सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी


  •    न्युजभित्तो/१४ बैशाख २०८३, सोमबार १६:५४ 
  • लिस्बन (पोर्चुगल), १४ वैशाख । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली यहाँ स्वयंसेवी अग्निनियन्त्रक (बोम्बेइरो)बन्न सफल भएका छन् ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ४२ वर्षीय धरमराज भण्डारी यहाँ पहिलो नेपाली अग्निनियन्त्रक बन्न सफल हुनुभएको हो । करिब डेढ वर्ष लामो अग्निनियन्त्रण, आपतकालीन सेवा तथा उद्धारसम्बन्धी कोर्स र कठिन तालिम पूरा गरेपछि उहाँ स्वयंसेवी अग्निनियन्त्रक बन्नुभएको हो । 

    तालिमपश्चात् आवश्यक प्रक्रिया पूरा गरेर भण्डारी सेतुबाल जिल्लाको मोइता नगरपालिकाअन्तर्गत रहेको ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’ मा आबद्ध हुनुभएको हो । उक्त संस्थाले केही साताअघि औपचारिक समारोहका बीच उहाँलाई अन्य पाँच नयाँ अग्निनियन्त्रकसँगै सेवामा प्रवेश गराएको थियो ।

    समारोहमा नवनियुक्त अग्नि नियन्त्रकहरूले संस्थाको झण्डासामु शपथ ग्रहण गर्दै सम्मान, कर्तव्यबोध र जिम्मेवारीका साथ समुदायको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    भण्डारीले स्वयंसेवी अग्नि नियन्त्रक बन्न पाउँदा आफूलाई अत्यन्त खुसी र गर्व लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी भूमिमा मानवीय सेवासँग जोडिन पाउनु एउटा नेपालीका रूपमा गर्वको कुरा हो । पोर्चुगलले हामीलाई धेरै दिएको छ, त्यसैले हामीले केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले यो सेवामा जोडिएको हुँ । यसलाई आत्मसन्तुष्टि र सौभाग्यका रूपमा लिएको छु ।”

    भण्डारीका अनुसार यो सेवा पूर्ण रूपमा स्वयंसेवी हो र यसमा कुनै पारिश्रमिक वा सुविधा हुँदैन । “यो विशुद्ध सामाजिक र मानवीय सेवा हो, जसले छुट्टै सन्तुष्टि दिन्छ”, उहाँले भन्नुभयो । 

    भण्डारीको यो यात्रा भने सहज थिएन । सुरुआतमा उहाँले धेरै संस्थामा अग्नि नियन्त्रणका लागि आवेदन दिए पनि अस्वीकृत हुनुपरेको थियो । अग्नि नियन्त्रक बन्ने चाहना व्यक्त गर्दा धेरैले अचम्म माने पनि अन्ततः ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’ ले आफूलाई अवसर दिएको भन्दै उहाँले धन्यावाद दिनुभयो । 

    “नियुक्ति प्रक्रियाकै क्रममा विदेशी नागरिकलाई अग्नि नियन्त्रक बनाउन नहुने भन्दै उजुरीसमेत परेको थियो, तर प्रशासनले उक्त उजुरी अस्वीकार गर्दै नियुक्ति दिएको छ”, भण्डारीले भन्नुभयो, “तालिममा सहभागी भएका २२ जनामध्ये छ जना मात्र छनोट भएका छौँ । जसमा म मात्र एसियाली क्षेत्रको हुँ ।”

    उहाँको शपथ ग्रहण समारोहमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यस क्रममा राजदूत पौडेलले भण्डारीको उपलब्धिले नेपाल र नेपाली समुदायको गौरव बढाएको बताउनुभयो । “यो उपलब्धि सम्पूर्ण नेपाली समुदायका लागि प्रेरणादायी छ । यसले पोर्चुगलमा नेपालीहरूको सकारात्मक छवि अझ मजबुत बनाएको छ”, उहाँले भन्नुभयो । 

    लामो समय अरब मुलुकहरूमा काम गरेपछि पाँच वर्षअघि पोर्चुगल पुग्नुभएका भण्डारीले सुरुमा रेस्टुरेण्टमा काम गरेको सुनाउनुभयो । पछि एउटा कम्पनीमा ‘मेकानिक्स’ का रूपमा काम सुरु गरेपछि सामाजिक सेवामा संलग्न भएको उहाँको भनाइ छ । 

    पोर्चुगलको अग्नि नियन्त्रण सेवा सरकारी तथा स्वयंसेवी दुवै संरचनामा आधारित छ । यसले आगलागी नियन्त्रणका साथै आकस्मिक चिकित्सा सेवा, एम्बुलेन्स सेवा, सवारी दुर्घटना, बाढी तथा प्राकृतिक विपद्का बेला उद्धार र राहत कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

    भण्डारी हाल परिवारसहित पोर्चुगलमा बसोबास गर्दै आउनुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ: बुर्लाकोटी
    छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो
    • मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल
    • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    • कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
    • समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.