सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै


  •    न्युजभित्तो/७ पुष २०८२, सोमबार १७:०८ 
  • मनाङ, ७ पुस । जिल्लाको चामे गाउँपालिका(४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला परेको छ । योसँगै गाउँपालिकाले मौसम अनुकूल अवधिमा दोस्रो चरणको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण सञ्चालन गर्ने तयारी गरेको हो ।

    सरोकार भएका निकायको सहभागितामा उक्त सर्वेक्षण गरिने गाउँपालिका कार्यालयले जनाएको छ । सर्वेक्षणमा भूउपग्रह मापन, जलविज्ञान परीक्षण, वातावरणीय जोखिम मूल्याङ्कन तथा अध्ययन गर्ने तयारी गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । सर्वेक्षणपछि संरक्षण, विपद् न्यूनीकरण तथा स्थानीय समुदायसँगको समन्वयमा दीर्घकालीन व्यवस्थापनका योजना लागू गर्ने उद्देश्यले अध्ययन गरिने उहाँले बताउनुभयो । 

    प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठूलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावना भएकाले राष्ट्रियस्तरमै सर्वेक्षण प्रक्रिया अघि बढाइएको अध्यक्ष घलेले उल्लेख गर्नुभयो । 

    स्थानीयबासिन्दा तथा गोठालाले दिएका जानकारीका आधारमा चामे गाउँपालिका, नेपाल प्रहरी र स्थानीय प्रतिनिधि तथा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलसहितको संयुक्त टोलीले उक्त तालको सतह समुद्री सतहबाट करिब पाँच हजार २०० मिटरमा रहेको प्रारम्भिक अनुमान गरिएको अध्यक्ष घलेले बताउनुभयो । 

    “तालको विस्तृत अध्ययन आवश्यक छ । यदी सबैभन्दा अग्लो स्थानमा भएको पुष्टि भएमा विश्वमा प्रचारप्रसारका साथै दाबी गर्ने योजना बनाउनु पर्ने हुन्छ । यसलाई आधिकारिक रूपमा पुष्टि गर्ने तयारीमा हामीले कदम चाल्नेका छौँ”, अध्यक्ष घलेले भन्नुभयो । 

    टोलीका अनुसार ताल अत्यन्तै दुर्गम क्षेत्रमा हिमाली भू–भागको बीचमा अवस्थित छ । पहुँचमार्ग कठोर, मौसम, उचाइ र जोखिमपूर्ण भौगोलिक संरचनाका कारण तालसम्म पुग्न कठिन भए पनि प्राप्त प्रारम्भिक विवरणले काजिनसारा ताललाई मनाङको मात्र नभई देशकै महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा प्रचारप्रसार गर्नुपर्ने उहाँले बताउनुभयो । 

    तालको उचाइ, क्षेत्रफल तथा गहिराइको औपचारिक वैज्ञानिक प्रमाणीकरण भने अझै बाँकी रहेको गाउँपालिकाले जनाएको छ । काजिनसारा तालले मनाङको पर्यटन क्षेत्रमा नयाँ अध्याय थप्ने विश्वास पालिका अध्यक्ष घलेले व्यक्त गर्नुभयो । उहाँका अनुसार तालसम्म सुरक्षित पदमार्ग निर्माण, आवतजावतका वैकल्पिक मार्ग पहिचान, पर्यटकमैत्री पूर्वाधार विकास तथा वातावरण संरक्षणलाई प्राथमिकता दिएर दीर्घकालीन योजना तयार पार्ने काम भइरहेको छ ।

    अध्यक्ष घलेले सो क्षेत्र जैविक तथा भौगोलिक रूपमा संवेदनशील भएकाले योजनाबद्ध विकासमा पर्यावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य हुने बताउनुभयो । “स्थानीय गोठाला सिङ्गरखर्क क्षेत्रका पहाड र चौरमा चौँरी, भेडाच्याङ्ग्रा चराउन जाँदा टाढाबाट निलो जलाशयको दृश्य देख्ने गरेको बताउँदै आएका थिए”, उहाँले भन्नुभयो, “उनीहरूको सूचनालाई आधार मानेर चामे गाउँपालिकाले विसं २०७८ मा सुरुआत गरेको अन्वेषणका क्रममा तालको लम्बाइ करिब एक किलोमिटर र चौडाइ करिब ६०० मिटर रहेको अनुमान गरिएको छ ।” 

    ताल मापन गर्ने उद्देश्यले तत्कालीन प्रमुख जिल्ला अधिकारी ढुङ्गेल हेलिकोप्टरमार्फत त्यसतर्फ सर्वेक्षणमा पुग्नुभएको थियो । अध्यक्ष घलेका अनुसार तालको गहिराइको मापन हालसम्म उपलब्ध भएको छैन । प्रारम्भिक प्रतिवेदनमा ताललाई हिम नदीको जलस्रोतबाट बनेको उच्च हिमाली ‘ग्लेसियर’ (हिउँ र बरफबाट बनेको नदी) का रूपमा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।

    ताल अवस्थित क्षेत्र चारैतिर प्रसिद्ध हिमशृङ्खलाले घेरेको प्राकृतिक महत्त्वपूर्ण क्षेत्र हो । पूर्वमा मनास्लु हिमाल, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल, पश्चिममा दामोदर हिमाल र उत्तरतर्फ तिब्बतस्थित पेरी हिमाल पर्ने हुँदा दृश्यावलोकनका दृष्टिले काजिनसारा ताल अत्यन्त आकर्षक छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार यस ताललाई तिलिचो ताल, अन्नपूर्ण पदमार्ग तथा नार–फू क्षेत्रसँग समन्वय गरी पर्यटकीय सम्भावनाको रूपमा विकास गर्न सकिने देखिएको छ । 

    हाल विश्वकै उच्च स्थानमा अवस्थित तिलिचो ताललाई चुनौती दिने तालका रूपमा काजिनसारा ताल रहेको छ । तिलिचो ताल ९४,९१९ मिटर० भन्दा काजिनसारा ताल करिब ३०० मिटरमाथि रहेको प्रारम्भिक मापनले देखाएको छ । भौगोलिक उत्थान, हिमनदीको विस्तार तथा जलस्रोतको क्रमिक परिवर्तनका कारण विगतमा पहिचान गर्न नसकिएका उच्च हिमताल भेटिनु स्वाभाविक रहेको विज्ञहरूको भनाइ छ ।

    नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले नेपालकै अग्लो स्थानमा रहेको गाउँपालिका नार्पाभूमि भए पनि आधिकारिक रूपमा नापी विभागको अध्ययन टोलीले मापन नगरेको अवस्थामा काजिनसाराको विषयमा यसै भन्न नसकिने बताउनुभयो । काजिनसारा विश्वकै अग्लो स्थानमा पर्ने तालको सूचीमा रहनु सबै मनाङीका लागि खुसी तथा गौरवको विषय बन्ने उहाँको भनाइ छ । 

    यस तालको विषयमा अध्ययन तथा सर्वेक्षणमा सरकारको चासो हुनुपर्ने स्थानीयको भनाइ छ । यस तालको अध्ययन तथा सर्वेक्षण एवं मान्यताले पूर्ण भएमा नेपालले कजिनसारा ताल विश्वकै अग्लो स्थानमा अवस्थित भनेर दाबी गर्नुपर्ने देखिन्छ । रासस  

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
    • नरभक्षी बाघ खोरमा
    • ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    • ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.