सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय


  •    न्युजभित्तो/२६ फाल्गुन २०८२, मंगलवार ११:१८ 
  • कञ्चनपुर, २६ फागुन । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायले आज परम्परागत ‘खखडेहरा पर्व’ मनाउँदै यस वर्षको होलीलाई औपचारिक रूपमा बिदाइ गर्दैछन् । करिब एक महिनाभन्दा बढी समयसम्म निरन्तर रूपमा मनाइने राना थारू समुदायको होली खखडेहरा पर्वसँगै समाप्त हुने परम्परा छ ।

    राना थारू समुदायमा होली केवल रङ खेल्ने पर्वका रूपमा सीमित छैन । यो पर्व सामाजिक, धार्मिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको उत्सवका रूपमा मनाइन्छ । वर्षको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाडका रूपमा लिइने होली पर्व समुदायका लागि सामूहिक एकता, सांस्कृतिक निरन्तरता र धार्मिक आस्थाको प्रतीक पनि मानिन्छ ।

    राना थारू समुदायमा माघ शुक्ल पूर्णिमाका दिनदेखि होली पर्वको सुरुआत हुन्छ । सो दिन गाउँमा ‘होरी’ राखेर पर्व प्रारम्भ गरिन्छ । त्यसपछि करिब एक महिनासम्म रातको समयमा मात्र होली खेल्ने चलन छ । यस अवधिलाई राना थारू समुदायमा ‘जिउँदो होली’ भनेर चिनिन्छ ।

    जिउँदो होलीका दिनहरूमा गाउँका महिला तथा पुरुष रातभरि भेला भएर पारम्परिक होली गीत गाउने, नाचगान गर्ने र धार्मिक कथाहरूलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने चलन छ । यसले समुदायमा मनोरञ्जनका साथै धार्मिक आस्था र सांस्कृतिक चेतनालाई पनि सुदृढ बनाउने विश्वास रहेको रामसहाय राना बताउनुहुन्छ ।

    उहाँका अनुसार फागुन पूर्णिमाका दिन गाउँको दक्षिणपूर्व दिशामा स्थापना गरिएको होलिकालाई विधिपूर्वक दहन गरिन्छ । होलिका दहनपछि अर्को दिनलाई ‘टीका’ भनिन्छ । यस दिन गाउँका सबै जनाले होली जलेपछि बाँकी रहेको खरानीको टीका लगाउने परम्परा छ । समुदायमा रहेको विश्वासअनुसार होलीको खरानीको टीका लगाउँदा रोगव्याधि नलाग्ने, स्वास्थ्य राम्रो हुने तथा दीर्घायु प्राप्त हुने मान्यता रहेको स्थानीय रामसहाय बताउनुहुन्छ ।

    टीकाको दिनदेखि आठ दिनसम्म ‘मरी होरी’ अर्थात् ‘मरेको होली’ खेल्ने चलन छ । यस अवधिमा दिन र रात दुवै समयमा होली खेल्ने गरिन्छ । मरेको होलीको आठौँ दिनमा खखडेहरा पर्व मनाइन्छ, जसलाई होलीको औपचारिक समापनका रूपमा लिने गरिन्छ ।

    खखडेहरा पर्वका दिन बिहानैदेखि गाउँमा विशेष तयारी सुरु हुन्छ । गाउँका अगुवा, भलमन्सा, चाकर तथा अन्य जिम्मेवार व्यक्तिहरूले घरघरमा पुगेर पूजा सामग्री सङ्कलन गर्ने गर्छन् । पूजा सामग्रीका रूपमा सात प्रकारका अन्न, माटोका भाँडाकुँडा, खप्टाका टुक्रा, गाग्रो, लोटा, सुकेको गोबरबाट बनाइने कन्डी, दियो, घोडाको माटोको मूर्ति तथा शुद्ध पानी सङ्कलन गरिन्छ ।

    शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय रतनलाल रानाका अनुसार यी सामग्रीलाई सामूहिक रूपमा ‘सत्ना’ भनिन्छ । “गाउँका सबै घरबाट सामग्री सङ्कलन गरिन्छ, जसले यो पर्व सामूहिक सहभागितामा आधारित रहेको देखाउँछ”, उहाँ भन्नुहुन्छ ।

    सङ्कलित सामग्रीलाई गाउँको चौबाटो वा निश्चित स्थानमा लगेर परम्परागत विधिअनुसार पूजा गरिन्छ । पूजा सम्पन्न भएपछि माटोका भाँडाकुँडा, खप्टा, घोडाको मूर्ति, दियो, हडियालगायत सामग्री फुटाउने चलन छ । राना थारू समुदायका अगुवा जगता रानाले खखडेहरा फुटाउने कार्य गाउँका निश्चित व्यक्तिमात्रले गर्ने परम्परा रहेको बताउनुभयो । “यो कार्य प्रतीकात्मक रूपमा गाउँबाट नकारात्मक शक्ति हटाउने संस्कारका रूपमा मानिन्छ”, उहाँले भन्नुभयो ।

    उहाँका अनुसार यस पर्वमार्फत राक्षसी प्रवृत्ति, रोगव्याधि, दुर्भाग्य र अन्य नकारात्मक प्रभावलाई गाउँबाट टाढा भगाउने विश्वास समुदायमा रहिआएको छ । खखडेहरा फुटाइसकेपछि सहभागीहरू गाउँ फर्किन्छन् । फर्किने क्रममा पछाडि फर्केर हेर्नु हुँदैन भन्ने कडा मान्यता छ । यदि कसैले फर्केर हेरेमा अनिष्ट निम्तिने वा दुष्ट शक्ति देखिने विश्वास समुदायमा प्रचलित रहेको राना थारू समुदायका बूढापाकाहरू बताउनुहुन्छ ।

    खखडेहरा पर्वको अर्को महत्त्वपूर्ण पक्ष ‘फगुवा’ माग्ने परम्परा पनि हो । पूजा सम्पन्न भएपछि गाउँका युवा तथा अगुवाहरू घरघरमा पुगेर फगुवा माग्ने गर्छन् । फगुवाका रूपमा घरधनीले गच्छेअनुसार नगद रकम, अन्न वा अन्य सामग्री दिने गर्छन् । यसरी सङ्कलित रकमबाट सामूहिक भोज, नाचगान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ ।

    साँझपख गाउँमा उत्सवमय वातावरण देखिन्छ । महिला र पुरुष दुवै पारम्परिक पहिरन र शृङ्गारमा सजिएर होली खेल्ने, गीत गाउने र नृत्य गर्ने गर्छन् । समुदायमा रहेको विश्वासअनुसार खखडेहरा पर्वमा गरिने पूजा तथा अनुष्ठानले अन्नबाली राम्रो हुने, रोगव्याधि हट्ने र गाउँमा समृद्धि आउने विश्वास गरिन्छ ।

    नेपाल राना थारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष कृपाराम रानाले राना थारू समुदायका लागि होली सबैभन्दा महत्त्वपूर्ण पर्व रहेको बताउनुभयो । “राना थारू समुदायको सांस्कृतिक जीवनमा होलीको विशेष महत्व छ”, उहाँले भन्नुभयो, “विशेषगरी खखडेहरा पर्वले समुदायको एकता, संस्कार र परम्परालाई बलियो बनाउने काम गर्छ ।”

    उहाँका अनुसार खखडेहरा पर्वका दिन गाउँमा खेतीपाती, गोरुगाडा चलाउनेलगायतका कामसमेत रोक्ने चलन छ । विगतमा तराई क्षेत्रमा मलेरिया, महामारी तथा प्राकृतिक विपत्तिसँग जुध्दै आएको समुदायले सामाजिक एकता कायम राख्न यस्ता सांस्कृतिक परम्पराहरू विकास गरेको उहाँले उल्लेख गर्नुभयो ।

    गर्मी मौसम सुरु हुने लु लाग्ने समयमा रोगव्याधि फैलिने सम्भावना बढी हुने भएकाले समुदायले खखडेहरा पर्वमार्फत प्रतीकात्मक रूपमा भूतप्रेत, रोगव्याधि तथा दुर्भाग्यलाई गाउँबाट हटाउने विश्वास राख्दै आएका छन । यसरी खखडेहरा पर्व केवल धार्मिक अनुष्ठानमात्र नभई समुदायको सामाजिक एकता, सांस्कृतिक पहिचान र परम्परागत मूल्यलाई जोगाउने महत्त्वपूर्ण अभ्यासका रूपमा स्थापित भएको देखिन्छ ।

    “सदियौँदेखि निरन्तर रूपमा मनाइँदै आएको यो पर्वले राना थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनलाई आजसम्म जीवन्त बनाइराख्न महत्त्वपूर्ण भूमिका खेलेको छ”, पूर्वअध्यक्ष रानाले भन्नुभयो । आजका दिन अर्थात् खखडेहरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.