सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो


  •    न्युजभित्तो/५ असार २०८३, शुक्रबार १४:४० 
  • नारायणगढ (चितवन), ५ असार । चितवनस्थित सङ्घीय अस्पताल भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । निजी क्षेत्रका यहाँका दुई मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या थप बढेको अस्पतालले जनाएको छ ।

    देशको मध्यभागमा अवस्थित तथा सडक सञ्जालमार्फत अधिकांश क्षेत्रसँग सहज पहुँच भएकाले भरतपुर अस्पतालमा चितवनसहित आसपासका जिल्लाबाट दैनिक ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् । पछिल्ला दिनमा अस्पतालको बहिरङ्ग ९ओपिडी० सेवामा बिहानैदेखि अत्यधिक भीड हुन थालेपछि अस्पतालले पटकपटक सूचना जारी गर्दै सेवा दिनभर उपलब्ध रहने भएकाले बिहानै लाइनमा बस्न आवश्यक नरहेको जनाएको छ । 

    अस्पतालका अनुसार हाल दैनिक तीन हजारदेखि तीन हजार ५०० सम्म बिरामी ओपिडीमार्फत विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणका लागि आउने गरेका छन् । विशेषज्ञ सेवा, प्रयोगशाला, रेडियोलोजी तथा अन्य उपचार सेवाका कारण यहाँ बिरामीको सङ्ख्या निरन्तर बढिरहेको छ ।

    अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार ओपिडी टिकट बिहान ८ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म वितरण गरिँदै आएको छ भने ओपिडी सेवा बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुन्छ । तर धेरै सेवाग्राही बिहान ५ः०० देखि ६ः०० बजेदेखि नै टिकटका लागि लाइनमा बस्ने गरेका छन् । “बिहानको समयमा बिरामीको चाप धेरै हुन्छ, तर दिउँसो तुलनात्मक रूपमा कम भीड हुन्छ”, उहाँले भन्नुभयो, “सेवाग्राहीले हतार नगरी आफूलाई अनुकूल समयमा आएर सेवा लिन सक्नुहुन्छ ।”

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले पछिल्लो समय बिरामीको चाप निरन्तर बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक ओपिडीका बिरामी, कुरुवा, आफन्त तथा अन्य सेवाग्राही गरी करिब १० देखि १२ हजार जनाको आवतजावत हुने गरेको छ । “भरतपुर अस्पताल चितवनसहित मध्य नेपालकै प्रमुख रेफरल अस्पतालका रूपमा स्थापित हुँदै गएको छ”, उहाँले भन्नुभयो, “यसका कारण विभिन्न जिल्लाबाट थप बिरामी आउनेक्रम बढेको छ ।”

    उहाँले अधिकांश बिरामी स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार गराउन आउने भएकाले निजी अस्पतालमा बिमा सेवा बन्द भएपछि सरकारी अस्पतालमा बिरामीको चाप उच्च भएको बताउनुभयो ।

    मेडिकल सुपरिटेन्डेन्ट डा बगालेका अनुसार अस्पतालमा पहिलेको तुलनामा १५ देखि २० प्रतिशतभन्दा बढी बिरामी वृद्धि भएको छ । “हप्तामा दुई दिन सार्वजनिक बिदा हुँदा नै बिरामीको चाप धान्न मुस्किल थियो”, उहाँले भन्नुभयो, “अहिले थप बिरामी आउन थालेपछि व्यवस्थापन झन चुनौतीपूर्ण बनेको छ ।”

    उहाँले बिरामीको बढ्दो चाप व्यवस्थापनका लागि बहिरङ टिकटको सङ्ख्या निर्धारण गर्ने वा चिकित्सकलाई प्रोत्साहन गरी दुई सिफ्टमा सेवा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । भरतपुर महानगरपालिकासँग सहकार्य गरी नगर अस्पताल सञ्चालन गर्ने विषयमा छलफल अघि बढाइएको छ ।

    अस्पतालमा नागरिकको आकर्षण हुनमा स्वास्थ्य बिमा कार्यक्रम, विशेषज्ञ चिकित्सकको उपलब्धता, विशिष्टीकृत सेवाको विस्तार तथा आधुनिक उपकरणमार्फत उपचार र परीक्षण सुविधा थपिनु मुख्य कारण रहेको अस्पतालको भनाइ छ । बढ्दो बिरामी चापलाई मध्यनजर गर्दै अस्पतालले सेवा विस्तार, पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।

    अस्पतालमा विकास समितितर्फ ७२ जना विशेषज्ञ चिकित्सक, १० जना डेन्टल सर्जन, ६४ जना मेडिकल अधिकृत तथा स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, ल्याब टेक्निसियन, फार्मेसी सहायकलगायत अन्य प्राविधिक एवं कर्मचारी गरी कुल ७०७ जना कार्यरत छन् । 

    त्यस्तै, नेपाल सरकारतर्फ ४२ जना विशेषज्ञ चिकित्सक र छात्रवृत्ति कार्यक्रमअन्तर्गत २९ जना विशेषज्ञ चिकित्सक गरी ७१ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् ।

    यस्तै, २३ जना मेडिकल अधिकृत र छात्रवृत्ति कार्यक्रमअन्तर्गत १४ जना मेडिकल अधिकृत गरी ३७ जना मेडिकल अधिकृत छन् । चिकित्सकबाहेक नर्स, अन्य स्वास्थ्य प्राविधिक तथा प्रशासनतर्फ २५३ जना कर्मचारी नेपाल सरकारको दरबन्दीमा कार्यरत छन् । अस्पतालमा सुरक्षा गार्ड, सरसफाइ कर्मचारीलगायत करिब २०० जना जनशक्ति बाह्य कम्पनीमार्फत परिचालन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

    सिटीस्क्यान सेवा अवरुद्ध

    दैनिक करिब ५० जनासम्मले सेवा लिँदै आएको सिटीस्क्यान सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई भने समस्यामा परेको छ ।

    अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा केशव पौडेलका अनुसार नौ वर्ष पुरानो सिटीस्क्यान मेसिनको एक्स–रे ट्युब बिग्रिएपछि सेवा बन्द भएको हो । उहाँले भन्नुभयो, “सिटीस्क्यान मेसिनको मुख्य पार्ट नै ट्युब हो । यसले काम गर्न छाडेपछि सेवा सञ्चालन गर्न सकिँदैन । नयाँ ट्युब नेदरल्यान्ड्सबाट मगाउनुपर्ने भएकाले कम्तीमा दुई हप्ता लाग्ने जानकारी प्राप्त भएको छ ।”

    डा पौडेलका अनुसार निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ । यस्तो अवस्थामा सिटीस्क्यान मेसिन बिग्रिँदा बिरामीले आवश्यक सेवा प्राप्त गर्न थप कठिनाइ भोग्नुपरेको छ । अस्पतालले मेसिन मर्मत तथा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विभिन्न मितिमा भएका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
    संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ: मन्त्री पौडेल
    चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्नः राष्ट्रपति
    • अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका
    • देवघाटमा बाँदर आतङ्क नियन्त्रणका लागि दीर्घकालीन नीति ल्याउन माग
    • सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ
    • गाउँपालिकाको आफ्नै डोजर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.