सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ


  •    न्युजभित्तो/२८ भाद्र २०८३, आईतवार १३:३१ 
  • सजना तिमल्सिना 

    ललितपुर, २८ भदौ । देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ । हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ भित्रिने र काठमाडौँबाट खाली सवारीसाधन कान्ति लोकपथ हुँदै हेटौँडा पुग्ने व्यवस्था गरिएको छ  ।

    धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्गको काठमाडौँ–मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध छ । वैकल्पिक ‘ट्र्याक’ खुले पनि सञ्चालन र यातायात सहज बन्न अझै समय लाग्ने देखिन्छ । यो सङ्कटको  सारथि कान्ति लोकपथ बनेको छ ।

    ललितपुर र मकवानपुरलाई जोड्ने यो सडकको प्रस्थान विन्दु ललितपुरको गोदावरी नगरपालिका–६ टीकाभैरव हो । टीकाभैरव पुग्न चक्रपथ ललितपुर खण्डको चापागाउँ दोबाटो र एकान्तकुनाबाट नक्खु करिडोर हुँदै दुईवटा सडक प्रयोग गर्न सकिन्छ । अहिले उपत्यकाबाट बाहिरिने सवारीसाधन एकान्तकुना हुँदै टीकाभैरव पुगेर कान्ति लोकपथबाट हेटौँडा जाने गरेका छन् ।

    ललितपुर जिल्ला गोदावरी नगरपालिका–६ टीकाभैरवदेखि मकवानपुरको भीमफेदी गाउँपालिकासम्म पुग्न विभिन्न ठाउँमा पहिरोको अवरोध सामना गर्नुपर्छ । कान्ति लोकपथ योजनाका सुपरभाइजर माधवप्रसाद घिमिरेका अनुसार गोदावरी गाउँपालिकाको बिर्खेधारासँगै  बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ । भालुखोला, कार्कीबास, काल्चे, भन्सेखोलाको पहिरो र एकतर्फी ट्र्याकका कारण सवारी आवागमनमा समस्या छ । सुपरभाइजर घिमिरे भन्नुहुन्छ, “बागमती गाउँपालिका–३ का भालुखोला, कार्कीबास, छपेली नजिकैको काल्चे पहिरो, टाकुर्से र पाङ्दुर यो सडकका प्रमुख अवरोध हुन् । भान्से खोलामा एकतर्फी ट्र्याक भएकाले ठूला सवारीसाधन केही समय लाइनमा बस्नुपर्ने बाध्यता छ ।”

    बागमती गाउँपालिकाकै  पाङदुरमा ८०० मिटर पार गर्न २५ मिनेटदेखि आधा घण्टा समय लाग्छ । “अहिले यस राजमार्गमा १२, १४ र १६ चक्के  गाडी दैनिक दुई हजार ५०० देखि तीन हजार गुड्छन् । त्यसले रातभर पुरेको सडक दिनभरमा फेरि भत्किसकेको  हुन्छ,” लोकपथको समस्या सुनाउँदै सुपरभाइजर घिमिरे भन्नुहुन्छ । बागमती गाउँपालिकाको तामाखानीमा चट्टान काट्न नसक्दा ६५ मिटर बाटोमा ठूलो समस्या छ । चट्टानको कटानको काम जारी रहेकाले यहाँ सवारीसाधनले थोरै बाटो पार गर्न धेरै समय कुर्नुपर्ने बाध्यता रहेको घिमिरेको भनाइ छ ।

    साँघुरो  र निर्माणाधीन सडक  भएकाले  ठूला बस सञ्चालनमा  समस्या  भएको उहाँ बताउनुहुन्छ ।  “ट्रक  र मालवाहक सवारीसाधन केही समय जाममा परे पनि समस्या  छैन तर ठूला रात्रि बस ठोक्किने समस्या धेरै छ । नियमित पहिरो जाने क्षेत्रबाहेक बाटो राम्रो भए पनि एकतर्फी सडक भएकाले जाममा बस्नुपर्छ । रात्रि बसका कारण मालवाहक सवारी साधन समस्यामा पर्ने गरेका छन”, सुपरभाइजर घिमिरे भन्नुहुन्छ ।

    सरकारले पृथ्वी राजमार्ग अवरुद्ध भएर काठमाडौँ उपत्यकालाई समस्या पर्दा मात्र कान्ति लोकपथलाई सम्झिने  भएकाले यो  सडकमा सधैँ समस्या भएको सुपरभाइजर घिमिरेको  अनुभव छ । “यो सडक योजनामा सुपरभाइजर भएर काम गरेको ११ वर्ष भयो । सरकारले आपत् वा सङ्कटमा मात्र यो सडक सम्झिन्छ । पछिल्लो समय यो सडक योजनाका लागि एकमुष्ट रु तीन अर्ब रकम आएको छ । योजनाअनुसार काम ७० प्रतिशत सकिएको छ तर पछिल्लो समय गाडीको चाप बढेर काम गर्न समस्या छ,” सुपरभाइजर घिमिरे  भन्नुहुन्छ ।

    चौबिस घण्टा ट्राफिक व्यवस्थापन, व्यापारमा मन्दी 

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लोकपथमा अवरोध भए तत्काल पन्छाउन २४ घण्टा हेभिइक्युपमेन्ट  राखिएको  छ । भट्टेडाँडा र टीकाभैरवमा हेभिइक्युपमेन्ट राखिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । सवारी चाप बढेसँगै  टाखेल,  ट्याक्सी पार्क, ढोलाहिटी, टीकाभैरव फूलबारी, टीकाभैरव बजार, तीनपाने र भट्टेडाँडामा ट्राफिक प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ ।

    “भदौ १० गते भोटेकोशीमा बाढी आउनुअघि दैनिक एक सयको हाराहारीमा सवारीसाधन गुड्ने यो सडकमा बाढीपछि सवारी चाप ह्वात्तै बढेको छ । एक दिनमै एक हजारदेखि एक हजार ५०० सम्म सवारी साधन गुडेको तथ्याङ्क छ”, प्रवक्ता सुवेदी भन्नुहुन्छ । मालवाहक सवारीसाधन गुड्न थालेपछि यो सडकको व्यापारमा कमी आएको व्यापारीहरु बताउँछन् । कान्ति लोकपथअन्तर्गत छपेलीमा होटल व्यवसाय गर्ने प्रमिला दाहाल भन्नुहुन्छ, “अहिले यो बाटोमा सबै खाली गाडी गुड्छन् । ठूलाठूला गाडी त गुडेका छन् तर व्यापार छैन । एकछिन गाडी रोक्दा जाम हुन्छ । एउटा गाडीमा चालक मात्र हुन्छ । के व्यापार हुनु १” यात्रुसहितका साना सवारीसाधन कान्ति लोकपथ हुँदै गुड्दा दैनिक २०० जनालाई खाना खुवाउने उहाँ अहिले पाँच÷दश जनाले मात्र खाना खाने गरेको सुनाउनुहुन्छ ।

    ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धरत्न महर्जन सरकारले केही दिनअघि कान्ति लोकपथलाई प्राथमिकता नदिएको भन्दै आपत्ति जनाउनुभएको थियो । उहाँले  सङ्कट पर्दा मात्र नभएर राज्यले यस्ता राजमार्गलाई सक्षम र उपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । प्रतिनिधि सभाको बैठकको शून्य समयमा धारणा राख्दै सांसद महर्जनले भन्नुभयो, “राष्ट्रिय राजमार्गका रुपमा रहेको यस सडकलाई राज्यले सामान्य अवस्थामा पर्याप्त प्राथमिकता दिएको देखिँदैन तर जब विपत्ति आउँछ र मुख्य सडक अवरुद्ध हुन्छ तब त्यही सडकलाई वैकल्पिक सडकका रुपमा खोल्नुपर्ने  अवस्था आउँछ । सङ्कट पर्दा मात्र सम्झिने होइन,  सङ्कट आउनु अगाडि नै यस्ता मार्गलाई सक्षम र सुरक्षित बनाउनु राज्यको दायित्व हो ।”

    सत्तरी वर्षे इतिहास बोकेको राजमार्ग

    ललितपुर र मकवानपुरलाई जोड्ने ऐतिहासिक कान्ति लोकपथ काठमाडौँ उपत्यका जोडिने सात दशक पुरानो सडक मार्ग हो । विसं २०१३ देखि निर्माण थालिएको यो सडक २०१४ माघ ९ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गर्नुभएको थियो । ट्र्याक खुलेपछि २०१६ सालमा तत्कालीन राजा महेन्द्र आफैँ यो मार्ग भएर गाडी चलाउँदै हेटौँडा पुग्नुभएको थियो । सोही वर्ष आएको पहिरोपछि यो सडक खण्ड करिब ४० वर्षसम्म पूर्ण रूपमा ठप्प बन्यो ।

    विसं २०५५ मा कोरिया सरकारले अनुदानमा कान्ति लोकपथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने प्रस्ताव अघि बढाएपछि २०५६ देखि डिपिआर डिजाइनको काम सुरु भएपछि यो सडकलाई सङ्कटको समयमा सम्झिने गरिएको छ । काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक राजमार्गका रूपमा २०६६ सालदेखि ‘कान्ति लोकपथ आयोजना’मार्फत पुनःनिर्माण विस्तार तथा स्तरोन्नति भएपछि यो सडक सञ्चालनमा आएको हो । सञ्चालनपछि विभिन्न ठाउँमा पहिरोले अवरोध गर्दा विभिन्न आर्थिक वर्षमा सडक विस्तारका लागि निरन्तर बजेट विनियोजन भएको छ ।

    कान्ति लोकपथको ५१ किलोमिटर मकवानपुर र ३८ किलोमिटर भाग ललितपुर जिल्लामा पर्छ । ८९ किलोमिटर सडकको अधिकांश भाग कालोपत्र भए पनि पहिरो र पहाड कटानको काम  भइरहेका विभिन्न ठाउँ गरेर करिब चार किलोमिटर सडक कच्ची छ । २०८१ सालको बाढीले बागमती खोलाको पुल बगाएपछि बेलिब्रिज जडान गरिएको छ । त्यसको भारवहन क्षमता र सुरक्षाको दृष्टिगत गर्दै मालवाहक खाली गाडीलाई मात्र यो सडकमा सञ्चालनका लागि अनुमति दिइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.