सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ सरकारसँग युवाको अपेक्षाः सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी


  •    न्युजभित्तो/२७ फाल्गुन २०८२, बुधबार १३:५५ 
  • काठमाडौँ, २७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् । 

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री नीति, डिजिटल सेवा, सन्तुलित र पादर्शी विकास अब बन्ने सरकार केन्द्रित रहने आशा जेनजी पुस्ताले व्यक्त गरेका हुन् ।

    गत भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध भएको ‘जेनजी’ प्रदर्शनमा सहभागी भएर घाइते हुनुभएका २५ वर्षीय मदन कार्कीले अब बन्ने सरकारले युवापुस्ताको माग र मर्मलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । निर्वाचनमा मतदान गरेर फर्किएपछि उहाँले अब बन्ने सरकारप्रति सकारात्मक परिवर्तनको आशा राखेर आफू मतदानमा सहभागी भएको बताउनुभयो । 

    कार्कीलृ सरकार र ‘जेनजी’ आन्दोलनका समूहबीच भएका १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । “नेपालीले आफ्नै देशभित्र सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनोस् । सुशासन कायम होस् र भ्रष्टाचारको अन्त्य होस् । अब बन्ने सरकारले आन्दोलनका क्रममा भएका घटनाका दोषीलाई कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

    उक्त आन्दोलनका क्रममा घाइते हुनुभएकी लिजा अधिकारी अहिले पनि अस्पतालमा उपचाररत हुनुहुन्छ । बीस वर्षीया अधिकारीले अस्पतालको श्ययाबाटै अब बन्ने सरकारले युवाका माग कार्यान्वयन गर्ने आफ्ना अपेक्षा व्यक्त गर्नुभयो । 

    जेनजी आन्दोलनले उठाएका मुद्दाहरू भ्रष्टाचार अन्त्य, पारदर्शिता र सुशासन अबको सरकारले कार्यान्वयनमा ल्याउनुपर्नेमा अधिकारीले जोड दिनुभयो । “हामीले आन्दोलनमार्फत उठाएका माग पूरा हुनेमा विश्वास छ । सुशासनसँगै देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । 

    रामेछाप स्थायी घर भई काठमाडौँमा बस्दै आएकी २२ वर्षीया सुजता कार्कीका अनुसार जेनजी आन्दोलनपछि युवाहरूमा राजनीतिप्रतिको चासो बढेको छ । अब बन्ने सरकारले युवाहरूका लागि ‘पार्टटाइम’ रोजगारीको व्यवस्था गर्ने र विकट तथा पिछडिएका क्षेत्रलाई पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ । 

    “पहिले मलाई राजनीतिमा खासै रुचि थिएन । तर आन्दोलनपछि राजनीतिक गतिविधिमा ध्यान दिन थालेकी छु । देशमा रोजगारीको अवसर हुनुपर्छ । विदेश जानुपरे पनि कामका लागि होइन, घुम्नका लागि मात्र जाऊँ भन्ने अवस्था बन्नुपर्छ”, उहाँले भन्नुभयो । 

    दोलखाका २३ वर्षीय विशाल बुढाथोकीका अनुसार अब बन्ने सरकारले पुराना दलले गर्न नसकेका नीतिगत सुधार र पूर्वाधार विकासलाई गति दिनुपर्छ । गाउँ र सहरबीच भएका विकासका असन्तुलन हटाउन सरकारले प्राथमिकता दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

    “सहरमा विकास देखिन्छ तर गाउँमा त्यो स्तरको विकास छैन”, उहाँले भन्नुभयो । विदेशमा अध्ययन गर्ने योजना बनाएका बुढाथोकीले अध्ययनपछि स्वदेश फर्केर व्यवसाय गर्ने वातावरण बन्ने अपेक्षा गर्नुभएको छ । 

    काठमाडौँका २७ वर्षीय विनय ढुङ्गानाले आफ्नो मत परिवर्तनको पक्षधरलाई भएको भन्दै डिजिटल सरकार (डिजिटल गभर्नेन्स) र उत्पादनमुखी अर्थतन्त्रमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । 

    “नयाँले धेरै गर्छन् भन्ने भन्दा पनि पुरानाले केही गरेनन् भन्ने निराशाले मत फेरेको हो”, उहाँले भन्नुभयो, “सरकारी सेवा प्रवाह सरल र सहज बन्ने अपेक्षा छ । सामान्य कामका लागि भनसुन वा पैसा दिनुपर्ने अवस्था अन्त्य हुने विश्वास छ ।”

    दोलखाका २४ वर्षीय किरण बुढाथोकीले जनताले परिवर्तनका लागि मत दिएको स्मरण गराउँदै अब बन्ने सरकारले प्रणाली विकासमा ध्यान दिएपछि मात्रै विकासका काम प्रभावकारी बन्नुपर्ने धारणा राख्नुभयो । “हामीले चाहेको दल सरकार बनाउनतर्फ अघि बढेको छ । अब जनताले खोजेको सरकार आउने देखिन्छ”, उहाँले भन्नुभयो, “पर्यटन, जलविद्युत् र कृषिमा सरकारले ठूलो सम्भावना भएको क्षेत्रको रूपमा काम गर्नुपर्छ । घोषणापत्र कार्यान्वयन गर्नुपर्छ ।” 

    खोटाङकी १९ वर्षीया सलिना राईले युवाहरू विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नु अबको सरकारको मुख्य जिम्मेवारी हुनुपर्ने बताउनुभयो । “मेरो परिवार र गाउँका धेरै युवाहरू रोजगारीका लागि विदेशिएका छन् । स्वदेशमै भरपर्दो रोजगारी नहुँदा हामी अन्योलमा छौँ”, उहाँले भन्नुभयो, “अबको सरकारले रोजगारी सिर्जना गर्छ भन्ने विश्वास छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.