सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी


  •    न्युजभित्तो/४ जेष्ठ २०८३, सोमबार ११:४९ 
  • गण्डकी, ४ जेठ । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गर्नुभएको थियो । 

    उहाँले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाउनुभएको थियो । अहिले औसतमा दैनिक २०० केजी तरबुजा बिक्री गरिरहनुभएको छ । उहाँका अनुसार प्रतिकेजी रु ६० का दरले दैनिक रु १२ हजारको कारोबार भइरहेको छ । बरालका अनुसार यस वर्ष रु १५ लाख बराबरको कारोबार गर्ने लक्ष्य छ । “तरबुजाको बजारका लागि चिन्ता लिनुपर्दैन, व्यवसायीहरु बारीमै लिन आइपुग्नुहुन्छ”, उहाँले भन्नुभयो । 

    उहाँका अनुसार पहिलो वर्ष परीक्षणका रुपमा दुई रोपनीमा लगाएको राम्रो उत्पादन भएपछि खेती विस्तार गरिएको हो । वर्षमा एक बाली धानखेती मात्र हुने र बाँकी समयमा बाँझै रहने खेतमा छोटो समयमा राम्रो आम्दानी लिन सकिने नगदे बाली तरबुजाखेती गरेको उहाँले बताउनुभयो । 

    किसान भरतबहादुर पराजुलीले पनि सोही स्थानमा ११ रोपनी जग्गामा तरबुजाखेती गर्नुभएको छ । उहाँका अनुसार फागुन अन्तिम साता सारेका बेर्नाले अहिले उत्पादन दिन थालेका छन् । उहाँले भन्नुभयो, “यस वर्ष रु तीन लाखभन्दा बढी आम्दानी हुने विश्वास छ । बारीमा काक्रो, सिमीलगायतका तरकारी पनि उत्पादन भइरहेको छ ।”

    उहाँका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाले बीउ र ‘मल्चिङ’ प्लाष्टिक ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । बिरुवा फष्टाउँदै गर्दा चैत १७ गते र फूल खेल्दै गर्दा गत वैशाख १० गते परेको असिनासहितको पानीले केही क्षति गरेको उल्लेख गर्दै किसान पराजुलीले भन्नुभयो, “अहिले बाँदरले खाने र मानिसले चोरी गरेर लैजाने समस्या पनि थपिएको छ ।”

    तरबुजाखेतीका लागि बलौटे माटो र बढी तापक्रमको आवश्यकता पर्ने उहाँको भनाइ छ । पोखरा महानगरपालिका–१३ का अध्यक्ष किरण बरालका अनुसार दुई वर्षअघि माटो परीक्षण गरी सुरु गरिएको तरबुजाखेतीमा यतिबेला युवा पनि आकर्षित भएका छन् । 

    यस क्षेत्रमा अघिल्लो वर्ष रु एक करोड ५० लाखको तरबुजा उत्पादन भएको थियो भने यस वर्ष भने असिना र पानीको कारण क्षति पुगेकाले केही कमी आउने उहाँको भनाइ छ । यस क्षेत्रमा २५ जना किसान व्यावसायिकरुपमा तरबुजाखेतीमा सक्रिय हुनुहुन्छ । 

    पोखरा महानगर, कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार महाशाखाले कृषकलाई कृषिप्रति प्रेरित गर्नका लागि विभिन्न सहुलियत प्रदान गर्दै आएको छ । तरबुजाखेतीका लागि पनि बीउ, मल्चिङ प्लाष्टिक, असिना छेक्ने जाली र प्राङ्गारिक मलमा ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको छ ।

    दोस्रो तरबुजा मेला

    तरबुजा र खरबुजाखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यही जेठ ५ गते पोखरा महानगरपालिका–१३ को वडा कार्यालय परिसरमा तरबुजा मेला आयोजना गर्न लागिएको छ । मेलामा किसानलाई सम्मान गरिने कृषि सञ्जाल पोखरा–१३ अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    मेलाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै मेलामा विभिन्न प्रतियोगिता गरिने बताउनुभयो । गर्मी बढेसँगै पोखरा बजारमा पर्यटकीय चाप बढेको र तरबुजाको माग बढेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ट्राफिक प्रहरीद्वारा एक हजार ९६२ जना कारबाहीमा
    अव्यवस्थित तार हटाइँदै
    कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान
    • कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी
    • बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
    • किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार
    • सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.