सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होलीमा गुञ्जिरहेका छन् पुरानै गीत


  •    न्युजभित्तो/१८ फाल्गुन २०८२, सोमबार १५:२९ 
  • काठमाडौँ, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ । 

    यो पर्वमा गीत–सङ्गीतको आफ्नै महत्व छ । ख्याली, टप्पा, जोगिरा र वसन्त राग गाउँदै अबिर लगाएर शुभकामना आदानप्रदान गरिने भएता पनि नेपाली चलचित्रका केही कालजयी गीत छन्, जसले होली आएको आभाष दिलाउने गरेका छन् । ती गीतहरू गाउँ होस् या सहर उत्तिकै गुञ्जिन रहेका छन् । चाडपर्व जतिसुकै आधुनिक परम्पाराले मनाएता पनि पुरानै गीत गुञ्जिने गरेको पाइन्छ ।  

    होली रङको मात्रै पर्व होइन, यो सङ्गीतको पर्व पनि हो । होलीमा रङ जस्तै गीतसङ्गीतको स्थान पनि महत्वपूर्ण छ । त्यसो त हाम्रा हरेक पर्वमा गीतसङ्गीतको विशेष स्थान छ । तीज, दसैँ, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि सङ्गीतको विशेष महत्व छ । सङ्गीतविना हाम्रा पर्व अधुरा छन् ।

    हरेक होलीमा धेरै प्राथमिकता पर्ने गीत हो ‘होलीले रङ्गायो मेरो चोली’ । सन् १९९३ मा निर्माण भएको चलचित्र ‘अधिकार’ मा समावेश उक्त गीतले पर्व आएको आभाष दिलाउने गर्छ । आज आयोजना हुने कार्यक्रममा यो गीत नगुञ्जिने सम्भावना न्यून हुन्छ । अभिनेता राजेश हमाल, मिथिला शर्मा, कृष्टी मैनाली, प्रकाश थापा, राजाराम पौडेल, बसुन्धरा भुसाल, नीर शाहलगायतका कलाकारले नृत्य गर्नुभएको गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छ । 

    चलचित्र ‘वसन्ती’ एक ऐतिहासिक विषयमा निर्माण भएको चलचित्रका रूपमा चिनिएता पनि यसमा समावेश ‘फागु हो फागु हो’ बोलको गीत होलीमा धेरै गुन्जिने गीतमा पर्छ । राणाकालीन समयमा दरबारभित्र होलीलाई कसरी मनाइन्थ्यो भन्ने कुरा उक्त गीतमा देखाएको छ । गीतमा राजेश हमाल, करिश्मा मानन्धर, निरुता सिंहलगायतका कलाकार देख्न सकिन्छ ।

    नेपालका प्रख्यात उपन्यासकार डायमण्डशमशेर राणाले लेख्नुभएको उपन्यास ‘वसन्ती’ मा आधारित रहेर निर्माण भएको उक्त चलचित्र नीर शाहले निर्देशन गर्नुभएको हो । नीर शाहकै शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाको सङ्गीत र ज्ञानु राणा तथा लोचन भट्टराईको स्वर छ ।

    नेपाली चलचित्र ‘सीता’ मा समावेश गीत ‘आज जनकपुरमे होली है’ अझै पनि उत्तिकै लोकप्रिय छ । अभिनेता श्रीकृष्ण श्रेष्ठ, सारङ्गा श्रेष्ठ, राजाराम पौडेल, किरण केसी अभिनित उक्त चलचित्रको प्रदर्शन विसं २०५१ सालमा भएको थियो । उक्त गीतमा जनकपुर क्षेत्रमा कसरी होली मनाइन्छ भन्ने कुरा देखाइएको छ ।

    यस्तै, चलचित्र ‘बटरफ्लाई’मा समावेश ‘होली रे’, चलचित्र ‘फागु’मा समावेश ‘आऊ न आऊ खेलौँ होली’, चलचित्र ‘गाजलु’मा समावेश ‘रङ रङ्गा’ होलीमा आज गुञ्जिरहेका छन् । 

    निर्देशक पुर्णेन्द्र झा निर्देशित चलचित्र ‘संरक्षण’ मा समावेश ‘होरीमे गोरी’ बोलको होली गीत तराई क्षेत्रमा होलीको समय धेरै बज्ने गीतमध्येको एक हो । भोजपुरीमा शब्द रहेको यो गीत छायाङ्कन गर्न होलीको आयोजना नै गरिएको निर्देशक झाले बताउनुभयो ।

    “तराईको कथावस्तुमा निर्मित चलचित्र भएकाले हामीले होलीको सन्दर्भ पारेर गीत तयार गरेका थियौँ । अन्य समयमा गीतको खासै चर्चा नभएता पनि होलीमा भने यो धेरै सुनिने गीतमा पर्छ । हामीले यसमा मिथिला क्षेत्रमा मनाइने होलीलाई देखाएका छौँ । अन्य सामान्य गीत भन्दा केही खर्चिलो भएता पनि यो गीतले संस्कृति महत्व बोकेको छ”, निर्देशक झाले भन्नुभयो ।

    होली बाहेकको समयमा छायाङ्कन गरिएकाले उक्त अवधिभर होलीको माहोल सिर्जना गरिएको उहाँले बताउनुभयो । होली पर्वलाई लक्षित गर्दै नयाँ गीत नबनेका होइनन् तर पुरानै गीतमा आकर्षण रहिरहनुलाई सङ्गीतकार अर्जुन पोखरेलले स्वाभाविक रूपमा लिनुभएको छ । 

    उहाँले पुराना गीतमा चाडपर्वको प्रसङ्ग र सोही वातावरणमा गीतसङ्गीतको दृश्याङ्कन गरिएकाले ती गीत कालजयी हुन् सफल भएको बताउनुभयो । “हामीले उल्लेख गरिरहेको गीतहरू चलचित्रमै प्रसङ्गसहित आएका थिएँ । त्यही भएर दर्शकको रोजाइमा पर्न सफल भए । चलचित्रमा भएका गीतसङ्गीतले गीतिसङग्रहको तुलनामा बढी प्रचार पाउँछन्, सोही कारण पनि अहिले उक्त गीतहरू हामीले सुन्छौँ र उत्तिकै मन पर्छ”, सङ्गीतकार पोखरेलले भन्नुभयो । 

    सङ्गीतकार पोखरेल झैँ गायक कर्णराज गिरी पनि पुरानै गीतमा नाचगान गर्दै होली मनाउनु हुन्छ । नयाँ गीत आइरहेता पनि उहाँलाई स्मरण छैन । “म कार्यक्रममा होस् या मेला, महोत्सवमा होलीको सन्दर्भमा पुरानै लोकप्रिय गीत गाउने गरेको छु । उक्त गीतको बारेमा सबैलाई थाहा भएकाले त्यसमा सबैले रमाइलो गर्नुहुन्छ”, गायक गिरीले भन्नुभयो । आज पहाडी भेगमा होली पर्व मनाइए पनि तराईमा भने भोलि मनाइने छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.