सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै


  •    न्युजभित्तो/२९ बैशाख २०८३, मंगलवार १२:२८ 
  • दाङ, २९ वैशाख । तुलसीपुर उपमहानगरपालिका-१५  अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका  छन् । 

    अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछन् । 

    तुलसीपुर-१५ की ४४ वर्षीया स्यानी चौधरीले व्यावसायिक रूपमा तरकारीखेती गर्न थाल्नुभएको लामो समय बितिसकेको छ । उहाँले तरकारीखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई एक सफल महिला कृषकका रूपमा चिनाउनुभएको छ । 

    उहाँले मौसमी र बेमौसमी तरकारीसहित धनियाँ बिक्री गरेर वार्षिक रु चार लाखसम्म आम्दानी भइरहेको जानकारी दिनुभयो । आफूले उत्पादन गरेको धनियाँ र तरकारी बिक्री गर्न एकाबिहानै छिटुवा बोकेर तुलसीपुर बजारका घरघर पुग्नुहुन्छ । 

    यसपटक मौसमी धनियाँ बिक्रीबाट मात्र रु दुई लाख ५० आम्दानी भएको स्यानीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बेमौसमी तरकारीखेती र धनियाँखेती गरेकी छु । उत्पादन मनग्य छ, दिनहुँजसो बजारमा बिक्री गरिरहेकी छु ।”

    विसं २०५८ देखि यो पेसा अपनाएको बताउँदै स्यानीले १५ वर्षदेखि व्यावसायिक रूपमा खेती सुरु गरेको जनाउनुभयो । उहाँले हाल १० कट्ठा जमिनमा स्थानीय जातको बेमौसमी धनियाँखेती गर्नुभएको छ भने १० कट्ठा जमिनमा तरकारीखेती गर्नुभएको छ । 

    एक वर्षमा दुईपटक मौसमी र बेमौसमी तरकारीखेती गर्दैै आएको बताउने उहाँले धनियाँ प्रतिमुठा रु २० मा बिक्री गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार बोडी, भिन्डी, करेला प्रतिकिलो रु एकसय २० सम्म बिक्री हुन्छ । 

    तरकारी बेचेर भएको आम्दानीबाट स्यानीले गाउँमा १७ कट्ठा चार धुर जमिन जोडेको बताउनुभयो । हाल १० कट्ठामा धनियाँखेती र बाँकी जमिनमा बेमौसमी तरकारीखेती गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

    तुलसीपुर उपमहानगरपालिकाले तरकारी बिक्रीका लागि बनाइदिएको तरकारी केन्द्र बजारबाट टाढा रहेकाले त्यहाँ उपभोक्ता नजाँदा सडकमै बसेर बिक्री गर्नुपर्ने बाध्यता रहेको स्यानीले बताउनुभयो । 

    तुलसीपुर-१५ की ५५ वर्षीया रेखा चौधरी पनि व्यावसायिक रूपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले १५ कट्ठा जमिनमा टमाटर, काँक्रा, सिमी, भिन्डी, बोडीलगायत बेमौसमी तरकारीखेती गरिरहेको बताउनुभयो । उत्पादन गरेको तरकारी बिक्री गर्न दैनिकजसो बिहानै आफू तुलसीपुर बजारमा आउने गरेको उहाँले जानकारी दिनुभयो ।

    रेखाले भन्नुभयो, “पहिला हामीले धानखेती गर्दथ्यौँ, तर त्यसबाट मात्र मनग्य आम्दानी लिन नसकेपछि धानखेती छाडेर छ वर्षदेखि तरकारीखेती गरेका छौँ, दुःख भए पनि आम्दानी प्रशस्त हुन्छ । तर सडक छेउमा बसेर तरकारी बेच्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम छ ।” सडक छेउमा बसेर एक वर्षमा रु चार लाखसम्म आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो ।

    तुलसीपुर-१५ की ४० वर्षीया राजपति चौधरीले तरकारीखेतीमा रमाउँदै वार्षिक रु तीन लाख ५० हजारसम्म आम्दानी गरिरहनुभएको छ । उहाँले १४ कट्ठा जमिनमा व्यावसायिक रूपमा मौसमी र बेमौसमी तरकारीखेती गरेर आत्मनिर्भर बन्नुभएको छ । तरकारीखेतीबाटै भएको आम्दानीले दुई छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको उहाँले बताउनुभयो । 

    सामान्य लेखपढ गरेको बताउने राजपतिले यो पेसामा टिकाइराख्न महिलालाई तरकारीको उचित मूल्य र बजारीकरण, सुरक्षित बिक्री गर्ने स्थान तथा उन्नत जातको बीउ र कीटनाशक औषधि, तालिमको व्यवस्था आवश्य रहेको भन्दै  स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

    यी तीन महिला मात्रै होइन अकमी, धम्कापुर, मटेरा, मेटेरी, गोलौरी, पड्डालगायत गाउँका ५०० बढी थारु महिला तरकारीखेतीमार्फत आत्मनिर्भर बन्दै आउनुभएको छ । तरकारीखेतीबाटै आत्मनिर्भर बन्दै जानुभएका उहाँहरूमध्ये अधिकांशले दिनहुँ तुलसीपुरस्थित सीतलपुर चोकका सडक छेउमा बिहानैदेखि बसेर तरकारी बिक्री गर्दै आउनुभएको छ ।

    तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले अकमी, धम्मकापुर, तथा आसपास क्षेत्रमा रहेका छ वटाभन्दा बढी गाउँका सयौँ थारु महिला तरकारीखेतीमार्फत आत्मनिर्भर बन्दै गएका बताउनुभयो । उहाँले उपनगरपालिकाभित्र तरकारीखेती गर्ने सबै कृषकद्वारा उत्पादित तरकारीको उचित मूल्य प्राप्त गर्न, बजारीकरणका लागि आफूहरू गम्भीर रहेको बताउनुभयो । 

    उपप्रमुख चौधरीले तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको तरकारी बजार केन्द्रमा विभिन्न गाउँबाट तरकारी बिक्री गर्न आउने किसानका लागि बिहान ५ः०० बजेदेखि ७ः०० बजेसम्म समय छुट्याइएको बताउनुभयो । सो स्थान निःशुल्क रूपमा प्रदान गरिएको उहाँको भनाइ छ ।

    “ग्राहक त्यस ठाउँमा आउन मान्दैनन् भन्ने किसानको गुनासो आएपछि हाललाई तुलसीपुर क्षेत्रका विभिन्न तीन ठाउँमा किसानलाई सडक छेउका फुटपाथमा सुरक्षित भएर तरकारी बिक्री गर्न अनुमति दिएका छौँ”, उपप्रमुख चौधरीले भन्नुभयो । 

    यसैगरी, उहाँहरूलाई दिसापिसाव गर्न केही असहज भएकाले आसपासका होटेल तथा पसलका शौचालय प्रयोगका लागि उपमहानगरले समन्वय गरिरहेको जानकारी दिनुभयो । उपमहानगर क्षेत्रका  धेरै किसान तरकारीखेतीमा आकर्षित भई आत्मनिर्भरतर्फ उन्मुख भइरहेकाले उपमहानगरले आवश्यक समन्वय र सहजीकरण गरिरहेको उहाँको भनाइ छ । विशेषगरी तरकारीखेतीले गर्दा महिलालाई आर्थिक रूपमा सक्षम बनाउन मद्दत पुगेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.