सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा


  •    न्युजभित्तो/९ चैत्र २०८२, सोमबार १६:४७ 
  • चितवन, ९ चैत । मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ । हवाई यात्रा महँगो र असुरक्षित भएपछि  नेपाल घुम्न आउन लागेका धेरै पर्यटकले यात्रा रद्द गरेका छन् । 

    भारत, चीन र अष्ट्रेलियाबाहेकका देशबाट यहाँको सौराहा क्षेत्रमा घुम्न आउने पर्यटकले यात्रा रद्द गरेको व्यवसायीहरू बताउँछन् । विगतका वर्षमा यतिबेला सौराहाका होटलहरू ८० प्रतिशत हाराहारी भरिने गरेको व्यवसायी बताउँछन् । उनीहरूको भनाइमा यस वर्ष यतिबेला २० प्रतिशत हाराहारी मात्र पर्यटक आएका छन् । निर्वाचनका कारण १५ दिन प्रभावित बनेको सौराहाको पर्यटन क्षेत्रमा त्यसलगत्तै मध्यपूर्वको द्वन्द्वको प्रभाव परेको हो ।

    क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउनुभयो । विगतका वर्षहरूमा यतिबेला होटलका ८० प्रतिशत कोठा भरिने गरेको भन्दै उहाँले यस वर्ष २० प्रतिशत हाराहारी मात्र कोठा भरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “द्वन्द्व भएका मुलुक बाहेकका देशहरूबाट पनि पर्यटकहरूले बुकिङ रद्द गरेका छन् ।” यो बेलामा चितवन राष्ट्रिय निकुञ्जमा ढड्डीहरू फाँडेर टाढासम्म देखिने भएकाले सजिलै वन्यजन्तु हेर्न सकिन्छ । “ठूला एजेन्सीहरूले अधिकांश बुकिङ रद्द गरेका छन्”, उहाँले भन्नुभयो, “आकाश असुरक्षित भएपछि को घुम्न आउँछ र ?”

    सङ्घका उपाध्यक्ष गुणराज थपलियाले नेपालीहरूसमेत अहिले घुम्न आउन छाडेको उल्लेख गर्दै द्वन्द्वको प्रभावका कारण भएको महँगी र ती देशमा भएका आफ्ना इस्टमित्रको चिन्ताले नेपालीलाई घुम्ने र रमाउने उत्साह नभएको बताउनुभयो । जहाज भाडा अत्यधिक बढ्दा पनि अन्य मुलुकबाट समेत पर्यटक नआएको उहाँले जानकारी दिनुभयो । 

    पर्यटन व्यवसायी सुमन घिमिरेले आफ्नो होटलमा बुकिङ भएका ५० प्रतिशत रद्द भएको बताउँदै अक्टोबर र नोभेम्बर तिरको स्थगित नभएको तर तत्काल द्वन्द्व रोकिएमा क्रमशः सुधार हुने उल्लेख गर्नुभयो । द्वन्द्वका कारण मुख्य रुपमा युरोपियन, बेलायती, अमेरिकन, जर्मनलगायत देशका पर्यटकले यात्रा स्थगन गरेको उल्लेख गर्दै उहाँले मुख्य मौसमका रुपमा लिइने यो समयमा द्वन्द्व र निर्वाचनका कारण प्रभावित बनेपछि यो वर्ष समग्रमा पर्यटन व्यवसाय प्रभावित हुन पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब एक महिना बाँकी छ । यो मौसम राम्रो हुने देखिएन ।”  जहाँ जे हुँदा पनि पर्यटन क्षेत्र प्रत्यक्ष रुपमा प्रभावित हुने गरेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

    वनवास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेले मध्यपूर्व तनावका कारण पर्यटकहरूले बुकिङ रद्द गरेको बताउनुभयो । यो मौसममा युरोपियनसहित विभिन्न देशबाट ठूलो सङ्ख्यामा पर्यटक आउने गरेको उल्लेख गर्दै उहाँले यस वर्ष द्वन्द्वका कारण प्रभावित बनेको भन्नुभयो । मध्यपूर्वका देशहरूमा ट्रान्जिट लिएर आउने जहाजहरू रोकिएपछि पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित बनेको न्यौपानेको भनाइ छ । उहाँले भन्नुभयो, “युद्धले नेपालको हस्पिटालिटी क्षेत्रमा नराम्रो असर प¥यो ।”

    पर्यटन व्यवसायी सन्तोष गिरीले मुख्य मौसममा द्वन्द्व भएपछि प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको छ भन्दै नेपाल आउने पर्यटकहरूले प्रयोग गर्ने एयरलाइन्स र ट्रान्जिटका विमानस्थलहरू बन्द हुँदा टिकट काटेका पर्यटकले बुकिङ रद्द गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “द्वन्द्वको मारमा परेपछि घुम्न र रमाउन को आउने ।”

    सौराहामा १४८ वटा होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । यस क्षेत्रमा प्रत्यक्ष रुपमा ६ हजार ४०० ले रोजगारी पाएका छन् । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायीक वनमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीलगायतका दुर्लभ वन, वन्यजन्तु र चराचुरुङ्गी हेर्न यहाँ स्वदेशी र विदेशी पर्यटकहरू आउने गर्दछन् । यसका अतिरिक्त सौराहामा थारू संस्कृति पनि पर्यटकका लागि रुचिकर बन्दछन् । यसका साथै नेपालका विभिन्न सङ्घसंस्थाले पनि सौराहामा कार्यक्रम गर्न आउँदछन् भने भारतीयहरू विवाहका लागि पनि सौराहा आउने गर्दछन् । द्वन्द्वले सबैतिर प्रभाव पार्दा अन्य क्षेत्रसँगै यहाँको पर्यटन क्षेत्र पनि प्रभावित बनेको हो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    • ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.