सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साम्राज्यवादी अङ्ग्रेजलाई जितेपछि ‘जितगढी’


  •    न्युजभित्तो/२२ बैशाख २०७७, सोमबार १७:३३ 
  • लेखक

    तेजबहादुर कार्की (लेखक : मष्टो संस्कृति)

    परिचय
    प्रदेश नम्वर ५ को अस्थायी मुकाम बुटवल नगरीको तिनाउँ खोला किनारमा रहेको छ ‘जितगढी’ । स्थानीय बुज्रुकले सङ्केत गरे कि, यसको वास्तविक नाम ‘बटौलीगढी’ हो । कहिल्यै सूर्य अस्त नहुने साम्राज्यका मालिक वा भनौं तत्कालीन समयको अजेय मानिएको अङ्ग्रेजलाई दुई–दुई पटक घुँडा टेकाएपछि यो दुर्गलाई ‘जितगढी’ पुकार्न थालियो ।
    कोट्ट वा गढको प्राचीनता

    आज हामी जुन राष्ट्रमा छौँ । यसको निर्माण गर्न हाम्रा कैयौँ वीर पुर्खाहरूको रगत, पसिना, बलिदान, वीरता, रणनीति, रणकौशल, देशभक्तिपूर्ण कर्तब्यबोध, राष्ट्रप्रतिको जिम्मेवारी आदि जस्ता कारण नकार्न सकिन्न । मुलुक त्यसै खडा हुँदैन, यहाँ त सामुहिकता, समर्पण र अपनत्वको ठूलो दरकार पर्छ । राज्य, राष्ट्र उत्पत्तिसँगै यसको दीर्घ जीवनका लागि विभिन्न मानसिक र भौतिक उपायहरू अपनाएको पाइन्छ । भौतिक उपाय मध्ये गढी, दुर्ग, कोट्ट वा किल्ला निर्माण गर्नु एक हो । परचक्रीले मुलुकमाथि सर गर्न नसकोस् भनेर यस्ता गढी वा दुर्ग निर्माण गरिन्छ । दुर्ग सामरिक महत्तवको स्थानमा बनाउने प्रचलन छ ।

    विगतको तथ्यगत अध्ययन इतिहास हो । प्रमाणहरूको विश्लेषणबाट वास्तविकता उजागर हुने गर्छ । इतिहास अध्ययन वास्तविकता तर्फको पाइलो हो । लिखित, पुरातात्विक वस्तु, सरकारी उर्दी, मौखिक लगायत मिथक आदिबाट प्रमाण पत्ता लाग्छ । गढी, दुर्ग, कोट्ट वा किल्ला निर्माणको लामो परम्परा छ । राज्यको सुरुवातदेखि नै गढी, किल्ला वा कोट्ट र दरवार निर्माण गर्न थालिएको मानिन्छ ।

    आजभन्दा १२ हजार वर्षअघि कृषि क्रान्ति भयो । त्यतिबेला देखिनै मानिसहरू स्थायीरूपमा बसोबास र खेतीपाती गर्न थाले । मानिसहरूबीच सामाजिक सम्झौता भयो । सुरक्षा र आवश्यकता परिपूर्तिका लागि राज्यको उदय भयो । सायद सो समयमा सर्वप्राचीन किल्ला वा गढी बन्न थाले । मानिस झुण्ड झुण्डमा बस्थे र प्रत्येक झुण्डमा आ–आफ्ना अधिपति हुन्थे । तिनीहरूलाई समाजका नागरिकहरूले छान्ने चलन थियो । यस्तो चलनलाई प्राचीन गणतन्त्रात्मक शासन भनिन्छ । प्रत्येक गण (झुण्ड) को आफ्नै नियम र संस्कार हुन्थ्यो । आ–आफ्नो गणचिन्ह (Totem) हुन्थ्यो । खस, आर्य, नाग, द्रबिड, कोशल, काशी, किराँत आदि यस्ता गणहरू थिए । आज आर्यका उपास्यदेव इन्द्र, खसहरूका कुलदेवता मष्टा, प्राचीन द्रविडका शिव, किराँतका मुन्धुम वर्णित देव वास्तवमा तत् तत् गण वा झुण्डका अधिपति वा गण रक्षक प्रतित हुन्छन् ।

    सर्वप्राचीन सभ्यताहरू नाइल सभ्यता, ग्रीक सभ्यता, रोमको सभ्यता, टिगरिस र युफ्रेटसको सभ्यता उत्खनन् गर्दा त्यहाँ सुरक्षात्मक पर्खाल र पानीले घेरिएको हुने उल्लेख गरेको पाइन्छ (शर्मा, २०५५ः३) । प्राचीन वैदिक तथा बौद्ध शास्त्र, साहित्यहरूमा पटक पटक गढ, किल्लाको उल्लेख गरेको पढ्न पाइन्छ । ऋग्वेदको छैठौँ मण्डलको ४७ औँ सूक्तको २१ औँ र २२ औँ मन्त्रमा आर्य सम्राट दिवोदास र किराँत नेता शम्बरको बारम्बार प्रसङ्ग आउँछ । ९९ किल्लाका अधिपति किराँतहरू सो कालमा त्रिगर्त वा काँगडा उपत्यकामा बस्थे । तिनै ९९ किल्ला नष्ट गरी अन्ततः आर्यले कठीन विजय प्राप्त गरेका थिए (शर्मा, २०४९ : ३५१) ।

    दिवदिवे सदृशीरन्यमधं कृष्णा असेधदप सद्यनो जाः ।
    अहन् दासा वृशभो वस्नयन्तो दव्रजे वर्चिन शम्बरं च ।।२१।।
    प्रस्तोत इन्नु राधसस्त इन्द्र दशकोशयीर्दश वाजिनोऽदात् ।
    दिवोदासादतिथिग्वस्य राधः शाम्बरं वसुप्रत्यग्रभीष्म ।।२२।।
    ऋग्वेद ६।४७।२१, २२

    यसरी गढ राज्यको विकाससँगै सुरक्षाको भौतिक बन्दोबस्त गरिएको रहेछ । लिच्छवीकालदेखि नेपालको प्रामाणिक इतिहास पाइन्छ । लिच्छवीकालीन एक अभिलेखमा ‘कोट्टवली अलोप वन्न’ लेखिएको छ । त्यो समयमा कोट्ट अस्तित्वमा रहेको देखाउँछ । नेपालमा हाल करीव दुई सय जति गढी फेला परेको पुरातत्व विभागका रामबहादुर कुँवरले जानकारी गराएका छन् । आज अस्तित्वमा रहेका गढी मध्ये प्रायः सेनहरूले बनाएका थिए ।

    कहिले बन्यो ?
    जितगढको युद्धमा तीनवटा जितगढी, नुवाकोटगढी र काठेगढी वा सानोगढीबाट सञ्चालन भएको थियो (बस्न्यात, २०७१ः १३१)। यिनीहरू पाँच किलोमिटर दुरीभित्र छन् । बटौलीगढी निर्माणको बारेमा हालसम्म कुनै प्रामाणिक लिखत उपलब्ध छैन । त्यसैले केहि इतिहासकारले यसको निर्माण कर्णेल उजिरसिंह थापाले त कसैले सेनकालमा नै बनेको भनी बिश्वास गर्छन । नेपालको किल्ला वास्तुकलाका लेखक डिल्लीराज शर्मा वर्णन गर्छन् : 
    नेपाल–अङ्ग्रेज युद्धताका अर्थात वि. सं. १८७२ तिर यो किल्लाको निर्माण गरिएको थियो । बुटवलको तिनाउ नदिको पश्चिमी किनारामा रहेको यो किल्लाबाटै उजिरसिंहले अङ्ग्रेजको मुकाबिला गरेका थिए । यहाँबाटै नेपालको जित, अङ्ग्रेजको हार भएको कारणले यस किल्लालाई जितगढी नामकरण गरियो । पृ. १०१

    अङ्ग्रेजको आक्रमण निस्तेज पार्न विभिन्न तयारी गरिएको यसको लागि बुटवलमा मजबुत किल्ला निर्माणमा ध्यान दिइयो । अस्थायी रूपमा निर्माण गरिएका ती किल्ला बनाउनका लागि जनश्रम उपयोग गरिएको थियो । नेपाल–अङ्ग्रेज युद्धताका किल्ला बनाउन रैतीलाई चार महिनासम्म बुटवलमा झारामा आउन आदेश जारी गरिएको थियो (पंगेनी, २०६५ः १२१–१२३ ; बाँनिया, २०७०ः ११) । १८१४–१६ ई. को नेपाल–अङ्ग्रेज युद्धकालमा पाल्पाका तत्कालीन प्रशासक कर्णेल उजिरसिंह थापाले बुटवलमा अर्को गढी बनाएर त्यसैबाट अङ्ग्रेज सेनाको मुकाबिला गरी लखेटेका थिए (राणा, १९७०ः ४५ ; घिमिरे, २०५६ः ९३) । कतिपय विद्वानको मत भने यसको निर्माण सेनकालमा भई अङ्गे्रजसँगको युद्धभन्दा पहिला जिर्णोद्वार गरिएको भन्ने छ । यहाँका स्थानीयहरू पनि यो सेनकालमा निर्माण भएको विश्वास गर्छन् ।

    गढीको भौतिक विवरण
    टाढैबाट हेर्दा आकर्षक देखिने यो किल्ला हेग्जागोनल डिजाइनमा बनेको छ । यो नेपालको एक मात्र जलदुर्ग हो । इट्टामा चुनासुर्की मिलाएर बनेको एक मात्र गढी हो (बस्न्यात, २०७१ः १३२) । तत्कालीन बिनायकपुर राज्यको फूलवारी दरवारको १५३२ हातको दुरीमा छ । पूर्व–पश्चिम लम्वाई ११०० हात र उत्तर–दक्षिण चौडाइ ९०० हात रहेको थियो । हाल यसको धेरै भाग अतिक्रमण भएको अवस्था छ । किल्लाको गाह्रोको मोटाई १०४ इन्च, रेकी गर्ने ठाउँको लम्बाई १० मिटर ८० से.मी. र चौडाई ५ मिटर ४३ से.मी. रहेको छ ।

    किल्लाको इट्टाको आकार लम्बाइ ९ इन्च, चौडाई ५.३ इन्च र मोटाइ २.४ इन्च छ । बैरीलाई आक्रमण गर्न गढीको बुर्जा अर्धगोलाकार छ । यसमा तीनवटा प्रहार गर्ने चर छन् र हरेक चरमा तीन दिशातिर बन्दुक घुसाई प्रहार गर्न मिल्छ ।

    यो गढी र नुवाकोट दरवारबीच सुरुङ मार्ग रहेको स्थानीय विश्वास गर्छन् । यसको लागि उत्खनन् हुनु जरुरी छ । पूर्व–पश्चिम लोकमार्ग निर्माणकालमा पनि सुरुङ भेटिएको कतिपयको कथन छ ।

    स्थानीय बासिन्दा विनोद गौतमका अनुसार २०३८ आश्विन १३ को विनासकारी बाढीले यो गढीको पश्चिम मोहडामा क्षती पुर्याएको रहेछ । अहिले पनि त्यसको अवशेष देख्न सकिन्छ ।

    गर्विलो विगत
    नेपालको अखण्डता र स्वतन्त्रता रक्षाको लागि यो किल्लाको भूमिका अतुलनीय छ । विश्भरी दिग्विजय गरेको बादशाह अन्ततः यही गढीमा नराम्ररी धुलो चाट्न विवश भयो । कर्णेल उजिरसिंहको कुशल नेतृत्व, वीरता र उनका सिपाहीहरूको बलिदानका कारण यो जित सम्भव भएको थियो ।

    नेपाल विक्रमाब्दको १८०० देखि एकीकरणको अभियानमा थियो । सुरुमा यसको नेतृत्व पृथ्वीनारायण शाहले गरेका थिए । यही समयमा साम्राज्यवादी अङ्ग्रेज पनि इष्ट इन्डिया कम्पनीको नाममा भारतीय उपमहाद्विपमा फैलिइरहेको थियो । त्यसैले नेपाल एकीकरण विस्तारवादी अङ्ग्रेजलाई सैह्य भएन । उसले पाल्पा कब्जा गर्न निहुँ खोज्न थाल्यो । यो जितगढीमा सर गरी कुमाउँ, गढवाल जितेर सतलजसम्म पुगेको नेपाललाई छिन्नभिन्न पार्न अङ्ग्रेजको रणनीति थियो । साम्राज्यवादी कम्पनी सरकारलाई चीनसँग व्यापार गर्न नेपालको बाटो आवश्यक थियो । नेपालको समशीतोष्ण जलवायु, चिया खेतीको लागि मलिलो माटो समेतले लोभ बढेको थियो ।

    यसैक्रममा अङ्ग्रेजले वि. सं. १८७० फागुन २७ (११ मार्च १८१४) मा बुटवल, स्यूराज र रौतहटका २२ गाउँ २५ दिनभित्र खाली गर्न अल्टिमेटम दियो तर नेपालले सो धम्कीको वास्ता नगरी देश सुरक्षाको लागि तयारी गर्न थालेपछि वि. सं. १८७१ कार्तिक १७ गते अङ्ग्रेज गभर्नर लर्ड हेस्टिङले युद्धको घोषणा गरे (हुसेन, सन् १९७०ः ३६; बाँनिया, २०७०ः ४१; नेपाली, २०७६ः ९२, ९७) । अङ्ग्रेजको धम्कीको सामना गर्न नेपालले पनि तयारीमा जुट्न थाल्यो । आधुनिक हातहतियारले सुसज्जित, साधन सम्पन्न, प्रविधी र धन सम्पन्न अङ्ग्रेज विरुद्धको युद्ध असमान बीचको युद्ध थियो । मुलुकको रक्षार्थ पूर्वदेखि पश्चिमसम्म सरकारले तयारी गर्न कसर बाँकी राखेन । यसैक्रममा पाल्पा क्षेत्रको तैनाथवाला कलिलो उमेरका उजिरसिंह थापा नियुक्त भए । उजिरसिंह थापाले १८७१ मार्ग शुदि ४ मा बुटवलबाट लेखेको अर्जिपत्र, परिशिष्ट सं. १ का अनुसार अङ्ग्रेजले आक्रमणको केन्द्र बुटवललाई बनाएपछि नेपालले पनि उजिरसिंहको नेतृत्वमा सैनिक शक्ति मजबुत बनाउन, उनले त्यहाँ नयाँ सबुज कम्पनी खडा गरी नयाँ जवान भर्ना र तिनीहरूलाई खान्गी प्रदान गर्न, सो कामका लागि नपुग रकम जुटाउन समेत आदेश र अख्तियारी दिइएको थियो ।

    ऐतिहासिक दस्तावेज अनुसार यहाँ दुईपटक इष्ट इन्डिया कम्पनी सरकारसँग आमने सामने भयो । दुवैपटक रणकौशल, वीरता र राष्ट्रप्रेमका साथ लडेका सपुतहरूले विजय प्राप्त गरे । देशको शीर उँचो राख्न सफल भए ।

    पहिलो आक्रमण मेजर जनरल जोन सुलिभान उडको नेतृत्वमा वि. सं. १८७१ पौष वदी ८ (३ जनवरी १८१५) भयो । उडको कमाण्डमा २१ कम्पनी फौज सेमरा मुकामबाट तिनाउको किनारै–किनार गढीको ५० गज नजिकै घमासान युद्ध भयो । यस युद्धमा शत्रु पक्षको २४ जवान मारिए र १०४ जवान घाइते भए (शर्मा, २०३३ः २६४) । नेपालीले ब्रिगेड मेजर कप्तान हैट र इञ्जियर लेफ्टिनेन्ट मोरिसनलाई गम्भीर घाइते बनाए । साथै नुवाकोटमा १२,००० सैनिक रहेको हल्ला चलेकोले उड अगाडी बढ्न सकेनन् र पराजित भई पछाडि हटे ।

    पहिलो शमरमा चित खाएपछि अङ्ग्रेज अर्को युद्धको तयारीमा लाग्यो । वि. सं. १८७२ बैशाख पहिलो हप्तामा पुनः युद्ध छेडियो । यस युद्धमा अङ्ग्रेजतर्फ २ वटा अठार पाउण्डर गन, ४ वटा मोर्टार, २०० घोडचढी फौज र इन्फेन्ट्री फौज २४ कम्पनी थियो । यस्तो परिस्थितिमा अङ्ग्रेज फौज हौसिएर खस्यौलीबाट गोला वर्षा गरी फूलवारी दरवार ध्वस्त बनाएका थिए । गोलावारीको प्रतिकार नभएपछि हौसिएका कम्पनी फौज तिनाउ तरेर जितगढी कब्जा गर्न अघि बढे । तिनाउको बीचमा आइपुगेका सैनिकमाथि एक्कासी गढीबाट गोलाबारी चल्दा आत्तिएर भागदौड मच्चियो । आफ्नो फौजमा आएको निराशा र छटपटि देखेपछि उडले धेरै क्षति हुने देखि आफ्नो फौजलाई पछि हट्न निर्देशन दिए । ( बाँनिया, २०७०ः १४; पेम्वल, सन् १९७१ः २३५) । यसरी दोस्रो पटक पनि अङ्ग्रेज सेना पिठ फर्काउन बाध्य भयो । यस गढीको विजयको कारण साम्राज्यवादी अङ्ग्रेजले नेपालको स्वतन्त्रता र अखण्डता हडप्न सकेन् । यो हारपछि मेजर जनरल जोन सुलिभान उडको कोर्ट मार्शल भएको ज्ञात हुन्छ ।

    विजय उत्सव र जात्रा
    यो युद्ध हुनुभन्दा पहिले कर्णेल उजीरसिंह थापाले युद्धमा विजयको कामना गर्दै तानसेन भगवतीको मूर्ति सामु भाकल गरेका थिए (देवकोटा, २०३२ः १६) । समर विजयपछि तानसेनको मध्य भागमा तीनतले मन्दिर बनाइ श्री ७ रणउजेश्वरी भगवतीको अष्टधातुको मूर्ति स्थापना गरेर कृष्ण जन्माष्टमीको दिन विजय यात्रा मनाउने चलन १८७२ देखि नै परम्परा बसालेको पाइन्छ ।

    अङ्ग्रेज सेनालाई नेपाली सेनाले दोस्रो पटक वैशाख ७ का दिन पराजित गरी विजय प्राप्त गरेको दिन ठहर भएकाले उक्त दिन बुटवल उपमहागरपालिकाबाट हर्षोल्लास सहित स्थानीय विदा गरी विजय उत्सव मनाउने निर्णय अनुसार विजय उत्सव मनाउन थालिएको छ । २०७५ वैशाख ७ गते सुरु भई प्रत्येक वर्ष वैशाख ७ मा विजय उत्सव मनाइन्छ । वीरतापूर्ण बिगतको सलाम गर्दै हामी पनि यस्ता जात्रा र उत्सबमा सहभागी बनौँ । वीर पूर्खाको योगदान स्मरण गर्ने संस्कार विकास गरौँ । सहादत प्राप्त गर्ने साहसी पूर्खाको चिर स्मरण गरौँ ।

    सन्दर्भ सामग्री
    १) घिमिरे, डा. विष्णुप्रसाद (२०५६), पाल्पा राज्यको इतिहास भाग २, चितवनः चितवन अध्ययन केन्द्र
    २) नेपाली, चित्तरञ्जन (२०७६), जनरल भिमसेन थापा र तत्कालीन नेपाल, काठमाडौँः रत्न पुस्तक
    ३) बस्न्यात, डा. पे्रमसिंह (२०७१), नेपाल–अङ्ग्रेज युद्धको २०० वर्ष, काठमाडौँः ब्रदर बुक्स
    ४) बानियाँ, डा. कर्णबहादुर (२०७०), नेपालको इतिहासमा उजीरसिंह थापाको योगदान, पाल्पाः धवल पुस्तकालय
    ५) बानियाँ, डा. कर्णबहादुर (२०७०), पाल्पाको इतिहास र संस्कृति, पाल्पाः पुरकोट सेन समाज
    ६) श्रेष्ठ, निर्मल, अन्नपूर्ण पोष्ट (२०७४।०१।२३)
    ७) शर्मा, जनकलाल (२०५८), हाम्रो समाज : एक अध्ययन, काठमाडौँः साझा
    ८) शर्मा, बालचन्द्र (२०३३), नेपालको ऐतिहासिक रूप–रेखा, वाराणसीः कृष्णकुमारी देवी
    ९) शर्मा, डिल्लीराज (२०५५) नेपालको किल्ला वास्तुकला, काठमाडौँ: नेपाल र एसियाली अनुसन्धान केन्द्र
    १०) देवकोटा, कृष्णचन्द्र (२०३२), ऐतिहासिक भगवती जात्रा, तानसेनः श्रेष्ठ न्यूज
    ११) पङ्गेनी, भवेश्वर (२०६५), पाल्पा गौँडाको प्रशासनका दुई दशक (वि. सं. १८६१–८१), काठमाडौँः श्रद्धा स्रष्टा

    तस्विरहरु : लेखक

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.