र यस भूभागमा संवत् २०१०/०११ तिर औलो उन्मूलन भई पहाडतर्फका मानिसहरूको आगमनले घना बसोबास बन्दै आएको हो । यहाँका रैथाने आदिबासीहरूसँग लेख्य परम्पराको भाषा र साहित्य थिएन । कथ्य परम्परामा रहेको लोकसाहित्यका भने उनीहरू धनी थिए । पहाडतर्फबाट झरेका आगन्तुकहरूको भने लेख्य परम्परा भएको भाषा र साहित्य दुवै थियो । तसर्थ उनीहरूको सांस्कृतिक–साहित्यिक अभिव्यक्तिहरू हुन थाल्यो । स्कुलहरू खुले । सामाजिक संस्थाहरू खुल्दै गए । यही क्रममा साहित्यिक सांस्कृतिक अभिव्यक्तिहरूको सङ्कलन र प्रकाश गर्ने चेतना पनि पैदा भयो र त्यसले पुस्तकाकार कृतिकारूपमा २०२१ पौषमा प्रकाशन हुन पायो । यसको नाम चितवनको चिनो राखियो ।
यसपछि भने क्रमशः पत्रिकाहरू प्रकाशित हुँदै आए । यस्ता दर्ताविना नै सामयिक सङ्कलन, मुखपत्र आदिका रूपमा प्रकाशित हुँदै आएका साहित्यिक पत्रिकाहरू निम्नानुसार रहेका छन् –
आदि पत्रिकाहरू प्रकाशित भएको उल्लेख पाइन्छ । सँगसँगै गोजिका र हवाइपत्रहरू पनि प्रकाशित भएका देखिन्छन् – ६६) सुसेली (२०५०), ६७) अनुप्रस्थ (२०५३), ६८) सौदामिनी (२०५४), ६९) प्रस्फुटन (२०६५), ७०) सेवा (२०६५), ७१) उपहार, ७२) नवप्राञ्जली आदि हवाइपत्रहरूसमेत गरी कुल७२ वटा पत्रिकाहरू प्रकाशित भएका देखिन्छन् ।
यसरी चितवनको साहित्यिक पत्रकारिताको अवलोकन गर्दा ७२ वटा विनादर्ताका र १७ वटा दर्ता भएका गरी जम्मा ८९ वटा पत्रिकाहरू प्रकाशित भएका देखिन्छन् ।
यी भए विनादर्ता प्रकाशित हुँदै आएका साहित्यिक पत्रिकाहरू । यसरी नै संवत् २०४८ सालदेखि जिल्ला प्रशासन कार्यालय, चितवनमा दर्ता भएर प्रकाशित हुँदै आएका साहित्यिक पत्रिकाहरू पनि निम्नानुसार रहेका छन् :
चितवनको भाषा साहित्य कलाको विकासमा यी साहित्यिक पत्रिकाहरूले अहंभूमिका खेलेको कुरो जगजाहेर नै छ तर भाषा साहित्य कला र पत्रकारिताको विकासमा साहित्यिक पत्रकारिताले मात्र योगदान पु¥याएको भने होइन । चितवनबाट प्रकाशित चितवनको साहित्यिक पत्रकारिताको चर्चा गर्दा साहित्यिक गतिविधिको स्वतः चर्चा गर्नुपर्ने हुन्छ ।
वि.सं. २०२१ मा चितवनको चिनो प्रकाशित भयो । त्यसपछि रामपुरमा बृहत् राष्ट्रिय साहित्य गोष्ठी र देवघाटमा राजा महेन्द्रको उपस्थितिमा डुङ्गामा कविगोष्ठी पनि सम्पन्न भएको थियो । यस्तै गरी २०२४ सालमा चितवन जिल्लास्तरीय साहित्य गोष्ठी भई गोष्ठीमा बाचिएका रचनाहरूसमेत संलग्न गरी दोभानको प्रकाशन भएको थियो । यो स्तरीय पत्रिकाको रूपमा प्रकट भएको थियो तर एक अङ्क मात्र प्रकाशित भयो । चितवनको चिनो पनि एक अङ्क मात्र प्रकाशित भएको थियो पछि २०६० को दशकमा चितवन हाइस्कुलको अल्मुनाई गठन भई त्यसको मुखपत्रको रूपमा केही अङ्क (६ अङ्कसम्म) प्रकाशित हुँदै आएको छ । वीरेन्द्र कलेज वि. संघबाट प्रकाशित प्रकाशपुञ्ज र चितवन हाइस्कुलको मुखपत्रको रूपमा प्रकाशित वेणीको भने केही अङ्क प्रकाशित भएका देखिन्छन् । नारायणी रात्री हाइस्कुल, वि. सङ्गठनबाट प्रकाशित रात्रीप्रकाशको भने १ अङ्कमात्र प्रकाशित भएको देखिन्छ । केही व्यक्तिहरूको सामुहिक प्रयासमा प्रकाशित नौलो राँकोको चौथो र पाँचौँ अङ्क प्रशासनले जफत गरेको र लामो समय थान्को लागी बहुदलीय व्यवस्था आएपछि प्रगतिशील समूहको साहित्यिक संस्था, साहित्य सङ्गमको मुखपत्र बनेर दशौँ अङ्कसम्म प्रकाशित हुँदै आएको छ । चित्रवन युवा क्लबको प्रकाशनमा नयाँ गोरेटोपनि नौलो राँकोकै चिन्तनपथमा १ अङ्कप्रकाशित भएको थियो । नारायणी पुस्तकालयले तिर्सना प्रकाशित ग¥यो। यसको १ अङ्क प्रकाशित भयो । ज्ञानोदय पुस्तकालय पटिहानीले नौलो राँको र नयाँ गोरेटोको बल्यो ।राँको निभाउन छहरो प्रकाशित ग¥यो । पछि छहरो ने.वि. संघको मुखपत्र बन्यो र आज ५ अङ्कसम्म प्रकाशित हुँदै आएको छ । नारायणी कला मन्दिरले मारुनीको फन्को निकाल्दै आएको छ र अहिले १७औँ फन्कोसम्म प्रकाशित गरेको छ । यसै अवधिमा नयाँ जोशको १ अङ्क, कीर्तिको १ अङ्क र राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलले भृकुटी १ अङ्क प्रकाशित गरेको देखिन्छ ।
वैयक्तिक प्रयासमा प्रकाशित भएका जाँगरको १अङ्क, आरनको ३ अङ्क, इन्द्रकमलको ३ अङ्क, ऋचा र गोधुलीको दुई÷दुई अङ्क, दियालो परिवारले प्रकाशन गरेको नौलो समाजको १ अङ्क, कविता–कुशुम र युवासयको एक/एक अङ्क प्रकाशित भएको देखिन्छ । यस्तै गरी वैयक्तिक प्रयत्नमा प्रकाशित जनसाहित्यको ६ अङ्क र सामूहिक प्रयासमा चितवन साहित्य परिषद्को मुखपत्रको रूपमा प्रकाशित वागीश्वरीको २७अङ्क प्रकाशित भएको देखिन्छ ।
यसरी साहित्यिक पत्रिकाहरू एकपछि अर्काे प्रकाशित भएका देखिन्छन् । आजभन्दा ५०/५५ वर्षअघिदेखि प्रकाशित हुन थालेका पत्रिकाहरूमध्ये कतिपय पत्रिकाहरू विभिन्न रूपमा अझै जीवित छन् । चितवनको चिनो अल्मुनाइको मुखपत्रको रूपमा नौलो राँको साहित्य सङ्गमको मुखपत्रको रूपमा र मारुनी नारायणी कला मन्दिरको मुखपत्रकोरूपमा आज पनि प्रकाशित हुँदै आएका छन् । यसै गरी यस चरणमा प्रकाशित भएका पत्रिकाहरूमध्ये धेरै अङ्क निस्किएको पत्रिका वागीश्वरी हो । यसको आजसम्म २७औँ अङ्क प्रकाशित भएको देखिन्छ ।
वि.सं. २०२१ देखि २०४८ सम्म प्रकाशित भएका यी २१ वटा पत्रिकाहरू दर्ता भएर प्रकाशित हुनुअघिका पत्रिकाहरू हुन् । यी २१ वटा र यिनका अङ्कहरूको समेत हिसाब गर्ने हो भने प्रारम्भिक चरणमै साहित्यिक पत्रकारिताको धेरै अभ्यास भएको देखिन्छ ।
संवत् २०४८ देखि भने चितवनमा पत्रपत्रिकाहरू दर्ता हुन थाले । साप्ताहिक पत्रिका प्रतिकार जिल्ला प्रशासन कार्यालयमा २०४८ मा दर्ता भएको पहिलो समाचारपत्र हो । हुन त यसअघि प्रवाह नामक समाचारपत्र २०३९ मै दर्ता भएको उल्लेख पाइन्छ (छिमेकी, २०५५ : १४०) तर जिल्ला प्रशासन कार्यालयको दर्ता किताबमा भने उल्लेख छैन । साहित्यिक पत्रिकाहरूमा दर्ता भएको पहिलो पत्रिका सम्प्रेषण (२०४९) हो । यसपछि सुनगाभा (२०५०), युवासय (२०५५), मझेरी (२०५७), हाम्रो मझेरी (२०५७), पल्लवी सन्देश (२०५९), पल्लव (२०६०), हाम्रो सिर्जना (२०६१), स्रष्टा (२०६१), श्रद्धा हाम्रो समाज (२०६३), सरोजिनी (२०६३) र सिराइचुली (२०६३), चरैवेती (२०६७) आदि पत्रिकाहरू दर्ता भएका देखिन्छन् ।
सूचना, सन्देश र जानकारीहरू बाहिर ल्याउने काम साहित्यिक पत्रकारिताले मात्र गर्ने होइन । यो छापा माध्यममध्येको अखबारी पत्रकारिता र अन्य (व्यावसायिक र मनोरञ्जनात्मक) पत्रकारिताबाट पनि हुन्छ । अझ यतिमात्र नभई विद्युतीय सञ्चार माध्यम र अन्य माध्यमबाट पनि जनताको सूचनाको नैसर्गिक अधिकार पूरा भइरहेको हुन्छ ।
छापा माध्यम आमसञ्चारको परम्परागत माध्यम हो । चितवनमा यही पहिले शुरु भयो । यसमध्ये पनि साहित्यिक पत्रकारिताबाट चितवनको छापा माध्यमको आरम्भ भएको उल्लेख भइसकेको छ । साहित्यिकभन्दा १८ वर्षपछि मात्र अखबारी पत्रकारिताको थालनी भयो । संवत् २०३९ मा प्रवाह साप्ताहिकबाट सुरु भएको र प्रतिकार (२०४८) साप्ताहिकबाट दर्ता हुन सुरु गरेको अखबारको रूपमा व्यावसायिकतातर्फ लम्किएको अखबार पत्रकारिताले संवत् २०५३ मा दैनिक चितवन नामबाट दैनिक अखबारको रूपमा प्रवेश पायो । यसपछि चितवन पोष्ट, पारदर्शी आदि दैनिक पत्रिकाहरू प्रकाशित हुन थाले र आजसम्म आइपुग्दा १०३ वटा समाचारपत्रहरू अस्तित्वमा आएको देखिन्छ तर हाल चालु रहेका अखबारहरूमा भने दैनिकमा (चितवनपोष्ट, कायायैरन, लोकतन्त्र सन्देश र ड्रिम्स) ४ वटा लगायतका चारवटा पत्रिकाहरू नियमित रूपमा प्रकाशित भइसकेका छन् । दैनिक पारदर्शी र समाचारपत्र भने बन्द भएका छन् । साप्ताहिक समाचारपत्रहरूमा चितवन, चुरे सन्देश, आक्रमण, भण्डाभोड अभियान, जोश, राजधानी, आस्था, अर्थ समाचार, चितवन ज्योति, नमस्ते बिहानी, शुभेच्छा सन्देश, अग्रता, उज्यालो टाइम्स, स्वर्णखबर आदि समाचारपत्रहरू प्रकाशित भएका भए पनि नियमित रहेका पत्रिकाहरू चाहिँ चार पाँचवटा भन्दा बढी छैनन् । अन्य पत्रिकाहरूमानारायणी टुडे मासिकलगायतका केही पत्रिकाहरू प्रकाशित भइरहेका देखिन्छन् .(यसको समग्र विवरण परिशिष्ट “ख” मा दिइएको छ) । यी पत्रिकाहरूमा पनि आंशिक रूपमा साहित्यिक रचनाहरू प्रकाशित हुँदै आएका छन् । साहित्य सिर्जना र पत्रकारितामा यिनले पनि योगदान पु¥याएकै देखिन्छ ।
छापा माध्यमले जस्तै विद्युतीय माध्यमले पनि चितवनको साप्ताहिक पत्रकारितामा योगदान पु¥याएको देखिन्छ । चितवनमा एफ.एम. रेडियो र टि.भी. च्यानल संवत् २०५८ मा स्थापित भएका हुन् । एफ.एम.मा सिनर्जी एफ.एम. ९१.६ २०५८ सालमा र बेसो संस्थाबाट सञ्चालित टि.भी. च्यानल २०५८ सालको असोजदेखि सुरु भएको देखिन्छ । आज चितवनमा २० वटा एफ.एम. रेडियोहरू (सिनर्जी, कालिका, हाम्रो, त्रिवेणी, रेडियो नारायणी, रेडियो ध्रुवतारा÷रेडियो साइनो, रेडियो चितवन, रेडियो अर्पण, सामुदायिक रेडियो माडी, सिराइचुली, ग्रेट एफ.एम., रेडियो सम्पदा, ड्रिम्स, रेडियो शिवशक्ति, रिलेशन, रेडियो मनकामना, इच्छाकामना एफ.एम., रेडियो वाल्मीकि आदि एफ.एम.हरू र ५ वटा टेलिभिजनहरू (बेसो, आभास, टि.भी. कालिका, नमस्ते, अभियान) क्रियाशील रहेका छन् । यिनले पनि आंशिक रूपमा साहित्यिक रचना एवं कार्यक्रमहरू प्रशारण गर्ने गरेका छन् ।
यस्तै गरी नेपाल पत्रकार महासंघ, चितवनमा आबद्ध रहेका १५ वटा अनलाइन पत्रिकाहरू (नारायणी, सौराह, कालिका दैनिक,ए टु जेड, मिडिया डटकम, न्युज भित्तो, चितवन समाचार, सफल खबर, मेरो खबर साथी, शासन खबर, सरोकार अनलाइन, मकालु खबर, खबर तरङ्ग, क्लिक खबर) ले पनि साहित्यिक रचना एवं सूचनाहरू केही मात्रामा प्रसारण गरेको पाइन्छ । अनलाइन पत्रिकाहरू धमाधम खुलिरहेका छन् । चितवनसँगै सम्बन्ध रहेका र प्रेसकाउन्सिल नेपालसँग आबद्ध रहेका ३० वटा अनलाइन पत्रिकाहरूको समग्र विवरण पनि प्राप्त भएको छ (विवरण परिशिष्ट “ग” मा दिइएको छ) । यसबाहेक अन्य मेडियाहरू (गोष्ठी, सेमिनार, टक–प्रोग्राम, साहित्यिक भेला, सम्मेलन आदि आवधिक कार्यक्रमहरूले पनि साहित्यिक पत्रकारितालाई प्रोत्साहित गर्दै ल्याएको देखिन्छ ।
४. विकासक्रम र प्रवृत्ति
चितवनमा पत्रकारिता आरम्भ भएको ५५ वर्ष पुगिसकेको छ र यस कालखण्डभित्र छापा माध्यमका २७० वटा (साहित्यिक ८९ वटा, समाचारपत्र १०३ वटा र अन्य ७८ वटा) पत्रपत्रिकाहरू प्रकाशित भएका छन् । यसै गरी विद्युतीय माध्यमका ५५ वटा सञ्चार संस्थाहरू (टि.भी. ५ वटा, एफ.एम. २० वटा र अनलाइन ३० वटा) क्रियाशील रहेका छन् । छापा माध्यमको २०२१ देखि र विद्युतीय माध्यमको २०५८ देखि विकासक्रम सुरु भएको हो र यो चरणबद्ध रहेको देखिन्छ :
ख) दोस्रो चरण (२०४८–२०६३)
ग) तेस्रो चरण (२०६४–२०७६ वा आजसम्म)
क) प्रथम चरण : वि.सं. २०२१ मा प्रकाशित भएको साहित्यिक पत्रिका चितवनको चिनोदेखि २०४७ सालमा प्रकाशित वागीश्वरीसम्मको यो २६ वर्षे कालखण्डभित्र प्रकाशित २०/२१ वटा साहित्यिक र ६ वटा समाचारपत्रहरूको कालखण्डलाई चितवनको पत्रकारिताको पहिलो चरण मान्न सकिन्छ । यस चरणमा साहित्यिक पत्रिका प्रकाशनको बाढी नै आएको देखिन्छ तर यी पत्रिकाहरू सामयिक सङ्कलन, संस्थागत मुखपत्र र केही वैयक्तिक आवधिक पत्रिकाको रूपमा प्रकाशित भएका थिए । यी पत्रिकाहरू दर्ताविना नै प्रकाशित हुँदै आएका पत्रपत्रिकाहरू थिए । यस चरणमा एउटै पनि साहित्यिक पत्रिका दर्ता भएको पाइँदैन तर समाचारपत्रहरू भने जुन छ वटा (प्रवाह, मुलुकी आवाज, विवेचना, अन्वेषणा र जनआवाज) प्रकाशित भएका देखिन्छन्, ती दर्ता भएका थिए भन्ने उल्लेख पाइन्छ (छिमेकी, २०५५ : १४०) तर जिल्ला प्रशासन कार्यालयको दर्ता पुस्तकमा ती दर्ता भएका देखिन्नन् । दर्ता नभएर हो वा प्रशासन कार्यालयमा दर्ता गर्ने चलन नभएर हो वा सुरुको दर्ता पुस्तक हराएर हो यो खुल्न सकेको छैन ।
प्रकाशित भएका साहित्यिक पत्रिकाहरू भने निकै उत्साहित र उज्याला देखिन्छन् । आ–आफ्नो विचार र आस्थाप्रतिको समर्पण भाव, जनताका समस्याप्रति संवेदनशील, सामाजिक विकृति–विसङ्गतिप्रति आक्रामक, सुन्दर समाज निर्माणको हुटहुटी, साहित्यिक सेवाको भाव, स्वाभिमानी भाव, देशभक्ति, सिर्जनात्मक प्रतिस्पर्धा आदि यस चरणका पत्रपत्रिकाहरूका विशेषता हुन् । यसै गरी राष्ट्रिय रूपमा जेजस्ता विचारधारात्मक प्रवृत्तिहरू पैदा भएका थिए, चितवनको पत्रकारिताको क्षेत्रमा पनि त्यसको असर परेको देखिन्छ । केही पत्रिकाहरू स्वच्छन्दतावादी यथास्थितिवादी चिन्तनधारातर्फ प्रवृत्त थिए भने केही पत्रिकाहरू यथार्थवादी, आलोचनात्मक यथार्थवादी र समाजवादी यथार्थवादी चिन्तनधारातर्फ प्रवृत्त थिए । आ–आफ्ना चिन्तन एवं प्रवृत्तिअनुसार समाजमा जागरण फैलाउने, नवीन विचार र सूचनाहरू सञ्चार गर्ने र विचार समूहहरू पैदा गर्ने खालका कामहरू गर्ने गर्थे । आस्थाको पत्रकारिताले प्रतिस्पर्धाको रूपसमेत धारण गरेको थियो । प्रगतिशील पक्षधर पत्रिका नौलो राँको, नयाँ गोरेटो, नयाँ जोश, जाँगर आदि थिए भने स्वच्छन्दतावादी धाराका अन्य पत्रिकाहरू थिए । यथार्थवादी पत्रिका कीर्तिलगायतका पत्रिकाहरू पनि थिए ।
नौलो राँकोको राँको निभाउन छहरो पत्रिकाको प्रकाशन भएको थियो । साहित्यिक पत्रकारिताको क्षेत्रमा यस हदसम्मको प्रतिस्पर्धा भएको देखिन्छ तर यस चरणको पत्रकारिताको मूल प्रवृत्ति भने साहित्यप्रति समर्पण, आफ्नो आस्था र विचारप्रति जागृत, समाजप्रति संवेदनशील, अत्यन्त क्रियाशील र आस्थाको पत्रकारिता नै थियो ।
ख) दोस्रो चरण : वि.सं. २०४८ मा दर्ता भई प्रकाशन हुन थालेको त्रैमासिक साहित्यिक पत्रिका सम्प्रेषण र साप्ताहिक समाचारपत्र प्रतिकारदेखि २०६३ मा प्रकाशित सरोजिनी साहित्यिक र दैनिक समाचारपत्र कायाकैरनसम्म १५ वर्षभित्रका १३ वटा दर्ता भएका र ३४ वटा दर्ता नभएका साहित्यिक पत्रिका, ४४ वटा दर्ता भएका समाचारपत्र र २७ वटा दर्ता भएका अन्य पत्रिकाहरू गरी जम्मा ११८ वटा पत्रपत्रिकाहरू यस चरणमा अस्तित्वमा आएका देखिन्छन् ।
यस चरणको मूल प्रवृत्ति भनेको जिल्ला प्रशासन कार्यालयमा दर्ता भई व्यवस्थित रूपमा प्रकाशन हुनु रहेको छ । यसै चरणदेखि समाचारपत्रहरू व्यावसायिक हुन थालेका देखिन्छन् । यसै चरणमा दैनिक चितवन (२०५३) र चितवन पोष्ट (२०५६) चितवनका दैनिक पत्रिकाको रूपमा प्रकाशित हुन थालेको पाइन्छ । ३० वटा त साप्ताहिक पत्रिका दर्ता भएको देखिन्छ । १३ वटा दर्ता भएका यस चरणका साहित्यिक पत्रिकाहरूमध्ये सम्प्रेषण, हाम्रो मझेरी, पल्लव र हाम्रो सिर्जना आजसम्म पनि प्रकाशित हुँदै आएका छन् भने बाँकी सुनगाभा २० अङ्कसम्म, पल्लवी सन्देश ५ अङ्कसम्म, अभिव्यञ्जना २ अङ्कसम्म, स्रष्टा ४ अङ्कसम्म, सिराइचुली सेरोफेरा ४ अङ्कसम्म र चरैवती १० अङ्कसम्म प्रकाशित भएर स्थगित भएका देखिन्छन् । आजसम्म चालु रहेका साहित्यिक पत्रिकाहरूमासम्प्रेषणको २४ अङ्क, हाम्रो मझेरीको ५७अङ्क, पल्लवको २४ अङ्क र हाम्रो सिर्जनाको २३ अङ्कसम्म प्रकाशित हुँदै आएको देखिन्छ । यी पत्रिकाका वैचारिक प्रवृत्तिहरूमा सम्प्रेषण र पल्लवले स्वच्छन्दतावादी, हाम्रो सिर्जनाले यथार्थवादी र हाम्रो मझेरीले मिश्रित वैचारिक धारलाई महत्व दिएको पनि प्रतीत हुन्छ ।
यस चरणको पत्रकारिताको सामान्य प्रवृत्ति हेर्दा पहिलो चरणको तुलनामा साहित्यिक पत्रकारिताप्रतिको मोह कम हुँदै गएको १३ वटा पत्रिका दर्ता भएर पनि थोरै मात्रले निरन्तरता पाएको देखिन्छ । तर समाचार पत्रको हकमा भने पहिलेको तुलनामा ह्वात्तै विकास भएको, व्यावसायिकतातर्फ प्रवृत्त भएको, दैनिक पत्रिकाहरूसमेत प्रकाशित हुन थालेको देखिन्छ तर दर्ता भएका पत्रिकाहरूमध्ये थोरैले मात्र निरन्तरता पाएको र प्रायः धेरैजसो पत्रिकाहरूदर्तामै सीमित हुन पुगेको देखिन्छ ।
यस चरणमा केवल छापामाध्यमका पत्रपत्रिकाहरू मात्र नभई विद्युतीय माध्यमले पनि चितवनको पत्रकारितालाई सशक्त तुल्याएको छ । यही चरणमा एफ.एम. र टि.भी.हरूको पनि आरम्भ भएको देखिन्छ ।
ग) तेस्रो चरण : वि.सं. २०६४ देखि २०७६ सम्मका आजसम्मको १२ वर्षको अवधिमा १२४ वटा पत्रपत्रिकाहरू अस्तित्वमा आएको देखिन्छ तर यसमध्ये दर्ता भएका साहित्यिक पत्रिकाहरू केवल ४ वटा छन् र तीमध्ये पनि नियमित भने कुनै पनि हुन सकेका छैनन् । केही अङ्कसिराइचुली सेरोफेरोको प्रकाशित भएको र चरैवेती १० अङ्कसम्म प्रकाशित भएर थन्किएको देखिन्छ । यस चरणमा दर्ता नभएका साहित्यिक पत्रिका ७ वटा रहेका छन् । समाचारपत्रको हकमा ५३ वटा पत्रिकाहरू दर्ता भएका देखिन्छन् । यीमध्ये कायाकैरन र ड्रिम्सआजसम्म प्रकाशित हुँदै आएका छन् । साप्ताहिक पत्रिकाहरूमा आक्रमण, जोश, चित्रवन सन्देश, नमस्ते बिहानी, भण्डाफोड अभियान, शुभेच्छा सन्देश आदि ५/६ वटा चालु रहेको देखिन्छ ५३ वटा समाचारपत्रहरूमा केवल ८/१० वटा मात्रले निरन्तरता पाएको र ठूलो भाग दर्तामै सीमित रहेको देखिन्छ । यस्तै अन्य पत्रिकाहरूका दर्ता भएका ५१ वटा र नभएका १६ वटा रहेका छन् र यीमध्ये ज्यादै सानो सङ्ख्याले मात्र नियमितता पाएको छ ।
यस चरणको उल्लेख्य भनेको अनलाइन पत्रिकाहरू अस्तित्वमा आउनु हो । वि.सं. २०७० देखि आजसम्म प्रेस काउन्सिलमा दर्ता भएका चितवन सम्बन्धित अनलाइन पत्रिकाहरूको सङ्ख्या ३० वटा रहेको उल्लेख पाइन्छ ।
यी सबैले चितवनको साहित्यिक पत्रकारितामा धेरथोर सहयोग पु¥याएका छन् । चितवनको पत्रकारितालाई जगेर्ना गर्ने काम यहाँका सङ्घ–संस्थाहरूले, स्कुल, क्याम्पसहरूले आवधिक रूपमा प्रकाशन गरेका स्मारिकाहरूले पनि गरेका छन् । सङ्घ–संस्थाहरूमा संस्थागत प्रतिवेदनहरू र केही अभिलेखहरू बाहेक यिनले पनि साहित्यिक लेख रचनाहरू नै प्रकाशित गर्ने गरेका छन् । अरूणोदय रजत स्मारिका (२०४३), गीतानगरदेखि स्मारिकाहरूको प्रकाशन हुन थालेको देखिन्छ र आजसम्म यसको सङ्ख्या दर्जनौँ पुगिसकेको छ । २०६७ सालमा पत्रकारिता चितौन स्मारिकामा प्रकाशित एक लेखमा स्मारिकाको सङ्ख्या साहित्यिक स्मारिकाहरू ३५ वटा र गैर साहित्यिक स्मारिकाहरू १८ वटा गरी ४३ वटा स्मारिकाहरू भएको उल्लेख पाइन्छ (पोखरेल, २०६७ : २५) । यसपछिका १० वर्षभित्र (२०७६ सम्म) झन धेरै स्मारिकाहरू प्रकाशित भएका छन् ।
साहित्यिक पत्रकारिताका अन्य गतिविधिहरूमा यहाँ सम्पन्न भएका र हुने साहित्यिक गोष्ठीहरू, सेमिनारहरू, सम्मेलन एवं सभाहरू र टक प्रोग्रामहरू हुन् । चितवनका यस प्रकारका साहित्यिक कार्यक्रमहरू धेरै हुँदै आएका छन् । कतिपय पत्रिकाहरूमा तिनका बारेमा उल्लेख पनि भएका छन् । यसरी पत्रपत्रिकाको विकासमा साहित्यिक कार्यक्रमहरूको पनि भूमिका रहँदै आएको छ । २०२२ र २०२४ को चितवनको साहित्यिक कार्यक्रमदेखिआजसम्म अनेक स्कुलहरूको साहित्यिक कार्यक्रमहरूमा वाचित लेख रचनाहरूसङ्कलित भएर सामयिक सङ्कलन र स्मारिकाहरू निस्कँदै आएका छन् र आज पनि निस्किरहेका छन् ।
अर्काे साहित्यिक पत्रकारिताको विकासमा महङ्खवपूर्ण योगदान शोधार्थीहरूको पनि रहेको छ । चितवनको पत्रकारितालाई लिएर आधा दर्जनभन्दा बढी नै स्नातकोत्तर तह नेपाली विभागबाट शोधहरू भएका छन् । यसै गरी चितवनका पत्रपत्रिकाहरूको विकास सन्दर्भलाई लिएर बेलाबेलामा भएका सेमिनारहरूमा कार्यपत्रहरू पनि प्रस्तुत हुँदै आएका
छन् ।