सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सफलताका कथा: जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर


  •    न्युजभित्तो/३ चैत्र २०८२, मंगलवार ११:५४ 
  • झापा, ३ चैत । कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने गर्जो टार्नै उहाँलाई धौधौ थियो । अभावको तुवाँलोले घेरिएको त्यो सङ्घर्षकालमा उहाँले कति रात भोकै त कति रात अरूको मजदुरी गरेर बिताउनुपर्यो । तर, आज उही पौरखी भीमबहादुरको जीवनको तस्बिर बदलिएको छ । हिजो अर्काको मजदुरी गर्ने भीमबहादुर आज सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ ।

    सानैदेखिको गरिखाने यही सोचले आज उहाँलाई वार्षिक करोडको कारोबार गर्ने उद्यमी बनाएको हो । भृकुटीको सरस्वती टोलमा उहाँको गणेश नर्सरी उद्योग सञ्चालनमा छ । जहाँ पाँच सयभन्दा बढी प्रजातिका बिरुवा उत्पादन हुन्छन् । झापादेखि चितवनसम्मको बजारमा यही नर्सरीका बिरुवा बिक्री हुने गरेको छ ।

    विसं २०७३ मा आफ्नो खल्तीमा भएको मात्र रु दुई हजार ७०० को सानो पुँजीबाट नर्सरी व्यवसायको श्रीगणेश गरेको भीमबहादुरले बताउनुभयो । सीमित स्रोत र साधनका बाबजुद उहाँको दृढसङ्कल्पले आकार लिँदै गयो । अहिले नर्सरी व्यवसायबाटै उहाँले वार्षिक करोडभन्दा बढीको आर्थिक कारोबार गर्नुहुन्छ । उद्यम गरेरै उहाँले सुविधाजनक घर र घडेरी जोड्नुभएको छ ।

    “आफ्नै पौरखमा बाँच्नु पर्छ भन्ने सानैदेखिको मेरो भावना थियो”, उहाँ भन्नुहुन्छ, “सानो छँदा कुखुरा व्यापार गरेर घरखर्च चलाउन सघाउँथे । अहिले नर्सरी उद्योग र सुपारी प्रशोधन उद्योग चलाउँदैछु । पहिले अरूकामा मजदुरी पनि गर्थेँ, अहिले अरुले मेरो उद्योगमा रोजगारी पाइरहनुभएको छ ।”

    झापा सुपारीखेतीको उर्वर भूमि भएकाले उहाँले सुपारीका बिरुवा उत्पादनलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । झापाको गौरादह र चितवनको रत्ननगरमा नर्सरीका शाखा फैलिएका छन् । उहाँले सुपारी प्रशोधन उद्योग सञ्चालन गर्दै आउनुभएको छ । गाउँमा घरैपिच्छे सुपारी फलेका छन् । आफूले किसानबाट खरिद गरेको सुपारी उद्योगमा प्रशोधन गरेर बिक्री गर्दै आएको बताउनुभयो । सुपारी उद्योगमा समेत स्थानीयले मनग्य रोजगारी पाएका छन् ।

    भीमबहादुरको सफलताको जग मेहनतको जगमा उभिएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण सानै उमेरमा काँधमा जिम्मेवारी बोक्नुपर्यो । कहिले अरूको खेतमा पसिना बगाउने त कहिले गाउँका कुखुरा, गाई र बाख्रा डोहोर्याउँदै बजार पुर्याएर बेच्ने उहाँको दैनिकी थियो । स्थानीय हटियामा गाई–बाख्राको व्यापार गर्दागर्दै उहाँले व्यापारको कखरा सिक्नुभयो ।

    त्यतिमात्र होइन, उहाँले नवयुवा उमेरमा विवेचना दैनिक पत्रिका वितरण गर्ने ‘हकर’को कामसमेत गर्नुभयो । कक्षा १० सम्मको अध्ययन पूरा गरेपछि उहाँ पूर्ण रूपमा स्वरोजगारको खोजीमा लाग्नुभयो । शिव शक्ति ग्रुप अफ कम्पनीमा काम गर्दा उहाँले कृषि क्षेत्रको व्यावसायिक ज्ञान र विज्ञता हासिल गर्नुभयो, जसले उहाँको जीवनलाई नयाँ मोड दियो ।

    “इमान्दारी, मेहनत र लगनशीलताका साथ काम गर्यो भने सफलता टाढा हुँदोरहेनछ”, उहाँको सफलतालाई नजिकबाट नियालिरहनुभएका नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँ भन्नुहुन्छ, “आफ्नो अनुभव र सीपलाई सही ठाउँमा प्रयोग गर्न सके गाउँमै सुन फलाउन सकिँदोरहेछ । विदेश जानु पर्दोरहेनछ भन्ने उहाँले प्रमाणित गरिदिनुभयो ।”

    भीमबहादुरको यो व्यावसायिक फड्कोमा उहाँकी धर्मपत्नी तुलसी भट्टराईको बलियो साथ छ । “मैले कहिले पनि उहाँलाई विदेश गएर धन कमाउनुहोस् भनिनँ”, भीमबहादुरकी पत्नी तुलसी भन्नुहुन्छ, “उहाँमा अल्छी भावना कहिल्यै पाइनँ । कामलाई ठूलो र सानो भनेर छुट्याउनुहुन्न । उहाँलाई देखेर गाउँका युवाहरू व्यवसायमा लाग्न थालेका छन् ।”

    भीमबहादुरले आफ्नो नर्सरी र सुपारी प्रशोधन उद्योगमा २० जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिनुभएको छ । व्यवसायसँगै भीमबहादुर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । भानु माध्यमिक विद्यालयमा रु ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको छ भने गाउँमा गणेश मन्दिर निर्माणका लागि जग्गा र आर्थिक सहयोग जुटाउनुभएको छ । भृकुटी गाउँमा सुविधासम्पन्न पाटी प्यालेस निर्माणको अन्तिम तयारीमा जुट्नुभएको छ ।

    रोजगारीको खोजीमा खाडी मुलुक पस्ने युवाहरूको लहरका बीच भीमबहादुर स्वदेशमै पसिना बगाएर सफल बनेको उदाहरण हुनुुहुन्छ । मेहनत, धैर्य र निरन्तर प्रयासले कसरी एउटा सामान्य मजदुरलाई सफल उद्यमी बनाउन सक्छ भन्ने कुराको जीवन्त पात्र हुनुहुन्छ– भीमबहादुर । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै
    • नारायणगढ–मुग्लिन सडक सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.