सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु


  •    न्युजभित्तो/१६ चैत्र २०८२, सोमबार ११:५२ 
  • इलाम, १६ चैत । सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको छ । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर)को सहकार्य तथा हेल्वेटास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सुरु गरिएको नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो ।

    “विद्यार्थीलाई कामको संसारबारे जानकारी गराउने, उनीहरूलाई आफ्नो रुचि, क्षमता र सम्भावनाअनुसार पेसा वा व्यवसाय छनोट गर्न प्रेरित गर्ने तथा व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई कामप्रतिको सम्मानको भावना विकास गराउनुका साथै भविष्यमा रोजगारीका लागि आवश्यक पर्ने व्यावहारिक तथा प्राविधिक सीपका बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको हो ।”

    नगरपालिकाभित्रका आठ विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीका लागि कार्यक्रम भइरहेको छ । “बौद्धधाम, कृष्णाश्रम, सिंहदेवी, फिक्कल, कर्फोक, जनक, सरस्वती र ज्योति माद्यमिक विद्यालयका विद्यार्थीलाई यो अभियानमा सहभागी गराइएको छ ।” शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले भन्नुभयो, “यस कार्यक्रमले विद्यार्थीलाई कामको संसार, विभिन्न पेसा तथा रोजगारीका अवसर, उद्योग तथा कम्पनीको कार्यप्रणालीलगायतका विषयमा व्यावहारिक जानकारी प्रदान गर्ने लक्ष्य छ ।”

    कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्योग तथा व्यवसायको भ्रमण, स्थानीय व्यवसायी तथा विज्ञहरूसँग अन्तक्र्रिया, प्रेरणादायी अनुभव आदानप्रदान, बायोडाटा लेखन, अन्तर्वार्ता तयारी, प्रभावकारी सञ्चार सीप तथा उद्यमशीलता विकाससम्बन्धी विभिन्न गतिविधिमा सहभागी गराइने सामाजिक विकास समिति संयोजक डिकबहादुर बम्जनले बताउनुभयो । यसबाट विद्यार्थीलाई विद्यालयमा प्राप्त हुने सैद्धान्तिक शिक्षासँगै व्यावहारिक अनुभव पनि प्राप्त हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

    सहयोगी संस्था इन्स्योरका प्राविधिक अधिकृत रिसु श्रीवास्तवाका अनुसार यस्तो कार्यक्रमले विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र सम्भावनाअनुसार भविष्यको करिअर निर्धारण गर्न सहयोग पुर्याउनेछ । साथै विद्यार्थीमा उद्यमशील सोचको विकास गर्दै रोजगारी सृजना गर्न सक्ने क्षमताको विकास गर्ने विश्वास गरिएको छ ।

    विद्यालयस्तरमै विद्यार्थीहरूलाई कामको वास्तविक संसारसँग परिचित गराउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीको सोच, दृष्टिकोण तथा भविष्यप्रतिको तयारीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको कर्फोक क्याम्पसका प्रमुख गोपाल कट्टेलले बताउनुभयो ।

    चौधवटा वडा रहेको पूर्वी पहाडकै ठूलो नगर सूर्योदयमा सामुदायिक, गुरुकुल र गुम्बा गरी ६६ विद्यालय छन् । नगरमा ३१ संस्थागत र गुठीबाट सञ्चालित एक विद्यालय छन् । नगरले आधारभूत तथा माध्यमिक शिक्षा ऐन–२०७६ तयार गरी लागू गरेको छ । “नगरका सबै आधारभूत तहका सामुदायिक विद्यालयमा नेपाली र अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको छ ।” नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले भन्नुभयो, “सबै विद्यालयमा इन्टरनेट, कम्तीमा एउटा कम्प्युटर र प्रिन्टर व्यवस्था गरिएको छ । तर, कागज प्रयोग निरुत्साहित गरिँदै छ ।”

    नगरले ल्याएको ‘१२ महिना–१२ कार्यक्रम’अनुसार हरेक महिना शिक्षक र विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ । स्थानीय पाठ्यपुस्तकका रूपमा ‘हाम्रो सूर्योदय’ अहिले कक्षा १ देखि ५ सम्म पढाइ भइरहेको छ । नगरले विद्यालयका लागि आर्थिक व्यवस्थापन कार्यविधि कार्यान्वयन गरेको छ भने विद्यालय कार्यसम्पादन निर्देशिकासमेत लागू गरिएको भुजेलको भनाइ छ । गणितको नतिजा सुधार्न नगरले ‘गणितसँग खेलौँ, गणितीय धारणा बनाऔँ’ अवधारणासहित छुट्टै अभ्यास पुस्तिकासमेत वितरण गरेको छ । विज्ञान र गणित एकीकृत रूपमा शिक्षण गर्न माध्यमिक विद्यालयमा विज्ञान र आधारभूतमा गणित प्रयोगशाला स्थापना गरिएको छ ।

    गरिब तथा जेहेन्दार बुहारी र छोरीहरूलाई नगरले स्नातक तहमा छात्रवृत्ति दिएको छ । नगरका २४ सामुदायिक विद्यालयमा ई–हाजिरी जडान भई नगरबाटै अनुगमनको व्यवस्था मिलाइएको छ । अभिभावकलाई समेत परिचयपत्र व्यवस्था गरिएको छ । वर्षमा कम्तीमा चार पटक विद्यालय गएर पठनपाठन र शैक्षिक अवस्थाबारे अभिभावकले पनि अन्तक्र्रिया गर्ने गरेका छन् । धुलोरहित कक्षाकोठा, बालमैत्री र अपाङ्गमैत्री संरचना निर्माण भइरहेको छ भने शिक्षक–कर्मचारीलाई श्रम ऐनअनुसार सुविधा उपलब्ध गराउन नगरले प्रोत्साहन रकम नै थपेको छ ।

    विद्यालयमा बालबालिका टिकाउन र बचत गर्ने बानी विकास गर्न बैंकमा कक्षा १ देखि ५ सम्मका बालबालिकाको बचत खाता खोलिएको छ । नगरले समेत थपिदिने बचत रकमले बालबालिकालाई उच्च शिक्षा अध्ययनका लागि सहयोग पुर्याउने लक्ष्य राखिएको नगर कार्यपालिका सदस्य लत्ता अधिकारीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.