सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सती घाटु’ नाच संरक्षण गर्दै बडिगाड र गलकोट


  •    न्युजभित्तो/२९ बैशाख २०८३, मंगलवार १२:४१ 
  • बलेवा (बागलुङ), २९ वैशाख । आधुनिकताले कयौँ परम्परा र संस्कृतिको लोप भइरहेका बेला बागलुङमा भने ‘सती घाटु’ नाच संरक्षण गर्न थालिएको छ ।

    तत्कालीन पर्वते राजा पर्शुराम र उनकी रानीको जीवनकथामा आधारित गीतिनाटक ‘सती घाटु’ नाच बागलुङको बडिगाड र गलकोटमा संरक्षण गर्न थालिएको हो । ‘सती घाटु’ नाचमा युद्धमा राजाले वीरगति प्राप्त गरेपछि रानीहरूले गर्ने विलाप, कारुणिक गीत र नृत्यमार्फत व्यक्त गरिन्छ । नृत्यका क्रममा गीतकै लयमा घाटुनीहरू लठ्ठिएर नाच्ने, आँखा बन्द गर्ने र ढल्ने गर्छन् । जसलाई पुनः गीतबाटै उठाइन्छ । बिहानदेखि सुरु हुने यो नृत्य मध्यरातपछि मात्र समापन हुन्छ ।

    निकै लामो समय, धेरै कलाकार र विषयवस्तुसमेत कठिन र परम्परागत भएकाले नयाँ पुस्तामा सहजै हस्तान्तरण हुन नसकेको यो नाच सांस्कृतिक सम्पत्तिका रुपमा संरक्षण थालिएको हो । पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको सिसाखानी र गलकोट नगरपालिकाको पाण्डखानी र रिघामा झण्डै ३०० वर्ष पुरानो ‘सती घाटु’ नाच प्रचलनमा छ ।

    बडिगाड गाउँपालिका–३ का वडाध्यक्ष खड्कबहादुर पुनका अनुसार, ‘सती घाटु’को गीत लेखन, पुस्तान्तरण तथा विधिबारे लिखित दस्तावेज तयार गर्ने योजना वडा कार्यालयले बनाएको छ । घाटुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार भइरहेको उहाँको भनाइ छ ।

    यस्तै गलकोट नगरपालिका–१० पाण्डवखानीमा पनि ‘सती घाटु’को दस्तावेजीकरण गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले तीन वर्षअघि अडियो रेकर्डका लागि सहजीकरण गरेको घाटु संयोजन गर्नुहुने स्थानीय गिरीप्रसाद थापाले बताउनुभयो । “तीन दिन लगाएर हामीले घाटु गीतको अडियो तयार गरेका छौँ, ‘सती घाटु’ संरक्षणको लागि अन्य काम पनि गर्ने योजना छ”, थापाले भन्नुभयो ।

    विगत १५ वर्षदेखि घाटु गाउन थाल्नुभएका गलकोट नगरपालिका–११ रिघाका नरबहादुर दर्जी मेला महोत्सवको बेला मात्र घाटु खोजिनुले संरक्षण नहुने तर्क गर्नुहुन्छ । घाटुकै लागि कुनै ठोस काम गर्न नसके पनि हरेक वर्ष घाटु प्रदर्शनका लागि वडाले सहजीकरण गरिरहेको रिघाका वडाध्यक्ष डम्बरबहादुर श्रीस तर्क गर्नुहुन्छ ।

    सती घाटु नाचको सुरुआत चैत्राष्टमीदेखि सुरु हुन्छ र दशरा तिथिमा गएर समाप्त हुन्छ । यद्यपि, यो तिथि असार महिनामा पर्ने र त्यति बेलासम्म गाउँघरमा कामको माचो सुरु भइसक्ने भएकाले आजकाल जेठको २० मा घाटु नाचको विधिवत् समापन गरिन्छ । बागलुङमा घाटु नाचको लिखित दस्तावेज नभए पनि अन्यत्रबाट साविकको सिसाखानी गाविसको सिसाखानी र पाण्डवखानी गाविसकोे तामाखानीमा काम गर्न आएका कामदारले बडिगाड र गलकोटमा ‘सती घाटु’ नाच प्रचलन ल्याएको स्थानीय अगुवा बताउनुहुन्छ ।

    घाटु गुरु कुलबहादुर भुजेलका अनुसार, ‘सती घाटु’ नाचको इतिहास हाल पाँचौँ पुस्तासम्म मात्रै थाहा पाउन सकिन्छ । “विसं १९७८ यताको पुस्ताले घाटु नाचेको जानकारी छ, त्यसअघिको कुनै जानकारी छैन”, घाटुगुरु भुजेलले भन्नुभयो । बडिगाड गाउँपालिका–४ जलजलाको झुलेडाँडाबाट सिसाखानीमा नाच्न थालिएको ‘सती घाटु’ अहिले जलजलाको झुलेडाँडामा भने लोप भइसकेको भुजेलले बताउनुभयो । झुलेडाँडाका घाटुगुरु सिसाखानी बसाई सरेपछि सिसाखानीमा ‘सती घाटु’ले निरन्तरता पाएको बताइन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.