सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ


  •    न्युजभित्तो/२० फाल्गुन २०८२, बुधबार १४:०३ 
  • लुम्बिनी, २० फागुन । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

    सीमानाकामा सुरक्षाका लागि दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच अनौपचारिक सीमा समन्वय बैठक सम्पन्न भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेले भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लाका समकक्षीसँग प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा अनौपचारिक सीमा समन्वय बैठक बसेर सीमा क्षेत्रको अनुगमन गरी सुरक्षामा कडाइ गरिएको जानकारी दिनुभयो । 

    दुवै देशका अधिकारीबीच भएको अनौपचारिक छलफल र सीमा क्षेत्रको अनुगमनमा नेपालको तर्फबाट प्रजिअ पोखरेलसहित जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक जनकबहादुर शाही, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहरा र राष्ट्रिय अनुसन्धानका निर्देशक प्रकाश आचार्य सहभागी हुनुभएको थियो । त्यस्तै भारत महाराजगञ्ज जिल्लाका प्रमुख अधिकारी ९डिएम० सन्तोषकुमार शर्मा र भारतीय प्रहरीका एसपी सोमेन्द्र मीना सहभागी हुनुहुन्थ्यो ।

    निर्वाचनको समयमा सीमानाका बन्द गर्ने र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्ने कार्यमा सघाउन भारतीय पक्षले समेत चासो देखाएको उहाँले बताउनुभयो ।

    निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सम्पूर्ण सीमानाकाहरू यही फागनु १८ गते सोमबार राति १२ः०० बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । निर्वाचनको दिन मतदान सम्पन्न नभएसम्मका लागि सबै सीमानाका बन्द गरिएको प्रशासनले जनाएको छ । 

    प्रजिअ पोखरेलका अनुसार मालवाहक सवारीसाधन र पर्यटक सवार सवारीसाधनसहित आवागमन हुने रुपन्देहीको मुख्य बेलहिया र साना सवारीसाधन आवतजावत गर्ने लुम्बिनी–कक्रहवालगायत सम्पूर्ण सीमानाका बन्द गरिएका हुन् । नाका बन्द गरेर कडाइ गरेपछि सीमा क्षेत्र सुनसान बनेका छन् । दैनिक हजारौँ यात्रु र सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने रुपन्देहीका सबै नाका सुनसान भएका स्थानीय बताउँछन् । 

    सीमा बन्द गरिएको अवधिमा ग्यास बुलेट र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, एम्बुलेन्स र नेपाल भ्रमणमा आएका तेस्रो मुलुकका पर्यटकबाहेक अन्य सामानको ढुवानी तथा आवागमनमा रोक लगाइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । 

    मत गणनास्थलमा तार जाली

    मत गणनास्थललाई सुरक्षित बनाउन रुपन्देहीका सबै मतगणनास्थललाई तार जालीले घेरिएको छ । प्रतिनिधिसभा निर्वाचनको मत गणनास्थल सुरक्षित गर्न रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका गणनास्थलमा १० फिट अग्लो तार जालीले घेरिएको छ । 

    रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार सुरक्षा चुनौतीलाई मध्यनजर गरी मतगणनालाई व्यवस्थित गर्न लागिएको हो । रुपन्देहीको निर्वाचन क्षेत्र नं १ मा देवदह आदर्श बहुमुखी क्याम्पस सित्तलनगर, क्षेत्र नं २ मा बुटवल उपमहानगरपालिका–११ को कार्यालय देवीनगर, क्षेत्र नं ३ भैरहवास्थित भैरहवा नमूना माध्यमिक विद्यालय, क्षेत्र नं ४ मा कोटहीमाई गाउँपालिकाको कार्यालयको सभा हल र क्षेत्र नं ५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणना स्थल तोकिएको छ ।

    मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार विद्युत् आपूर्ति सहज बनाउन तार जालीको अगाडि जोडिएको बत्ती चार्ज हुने किसिमको जडान गरिएको छ । मतगणना परिसरमा सिसीटिभी क्यामरा पनि जडान गरिएको छ । 

    मतगणनाको क्रममा मतगणनामा खटिएका कर्मचारी, सुरक्षाकर्मीबाहेक अरू कसैलाई तार जालीभित्र जान नपाउने र उम्मेदवारका प्रतिनिधि तथा अन्य सरोकारवालालाई तार जाली बाहिरबाट हेर्न दिइने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन अधिकृत बस्नेतले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै
    • विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने
    • पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    • अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    • समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.