सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भाइरस विरुद्ध नेपाली लडाईं


  •    न्युजभित्तो/३१ बैशाख २०७७, बुधबार १६:३५ 
  • वीेरेन्द्रमणि पौडेल

    धनी हुने गरीब हुने विषय सानो हो जीवन बाँच्ने कुरा महत्वपूर्ण हो ।

    पुगनपुग ३ करोड मात्रै जनसंख्या र १ लाख ४७ हजार १८१ बर्ग किलोमिटर क्षेत्रफल भएको देश नेपाल मेहनत गर्ने बानी वा परम्परा हुँदो होत धनी र शक्तिशाली पनि हुनसक्थ्यो तर प्रकृतिले सबथोक दिएर पनि आत्मनिर्भर हुनुपर्छ भन्ने चेत नदिएको कारण निकै लामो समयअघिदेखि नेपाली नागरिकहरुले स्वदेशमै आफूलाई चाहिने चिजबीज उत्पादन गर्न छाडे । यसको परिणाम अरुले दिए खाने नभए पुर्पुरोमा हात लाएर बस्न पर्ने अवस्था सिर्जना भयो । आज सिड्डो नेपाल यही काम नगरी खाने बानी परेको जनताका कारण हाहाकारको अबस्था झेल्न बाध्य भएको छ ।

    प्राणघातक नोबल कोरोना भाइरसले त संसारका सबै देशलाई सताएको छ नेपाललाई मात्रै होइन तर अपवादलाई छाडेर संसारका अन्य मुलुकहरु कोरोनाका कारण मात्रै किचिएका छन् ती देशको लडाइ कोरोनासँग मात्रै छ तर नेपालले कोरोनासँग त अनिवार्य रुपमा लड्न परेको छनै, अब गरिबी, बेरोजगारी, अन्न अभावका साथ अत्यावश्यक अन्य सामग्रीको कमी जस्ता सयौंसयौं समस्याहरुसँग पनि एकसाथ जुध्न पर्ने अवस्था सिर्जना भएको छ ।

    प्राणी जातीमा मान्छेलाई सबैभन्दा चेतनशील र बाठो सहित बुद्धिमान पनि भन्ने गरिएको छ । यदि यो भनाइ साँचो होभने हामी पुगनपुग ३ करोड नेपाली पनि चेतनशील छौं, बाठो र बुद्धिमान पनि छौं । त्यसो होभने यस्तो चेतनशील र बुद्धिमान मान्छेहरुलाई २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्प जसले हजारौं नेपाली ज्यान निलेको थियो र अबौं रुपैयाँ बराबरको धन क्षति गरेको थियो । त्यो मानव क्षति र धनक्षतिपछि पनि चारबर्षको अवधि हामीले बिताइसकेको छौं तर आज पनि भूकम्पले भत्काएका घरहरु बनाउनका लागि विदेशीले पैसा दिएर पनि यो देशले बनाउन सकेन किन होला ? देश र जनताको माया नभएर भनौंभने यो देशका हरेक नागरिकहरु ससानो विषयदेखि राष्ट्रियता जस्तो ठूलो विषयमा समेत सडक आन्दोलनका लागि तुरुन्तै तयार भइहाल्छन् । फेरि सबचिजको बन्दोबस्त भएर पनि भूकम्प प्रभावित नेपाली जनता किन प्लाष्टिकको पाल टाँगेर रात बिताउन पर्ने अवस्थामा छन् ? थाहा भयो धन भएर पनि त्यो धन ठीक तरिकाले प्रयोग गर्न नसक्ने वा नचाहने हामी नेपाली रहेछौं । यो खुबी नभएकामा तलदेखि माथिसम्मका, प्रशासकदेखि शासकसम्म, सरकारमा बस्नेदेखि विपक्षमा बस्ने राजनीतिक दलहरुसम्म, यो पेशादेखि त्यो पेशा र विना पेशा पनि जीवन बिताइरहेकाहरु सबका सबसँग धन प्रयोगको खुबी रहेन छ । ध्वंशपछि निर्माण नयाँ निर्माण हुन्छ र गतिलो निर्माण गर्न सकिन्छ भन्थे कोहीकोही । तर भूकम्पले ध्वंस ग¥यो, निर्माणका लागि सबथोक छ र पनि निर्माणको नाममा जिरो । खै त चेत खुलेको ? छिमेकी देशलाई झोक चल्दा नाकाबन्दी ब्यहोर्न प¥यो । तीनै करोड जनताले ऐया र आत्था गर्दै कहाली लाग्दा अभावका दिनहरु गुजारे । देश आत्मनिर्भर हुनसकेको हुन्थ्यो वा बनाउन सकिएको भए, अन्न, फलफूल, तरकारी र औषधीमा आत्मनिर्भर हुने प्रयास गरेको भए आत्मनिर्भर हुन सकिन्थ्यो । नाकाबन्दीको तातो बाफ् अहिले पनि नेपाली शरीरहरुबाट माथि आकाशमा उडिरहेकै छ । त्यो तातो बाफलाई सबक ठानेर उत्पादनमा जोड दिनुपथ्र्यो कम्तिमा बाँच्नको लागि अन्न, फलफूल र तरकारीमा आत्मनिर्भर भइन्थ्यो । पेट्रोल डिजेल र मट्टितेलमा आत्मनिर्भर हुन नसके उपभोगमै कटौती गर्न सकिन्थ्यो । १० बर्ष निजी सवारी साधन प्रयोगमा रोक लगाउने बित्तिकै खरबौं रुपैयाँ बचत हुन्थ्यो । सार्वजनिक यातायात प्रयोग मार्फत् पनि काम चलाउन सकिन्थ्यो । यति सानो काम पनि गर्न नसक्नुलाई भूकम्पपछिको यति लामो समय खेर गएको नभने के भन्ने ?

    पुराना शासकहरुले नेपालका युवा उमेरका जनशक्तिलाई विदेशमा भाडाका कामदारको रुपमा निर्यात गरे । राणाहरुले नेपाली सेनालाई अन्य कुनै देशको पक्षमा र कसैको विपक्षमा लड्न पठाएर चाकडी गरेको इतिहास छ । त्यसो गर्नुमा उनीहरुको स्वार्थ अरु थिएन थियो त सिर्फ आफ्ना जहानिया शासनको रक्षाका लागि मात्रै थियो । पञ्चायतको पालादेखि त्यसरी कुनै देशको पक्ष वा कसैको विपक्षमा नेपाली सेना प्रयोग भएको इतिहास छैन । संयुक्त राष्ट्रसंघको अनुरोधमा द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ नेपाली सेनाले भाग लिनुमा अहिले पनि गौरवको विषय मानिएको छ । यो बेग्लै पक्ष हो तर पञ्चायती शासकहरुकै पालादेखि नेपाली नागरिकहरुलाई विदेशमा कामदारको रुपमा पठाउन थालेर रेमिट्यान्स बटुल्ने सोचलाई पछिल्ला शासकहरुले पनि जस्तोको त्यस्तै निरन्तरता दिए । यो कहिल्यै सोचेनन् की कुनै बेला रोजगारी दिने देशहरु नै आपत्काल भोग्न बाध्य हुनसक्छन् त्यस्तो अवस्थामा नेपाली कामदारको अवस्था के होला ? रेमिट्यान्स बन्द हुँदा देशको आर्थिक अवस्था के होला ? त्यो पुरानो प्रश्न आज नयाँ रुपमा प्रकट भएको छ ।

    विश्वमा रोजगारीका लागि गएका झण्डै ४२ लाख नेपाली आज कोरोना भाइरसका कारण रोजगारी गुमाएका छन्भने जीवन रक्षाको पिरलोमा रन्थनिएका छन् । एकदुई हजार वा दुईचार हजारको संख्या भए बेग्लै कुरा, यहाँ त लाखौलाख संख्याको कुरा छ । यस्तो अवस्थामा कसरी ती नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने ? ल्याएर के खान दिने, कहाँ राख्ने, त्यति ठूलो संख्याका नेपाली कति दिनमा कतिओटा जेट विमानमा चढेर नेपाल आउने ? यस्ता प्रश्नहरु त ज्वलन्त रुपमा तेर्सिका छन् तर जवाफ थाहा भएर पनि कसैसँग समाधान गर्ने क्षमता यतिबेला छैन । किनछैनभने विस्तार विस्तार विदेश गएर थुप्रिएका नेपालीहरु एकैपटक नेपाल आउने अवस्थामा छन् ।

    यो जटिल अवस्थाको सामना गर्न, विदेशमा रहेका नेपाली जनताको सुरक्षा गर्न नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले सम्बन्धित देशका सरकार प्रमुखहरुसँग कुराकानी त गरिरहनु भएको छ । केही राष्ट्रहरुले आफ्ना देशका नागरिकसरह मद्दत गर्ने वचन पनि दिएका छन् तर केही देशले नकारात्मक जवाफ दिएको अनुमान पनि गरिएको छ । ती देश मध्ये कुवेतले झण्डै ९ हजार नेपालीलाई चाँडोभन्दा चाँडो कुवेतबाट लैजान नेपाललाई खबर पठाएको बुझिएको छ । ती नेपालीलाई नेपाल ल्याउने र तिनको जीवनयापनको बन्दोबस्त गर्ने तयारी पनि हाम्रो देशसँग यतिबेला छैन । फेरि अरु देशले पनि आफ्ना नागरिकहरु फिर्ता लैजाउ भन्न थाले त्यो अर्को टाउको दुखाईको विषय बन्नसक्छ । अब देशभित्रका कम संख्यामा भएका उद्योग, कलकारखानाहरु समेत यतिबेला ठप्प भएका छन् । केपी ओली नेतृत्वको सरकारका अगाडि एकातिर जनतालाई कोरोना भाइरस संक्रमणबाट जोगाउनु छभने अर्कोतर्फ एकैपटक रोजगारी गुमाएका जनता, आज मजदूरी गरेर आजै खाने र भोलि मजदूरी गरेर भोलिनै खाने जनतालाई खुवाउनु पर्ने समस्या देखिएको छ । कोरोनाबाट जोगाउन कडा बन्दाबन्दी लगाउँ, जनता भोकै मर्ने, रोजगारी गुम्ने, कर राजश्व शुन्यमा झर्ने र आर्थिक अवस्था चौपट हुने, लकडाउन खुकुलो पारौं वा हटाउँ कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढ्ने र जनता सोत्तर हुने सम्भावना हुने । यस्तो आँखै अगाडिको दुईओटा समस्याका बीच ओली सरकार च्यापिएको छ । दुई विकल्प मध्ये ओली सरकारले पहिला जनतालाई जोगाउने उपाय अवलम्वन गरेको छ जुन उपायलाई ठीक उपाय मानिएको छ । धनी हुने गरीब हुने विषय सानो हो जीवन बाँच्ने कुरा महत्वपूर्ण हो ।

    नेपालमा कोरोना फैलिँदो छ । २१७ को संख्यामा सीमित हुने छैन । स्वास्थ्यसेवा नेपालमा कमजोर छ । यो महामारीबाट पार पाउने उपाय नेपालीका लागि बन्दाबन्दी बाहेक अरु हुने कुनै सम्भावना देखिँदैन । यस्तो अवस्थामा जनताको लागि काम गर्ने भनेको सिर्फ सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी मात्रै हुन् । सरकारले आवश्यक नीति तर्जुमा गर्ने हो । अरु पक्ष बन्दाबन्दीलाई पूर्णरुपमा पालना गरेर “बाँचे जितिन्छ” भन्ने मन्त्र जप्ने मात्रै हो । यतिबेला मिलेर बाँच्ने हो, बाँच्न मद्दत गर्ने हो । सबले सबलाई मद्दत गर्ने हो । कसैको कमजोरी वा गल्तीलाई कोट्याउने वा होच्याउने बेला हुँदै होइन यो । हरेकले आफ्नो जिम्मेवारी पूरा गरोस् । सरकारको काम सरकार गरोस् । नागरिक समाज र अन्य जिम्मेवार पक्षहरुले पनि आ–आफ्नो कर्तब्य पालन गरुन् । कमजोरी र गल्तीहरु कोरोनाबाट मुक्ति मिलेपछि सच्याउँदा हुन्छ । तर सच्याउँन चाहीँ बिलकुल पर्छ । (बैशाख ३१,२०७७)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.