सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार


  •    न्युजभित्तो/७ पुष २०८२, सोमबार १२:२३ 
  • घोडाघोडी (कैलाली), ७ पुस ।  यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरु त्यहाँबाट पनि विस्थापित भए ।

    “त्यसपछि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बीचमा बस्न थाल्यौँ”, नवलसिंहले विगत सम्झिँदै भन्नुभयो, “त्यहाँ धेरै परिवार थियौँ । वन अतिक्रमण गरेको भन्दै त्यहाँबाट पनि हामीलाई हटाएपछि हाम्रो कतै जाने ठाउँ थिएन । अनि यही जङ्गलको छेउमा ओत लाग्न आइपुग्यौँ ।”

    सोही स्थानमा बस्दै आउनुभएका अर्का रतन नाथको पीडा पनि उस्तै छ । डडेल्लधुरा पुख्र्यौली घर भएका रतनले सानैमा अभिभावक गुमाएपछि रोजगारीका लागि भारततिर जानुभयो । भारतमै हुँदा गाउँमा नापी टोली आएछ । आफन्तले रतनको नाममा हुनुपर्ने जग्गा आफ्नै नाममा नाप्न लगाएछन् । “बुवाआमा सानैमा बितेका थिए, म परदेशमा थिएँ”, उहाँले भन्नुभयो, “आफन्तले हाम्रो सबै जमिन आफ्नो नाममा नापी गराइ दिएछन् । म फर्किँदा मेरो टेक्ने जमिनसम्म थिएन ।”

    विसं २०६० मा डडेल्लधुरा छाडेर चुरे गाउँपालिका–४ स्थित गुठीको जमिनमा बसोबास गरेपनि त्यहाँबाट उठाइएपछि अहिले यहाँ आएर बसोबास गरिरहेको उहाँले बताउनुभयो ।

    रतनको परिवार स्थानीय सूर्यमुखी आधारभूत विद्यालयको जङ्गल छेउको खेलमैदानमा पालमुनी बस्दै आएको छ । रतन भन्नुहुन्छ, “यो हाम्रो इच्छा होइन, बाध्यता हो । यहाँबाट स्कुलले खेलकुद मैदान खाली गर्दिनु भनिरहेको छ, अब कता जाने थाहा छैन ।” 

    त्रिपालमुनिको जोखिमपूर्ण जीवन

    हाल बालुवागडा क्षेत्रमा १५ भन्दा बढी परिवार अस्थायी टहरामा बसिरहेका छन् । तीमध्ये केही परिवारका अभिभावकहरू रोजगारीको खोजीमा भारत गएकाले घरमा बालबालिका मात्रै छन् । घरबार गुमाएर जङ्गलको बसोबास गरिरहेका उनीहरूको जीवन कष्टकर छ । पालमा बालबालिकाहरुले जाडो धान्नै कठिन छ । स्थानीय कलि नाथका अनुसार वर्षायाममा पानी चुहिएर रासन, लत्ताकपडा सबै भिज्छ ।

    “पानी पर्दा टहराभित्रै भेल पस्छ”, उहाँ भन्नुहुन्छ, “रातभरि बिच्छी र कीरा–काटीको डर हुन्छ । कति पटक त बिच्छीले टोकेर उपचारका लागि दौडिनु परेको छ । तर जाने ठाउँ कतै नभएपछि यही मृत्युसँग जुधेर बस्नुपर्ने अवस्था छ ।”

    गिट्टी कुटेर जीविका

    यहाँका महिलाहरूको दिनचर्या बालुवा खोलामा बित्छ । ओलामा सङ्कलन गरिएको गिट्टी नै उनीहरुको आम्दानीको स्रोत हो ।

    “अहिले छोराछोरीको परीक्षा आइरहेको छ”, स्थानीय बुदीसरा सिंजाली भन्नुहुन्छ, “गिट्टी बेचेर आएको पैसाले परीक्षा शुल्क तिर्ने योजना छ ।” बुदीसराझैँ अन्य महिलाहरुको पनि मुख्य आम्दानीको स्रोत गिट्टी नै हो ।

    प्रति घनमिटर एक हजार पाँच सय रुपैयाँमा बिक्री हुने गिट्टीबाट आउने पैसाले उनीहरूको घरको नुन–तेल चल्छ । सो क्षेत्रमा मात्रै होइन चुरेको विभिन्न स्थानमा बसोबास गरिरहेका घरबारबिहीन परीवारको अवस्था समान छ । वैकल्पिक बसोबासको व्यवस्था नहुँदा पीडितहरू हाल बसिरहेको स्थानमै बस्नुपर्ने बाध्यता रहेको चुरे गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले बताउनुभयो । उहाँका अनुसार २०७७ सालमा आएको बाढीलगायत अन्य कारणले बिस्थापित ११६ परीवार चुरे–४ को पनेरुगडा, टाँकगडा, बालुवागडा र चुरे–१ को खामाहाले, खानीडाँडालगायतका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । 

      सुरुमा घरबारबिहीन भन्दै वन क्षेत्रमा करिब सात सय परिवार बसेका थिए । गाउँपालिकाले छानबिन गर्दा ११६ परिवार मात्रै पूर्ण रूपमा घरबारविहीन पाइयो । उनीहरुलाई वन क्षेत्र अतिक्रमण गरेको भनी विसं २०७९ मा वन कार्यालयले हटायो । गाउँपालिकाले गरेको छानबिनअनुसार हाल वास्तविक पीडितहरु नै  जङ्गल क्षेत्रमा बसोबास गरिरहेका छन् ।  

    “विस्थापितहरूको समस्या वास्तवमै गम्भीर छ”, वडाध्यक्ष मगर भन्नुुहुन्छ, “तर स्थानीय तहसँग उनीहरूलाई तत्काल व्यवस्थापन गर्ने आफ्नै जमिन छैन । वन क्षेत्रबाट वन कार्यालयले हटाउन खोज्छ, यता उनीहरूको जाने ठाउँ छैन । यही कारणले उनीहरू जोखिमपूर्ण अवस्थामा छन् ।”

    चुरेका यी विस्थापित परिवारहरू सरकारले सुरक्षित घरबास उपलब्ध गराउला कि भन्ने आशामा वर्षौँदेखि छन् ।  यही राज्यका नागरिक भएकाले पनि सरकारले अभिभावकको भूमिका निर्वाह गरोस् भन्ने उनीहरुको चाहना छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
    • नरभक्षी बाघ खोरमा
    • ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    • ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.