सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित


  •    न्युजभित्तो/३० बैशाख २०८३, बुधबार १३:४४ 
  • महोत्तरी, ३० वैशाख । यहाँका बस्तीबस्तीमा नीलगाई र बँदेलको सङ्ख्या बढेको छ । जिल्लाका मध्य र सुदूरदक्षिणी भेगका बस्तीबस्तीमा बँदेल र नीलगाई निकै बढेका हुन् ।

    आहाराको खोजीमा पूर्वपश्चिम राजमार्गका दायाँबायाँ वन क्षेत्रबाट तीनचार वर्ष पहिले मध्य र दक्षिणी भेग झरेका बँदेल र नीलगाईले अब तलतिरकै बस्ती आसपासका झाडी र घारीमा बच्चा जन्माउने र हुर्काउन थालेपछि जिल्लाका मध्य र सुदूरदक्षिणी भेगका बस्तीसम्म यिनको सङ्ख्या निकै बढेको स्थानीय बासिन्दाको भनाइ छ । अहिले जिल्लाको भारतीय सीमावर्ती बस्तीसम्मै नीलगाईका बथान र बँदेलका हुल देखिन थालेका भारतीय सीमावर्ती भेगका जिल्लावासी बताउँछन् ।

    “हाम्रो बस्ती वरपर नीलगाई र बँदेल निकै बढेका छन्”, नेपाल–भारत सीमा क्षेत्रसँगै जोडिएको जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डल भन्नुहुन्छ, “केही वर्ष पहिले यता झरेका नीलगाई र बँदेलले अब यतै बच्चा जन्माउने र हुर्काउने गरेपछि यिनको सङख्या निकै बढेको हो ।” वैशाख मध्यपछि हलक्क बढेको उखुघारी र नदीकिनारका काँसघारी यिनको बासस्थान हुने गरेको मण्डलको कथन छ ।

    जिल्लाको सुदूर दक्षिणपूर्वी जलेश्वर र मटिहानी नगरपालिका क्षेत्रमात्र नभई दक्षिणको मध्यवर्ती एकडारा, मनराशिश्वा एवं सुदूरदक्षिणपश्चिमवर्ती सम्सी र सोनमासहितका स्थानीय तहका बस्ती नजिक नीलगाईको बथान र बँदेलका झुण्ड देखिन्छन् । दिनभरि उखु र काँसघारीमा लुकेर रातभरि बालीनाली सखाप पार्ने बँदेल र नीलगाईको उपद्रवले आफूहरू हैरान भएको सम्सी–६ का ४० वर्षीय इम्तियाज अहमद बताउनुहुन्छ ।

    पछिल्ला चारपाँच वर्षदेखि वन क्षेत्रबाट निकै तल झरेका बँदेल र नीलगाई विस्तारै यतै रतिदै गएर मान्छेसँग डराउन छाडेका सर्वसाधारण बताउँछन् । “देखेर हाहो गर्दा हुलमा रहेका नीलगाई भाग्नसट्टा ठिङ्ग उभिएर मान्छेतिरै हेर्छन्, दुईचार जना जम्मा भएर लघार्दा बल्ल भाग्छन्”, रामगोपालपुर–२ महनपुरका ६० वर्षीय किसान कादिर हुसैन भन्नुहुन्छ, “यी जन्तुको डरले महिलाहरू बस्तीबाट अलि टाढाको खेतबारी हिँड्न पनि छाडेका छन् ।” नीलगाईले आक्रमण नै हम्मेसी नगरे पनि बँदेल लघार्न भने निकै डरमर्दो भएको यस भेगका किसानको भनाइ छ । यी सबै बस्ती पूर्वपश्चिम राजमार्ग दायाँबायाँको वन क्षेत्रबाट ३० देखि ४५ किलोमिटरको दूरीमा छन् ।

    मध्य वैशाखदेखि फागुनसम्म यिनको बास धेरैजसो उखुघारी रहने गरेको छ । मङ्सिरदेखि फागुन मसान्तसम्म उखु काट्ने बेला हुँदा यी जन्तु उखु नकाटिएको ठाउँ सर्दै बास बस्ने र चैतदेखि मध्य वैशाखसम्म नदीकिनारका काँसघारी, बुट्यानका झाडी र सघन वृक्षरोपण गरिएका ठाउँमा सर्दै बस्ने गरेका पाइएको भङ्गाहा–४ रामनगरका ८० वर्षीय दीपबहादुर फुँयाल बताउनुहुन्छ ।

    “अब यी जङ्गली जन्तु नै रहेनन्झैँ लाग्छ, यतै मजाले रतिएका छन्”, फुँयाल भन्नुहुन्छ, “दिनभरि खासै देखिँदैनन्, राति सधैँ रुङ्न सकिदैन, यिनको उपद्रोले राम्ररी कुनै बाली लिन पाइएको छैन ।” आफूले पछिल्ला पाँच वर्षयता भर्खर हुर्केकादेखि वयस्कसम्मका बँदेल बस्ती वरपर देखेको उहाँको भनाइ छ । भङ्गाहा–४ को यो बस्ती वन क्षेत्रबाट करिब २२ किलोमिटर दक्षिणमा छ ।

    वनक्षेत्रमा आहारा र पानीको अभावसँगै सिकारीको आखेटले तलतिर झरेका नीलगाई र बँदेलले यी बस्तीमा प्रशस्त हरियो बालीनाली भेट्टाएपछि वन बिर्संदै गएर यतै रमेका औरही–१ का चन्देश्वर यादवको भनाइ छ । यी वन्यजन्तुलाई लाठी देखाएर लघार्नभन्दा राती खेतबारीमा ठाउँठाउँमा राँको बाल्ने, बिजुलीको प्रबन्ध गर्ने र ठाउँठाउँमा पुतला बनाएर बाली लगाइएको खेतमा जान डराउने बनाउन सकिने उहाँको सुझाव छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ: बुर्लाकोटी
    छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो
    • मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल
    • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    • कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
    • समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.