सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक


  •    न्युजभित्तो/२९ फाल्गुन २०८२, शुक्रबार १५:२१ 
  • इलाम, २९ फागुन । गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल बढ्न थालेको छ । हरियो चियाबारी, चिसो मौसम र अन्तुबाट देखिने झुल्के घाम हेरेर पर्यटक रमाउँछन् । यहाँका मनोरम दृश्यसँग मोहित हुन्छन् र फर्किन्छन् । यसरी फर्किनेहरू सम्झना मात्र बोकेर फर्किँदैनन्, साथमा केही न केही कोसेली बोक्छन् । कोसेलीका रूपमा ललिपप, छुर्पी, बम्बइसन, चिया, अकबरेलगायत स्थानीय उत्पादन लिएर मात्र पर्यटनकहरू फर्किने गरेका छन् । 

    अन्तु घुमेर फर्कंदै गरेका पर्यटक समूह सूर्योदय–१० स्थित फिक्कल बजारको पसलअगाडि उभिन्छन्, आफूलाई मन पर्ने मिठाईलगायत कोसेली छान्छन् र लिएर जान्छन् । यस्तै अवस्थामा भेटिएका चितवनका रोशन सापकोटाले भन्नुभयो, “साथीहरूले इलामबाट रित्तो नफर्किँनु है भनेका छन् । धेरैलाई यहाँको ललिपप मनपर्दो रहेछ । साथीहरूको मागअनुसार सामान किनिरहेको छ । जति हे¥यो, त्यत्ति किनौँ किनौँ जस्तो लागिरहेको छ ।”

    फिक्कल बजारमा लहरै सजिएका पसलहरूमा छुर्पी, घ्यू, चिया, अकबरे खुर्सानीसँगै ललिपप र बम्बइसन जस्ता उत्पादन बिक्रीका लागि राखिएका छन् । कतिपय पसलमा त पर्यटकहरूले कोसेली किन्न पालो नै पर्खिनुपर्छ । स्थानीय व्यापारी सुजन सापकोटा भन्नुहुन्छ, “सामान्य दिनमा पाँच–दस हजारको बिक्री हुन्छ । ‘सिजन’ सुरु भएपछि भने व्यापार निकै बढ्छ । पोहोर त दिनकै ३० हजारसम्मको कोसेली बिक्री भएको थियो ।”

    स्थानीय व्यापारीका अनुसार इलाम आउने अधिकांश पर्यटकले कुनै न कुनै कोसेली किनेर लैजाने चलन नै बसिसकेको छ । “यहाँ आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन, छुर्पी, ललिपपलगायत कोसेली पनि किनेर लैजानुपर्छ भन्ने धारणा नै बनेको छ”, व्यापारी अमीर आचायले भन्नुभयो ।

    काठमाडौँमा व्यवसाय गर्दै आउनुभएका दीपक खड्का पनि यहाँ भेटिनुभयो । उहाँ आफू इलामे कोसेलीका नियमित ग्राहक भएको बताउनुहुन्छ । “कोही इलामबाट काठमाडौँ आउँदैछ भन्ने थाहा पायो भने ललिपप र छुर्पी मगाइहाल्छु । यहाँ आफैँ आएको बेला त झन् छोड्ने कुरै भएन । घरमा सबैजना इलामको मिठाई भनेपछि मरिहत्ते गर्छिन्”, उहाँ भन्नुहुन्छ । 

    दूध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसन यहाँका घरेलु उद्योग प्रवद्र्धनमा निकै टेवा पुगेको छ । गाउँगाउँमा यी मिठाई उत्पादन हुने क्रम बढ्दो छ । सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन बम्जनका अनुसार यी उत्पादन ‘इलाम ब्रान्ड’का रूपमा चिनिन थालेका छन् ।

    जिल्लामा करिब दुई दर्जन ललिपप उद्योग सञ्चालनमा छन् । यहाँ उत्पादित मिठाईको माग स्थानीय बजारसँगै काठमाडौँ र भारतसम्म हुने गरेको उद्यमी शिवलाल प्रधान बताउनुहुन्छ । सानो प्याकेट ललिपप रु ५० र ठूलो प्याकेट रु १०० मा बिक्री हुन्छ । उपहारका लागि आकर्षक रूपमा ‘प्याकेजिङ’ गरिएका ‘गिफ्ट ललिपप’ पनि बजारमा उपलब्ध छन् ।

    इलाममा दुग्धजन्य उद्योगको दायरा पनि विस्तार हुँदै गएको हो । जिल्लाका १८ चिज कारखानाले दैनिक करिब २७ हजार लिटर दूध सङ्कलन गर्छन् । स्थानीय बजारमा पाँच हजार लिटर दूध खपत हुने गरेको छ भने छुर्पी उद्योगले दैनिक १५ हजार लिटर दूध प्रयोग गर्छन् । ललिपप र बम्बइसन उद्योगले करिब पाँच हजार लिटर दूध खपत गर्छन् भने तीन हजार लिटर दूध भारतीय बजारमा समेत निर्यात हुने गरेको तथ्याङ्क छ ।

    भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा १८ चिज कारखाना, करिब १५० छुर्पी उद्योग र १३ दुग्ध मिठाई उद्योग सञ्चालनमा छन् । यहाँ वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ भने ३३ हजार ३७१ उन्नत जातका गाई पालिएका छन् । 

    पर्यटकीय गतिविधिले यस्ता उद्योग र स्थानीय उत्पादन प्रवर्द्धनमा टेवा पुगिरहेको केन्द्र प्रमुख रागवेन्द्र तिवारीको भनाइ छ । “पयर्टकीय गतिविधिले यहाँका चियाबारी, पर्यटकीय क्षेत्र प्रचार मात्रै भइरहेको छैन, स्थानीय उत्पादनको बजारीकरण पनि भइरहेको छ । यसले स्थानीय साना उद्यमीको जीविकोपार्जन र व्यवसाय विकासमा पनि टेवा पुगेको छ”, उहाँले भन्नुभयो । 

    सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बराल स्थानीय उत्पादन प्रवद्र्धनका लागि काम भइरहेको बताउनुहुन्छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्थानीय उत्पादकलाई प्रोत्साहनका लागि अनुदान दिने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो ।

    “पर्यटकीय गतिविधि बढेसँगै यहाँ उत्पादन पनि बढिरहेको छ । उत्पादन वृद्धि र बजार विस्तारका लागि अन्य पालिकासँग पनि सहकार्य गर्ने नीति छ । त्यसका लागि विगतमा पनि केही पहल भएका छन्, अब आगामी आर्थिक वर्षमा थप योजना अगाडि सार्छौं । स्थानीय उत्पादन प्रवर्द्धनका लागि अनुदानमा आधारित नीति अगाडि सार्ने कि भनेर छलफलमै छौँ । बजार विस्तार र स्थानीय उत्पादकले लाभ पाउने गरी काम हुन्छ”, कार्यवाहक प्रमुख बरालले भन्नुभयो । 

    यसरी हेर्दा यहाँको पर्यटन केवल दृश्यमा सीमित छैन, स्थानीय किसान तथा व्यवसायीको सशक्तीकरणको बलियो आधार बनिरहेको छ । चियाबारीको हरियाली र अन्तुको सूर्योदयसँगै यहाँको मिठास बोकेको कोसेली पनि पर्यटकको झोलामा भरिएर देशका विभिन्न ठाउँसम्म पुगिरहेको छ । यस्ता उत्पादनको थप ‘ब्राण्डिङ’ र बजारीकरणमा लगानी गर्न सके अझ धेरै लाभ लिन सकिने स्थानीयको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.