सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य


  •    न्युजभित्तो/६ पुष २०८२, आईतवार १३:१५ 
  • म्याग्दी, ६ पुस । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

    चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ तथा जस्तापाटाको प्रयोग गरेर समुन्द्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीमा आश्रयस्थल भवन निर्माण गर्नुभएको हो । सोवाङ धुरी घुम्न जाने पर्यटक र पाहुनालाई ओढारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउनका लागि २० जना क्षमताको आश्रयस्थल निर्माण गरिएको गर्बुजाले बताउनुभयो ।  

    “तत्काललाई त्यहाँ जाने पाहुना र पर्यटकले उपभोग गर्न पाउने आश्रयस्थलको भवनमा दीर्घकालीन रुपमा रेष्टुरेन्ट सञ्चालन गर्न वडा कार्यालयसँग सहमति भएको छ”, गर्बुजाले भन्नुभयो, “सोवाङ धुरीबाट प्याराग्लाडिङको परीक्षणको तयारीमा छौँ ।”  

    म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङ धुरीबाट संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको फेददेखि चुचुरोसम्मको दृष्यावलोकन गर्न पाउनु मुख्य विशेषता हो । 

    सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी, टुकुचे, माछापुच्छे« र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिन्छ ।   

    सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गलमा घोरल, मृगलगायत जनावर र पाँचऔँले, सेदक चिनीलगायत जडीबुटी अवलोकन गर्न सकिन्छ । चिमखोलाको मण्डली युवा क्लबले दुई वर्षअघि चिमखोलादेखि पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क–खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क–नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेको थियो । 

    सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । चिमखोलादेखि हिँड्नसक्ने एक दिन र विस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरी पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खायाममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने तथा हिउँदमा गाउँ नजिकैको बेंसीका फाँटमा झर्ने गर्दथे । 

    नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ । चिमखोला घर भई हाल पोखरामा बसोबास गर्नुहुने तारा गर्बुजा पुन र उहाँका भाई गोपिन पुनले सोवाङ धुरीदेखि २०० मिटर तल क्याम्पिङ गर्ने ठाउँ नजिकै पाँच÷पाँच सय लिटर क्षमताका दुई वटा ड्रम राख्नुभएको छ । वडा कार्यालयले पनि थप दुई ड्रम राखेको छ ।  

    हिउँ पग्लिएर र आकाशको पानी ड्रममा सङ्कलन हुने व्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालालाई सुविधा पुगेको छ । वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा सार्वजनिक शौचालय निर्माण गरेको थियो । 

    यहाँ होटल र रेष्टुरेष्ट नभएकाले बन्दोबस्तीका सामानसहित जानुपर्छ । टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर(टान)र तत्कालीन जिल्ला विकास समितिको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । 

    यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
    • नरभक्षी बाघ खोरमा
    • ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    • ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.