सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै


  •    न्युजभित्तो/५ चैत्र २०८२, बिहीबार १६:५३ 
  • काठमाडौँ, ५ चैत । काठमाडौँ उपत्यकाको नजिकै रहेको हात्तीवन(चम्पादेवी पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । काठमाडौँ उपत्यकाको कोलाहल वातावरणलाई छल्न र आनन्दको अनूभूति लिनका लागि अहिले दक्षिणकाली नगरपालिकाको हात्तीवनबाट कीर्तिपुर नगरपालिकाको चम्पादेवीसम्म पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

    काठमाडौँको नयाँ बसपार्कबाट झण्डै १० किलोमिटर दूरीमा रहेको हात्तीवनको फेदबाट सुरु हुने उक्त पदमार्ग तीनदेखि चार घण्टाको पैदलमार्गबाट चम्पादेवीडाँडोमा पुगिन्छ । चम्पादेवीडाँडो समुद्र सतहबाट दुई हजार २८५ मिटर उचाइमा पर्दछ । पदयात्रा, पारिवारिक वनभोज आदिका लागि चम्पादेवी उपयुक्त गन्तव्य मानिन्छ ।

    लमजुङका प्रकाश घिमिरेले ‘हात्तीवन-चम्पादेवी पदमार्ग’मा पदयात्रा गर्दा आफूलाई ज्यादै आनन्दित बनाएको बताउनभयो । “यस पदमार्गबाट काठमाडौँ उपत्यकाको रमणीय दृश्य हेर्न पाउनुका साथै प्रकृतिसँग रमाउन पाइन्छ”, उहाँले भन्नुभयो । पदयात्राका क्रममा शरीर थाकेपनि यहाँको प्राकृतिक सौन्दर्यताले पदयात्रीको थकान मेटाउने गरेको उहाँको अनुभव छ ।

    काठमाडौँका पदयात्री डा ज्योति गजुरेलले घना जङ्गल र जैविक विविधताका कारण उक्त पदमार्ग आकर्षक र उत्तम रहेको धारणा राख्नुभयो । “पदमार्गमा हिँड्दा देखिने लालिगुँरासलगायत विभिन्न प्रजातीका फूल, काफल र विभिन्न किसिमका बोटबिरुवा र चराचुरुङ्गीको आवाजले आनन्द तुल्याएको छ”, उहाँले भन्नुभयो । 

    चम्पादेवीडाँडोमा जानका हात्तीवनको फेदीका साथै बोसन गाउँबाटसमेत जान सकिन्छ । यसबाहेक फर्पिङबाट पनि यहाँ जान सकिन्छ । कीर्तिपुरको मच्छेगाउँ र चन्द्रागिरि नगरपालिकाबाट चम्पादेवी पुग्न सकिन्छ । बोसन गाउँ दक्षिणकाली नगरपालिका-१ मा पर्दछ । बोसन गाउँका स्थानीय मधुसुदन तामाङले पछिल्लो समय चम्पादेवी पदमार्गमा जाने पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । उहाँका अनुसार अन्य दिनमा दुई सयदेखि तीन सयसम्म पदयात्री जाने गरेकामा शनिबार र बिदाको दिनमा हजारौँ पदयात्री जाने गरेका छन् । 

    चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले विसं २०६६ देखि सुरु भएको उक्त पदमार्ग अहिले स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको बताउनुभयो । विसं २०६६ मा नेपाल सरकारको पर्यटन पूर्वाधार विकास आयोजनाले रु तीन करोड लगानीमा उक्त पदमार्गको सुरुवात गरेको थियो । यो पदमार्ग काठमाडौँ उपत्यकाकै पहिलो पदमार्ग हो । 

    उक्त पदमार्गको विकास र विस्तारका लागि दक्षिणकाली नगरपालिकाले ठूलो लगानी गरेको छ । अध्यक्ष तामाङका अनुसार चम्पादेवीमा मङ्सिर पूर्णिमा र नयाँ वर्षको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । भूकम्पले क्षति पुगेको चम्पादेवी मन्दिर तथा त्यस आसपासको क्षेत्रको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो । उक्त मन्दिर र त्यसवरपरको क्षेत्र पुनःनिर्माणका लागि रु २८ लाख खर्च भएको छ ।

    यो पदमार्ग धार्मिक, प्राकृतिक र साहसिक अनुभवका लागि महत्वपूर्ण पदमार्गसमेत हो । यो पदमार्गबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्यका साथै गौरीशङ्कर, लाङटाङलगायतका हिमशृङ्खला सजिलै देख्न सकिन्छ । बोसन गाउँबाट चम्पादेवी मन्दिरसम्म जानका लागि केबुलकारसमेत निर्माण हुन लागेको छ । चम्पादेवीको फेन्ड्रली कम्पनीले दक्षिणकाली नगरपालिका-१ बोसनगाउँबाट कीर्तिपुर नगरपालिक-४ चम्पादेवी डाँडासम्म केबुलकार निर्माण गर्न लागेको हो ।

    केबलकार निर्माणका लागि वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार रु पाँच अर्ब लगानीमा निर्माण हुन लागेको उक्त केबुलकारको काम दुई वर्षभित्र पूरा हुनेछ । दुई किलोमिटर लम्बाई भएको उक्त केबुलकारमा १२ टावर हुनेछन्, भने मानिस बोक्ने ३४ गोण्डुला, सामान बोक्ने दुई गोण्डुला र मर्मतको सामान बोक्ने एक गोण्डुला हुनेछन् । केबुलकार निर्माण भएपछि बोसन गाउँबाट चम्पादेवी पुग्न सात मिनेट लाग्नेछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.