सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन मन्त्रालयको जिम्मा सम्हाल्नुभएका घिसिङलाई ज्ञापनपत्र


  •    न्युजभित्तो/३० मंसिर २०८२, सोमबार १६:१२ 
  • दमौली (तनहुँ), २९ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा सम्हाल्नुभएका कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ भयो । 

    जिल्लास्थित शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिकाका जनप्रतिनिधि एवं स्थानीयवासीले मन्त्री घिसिङलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै अलपत्र विकासे आयोजनामा बजेट विनियोजन गरी काम अगाडि बढाउन आग्रह गर्नुभएको छ । 

    मन्त्री घिसिङलाई भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फतका विभिन्न योजनाका बारेमा ज्ञापनपत्र बुझाइएको छ । व्यास नगरपालिका–१३ बेलबासका स्थानीय यमबहादुर आलेले तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १७० घरधुरीलाई मुआब्जा दिलाउन मन्त्री घिसिङ समक्ष आग्रह गर्नुभयो । आलेले तनहुँ जलविद्युत् आयोजनाले यस ठाउँ बाढीको जोखिममा रहेको र पुनर्वासका लागि मुआब्जाको सुझाव भइसकेकाले तत्काल स्थानीयवासीको माग सम्बोधन गर्न घिसिङको ध्यानाकर्षण गराउनुभयो । 

    घुमाउने पुल सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापा मगरले आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउने पुल ११ वर्षदेखि अलपत्र रहेकाले यस विषयमा मन्त्री समक्ष ज्ञापनपत्र प्रस्तुत गर्नुभएको छ । ११ वर्षको अवधिमा ३० प्रतिशत मात्रै प्रगति भएको भन्दै मगरले यस पुल नहुँदा यस भेगका हजारौ जनता मारमा परेको उल्लेख गर्नुभयो । 

    उहाँले भन्नुभयो, “विकासको दृष्टिकोणले जनताको भावना चाहनाअनुसार पुल निर्माण हुनु अति आवश्यक छ । हामीले विभिन्न सङ्घर्षका कार्यक्रम गरिरहेका छौ । जसरी हुन्छ यहाँ पुलको अति आवश्यक छ । यस विषयमा मन्त्री ज्यूलाई गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।”

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पर्यटकीय नगरी बन्दीपुर बजारमा विद्युत्को भूमिगत तार विस्तार गर्नुपर्ने भन्दै मन्त्री समक्ष ज्ञापनपत्र बुझाउनुभयो । बन्दीपुरमा विदेशी तथा स्वदेशी पर्यटकको बाक्लो चहलपहल हुने भन्दै यसको सौन्दर्यताका लागि यो अति आवश्यक रहेको मन्त्री समक्ष ध्यानाकर्षण गराउनुभयो । 

    उहाँले बन्दीपुर ढाडखोला घुमाउने सडकमा बजेट विनियोजन, पिप्लेदेखि बन्दीपुरसम्म जाने सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिदिन मन्त्री समक्ष माग गर्नुभयो । व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले मानुङकोट जाने बाटोमध्ये करिब दुई किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेकाले त्यसतर्फ मन्त्री समक्ष ध्यानाकर्षण गराउँदै मागपत्र बुझाउनुभयो । 

    देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले देवघाटका विभिन्न ठाउँमा सिँचाइ योजनाका लागि बजेटका लागि आग्रह गर्नुभयो । शुक्लागण्डकीमा आयोजित कार्यक्रममा दुलेगौडा हर्कपुर मोटरमार्ग निर्माण सङ्घर्ष समितिका संयोजक राजन रिमालले अलपत्र रहेको दुलेगौडा हर्कपुर मोटरमार्ग निर्माण कार्य तत्काल अगाडि बढाउन मन्त्री समक्ष मागपत्र प्रस्तुत गर्नुभयो । विसं २०५२ मा प्रारम्भ भएको दुलेगौडा हर्कपुर मोटरमार्ग विगत लामो समयदेखि शङ्करमाली कन्स्ट्रक्सनमार्फत निर्माण कार्य अगाडि बढाए पनि हालसम्म अलपत्र रहेको रिमालले उल्लेख गर्नुभयो । 

    भिमादमा नगरप्रमुख दधिराज सुवेदीले लामो समयदेखि अलपत्र रही हाल मुद्दाको क्रममा रहेको श्रृङ्गपथको विषयमा मन्त्री समक्ष ध्यानाकर्षण गराउनुभयो । भिमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले सेती नदी कटानले भिमाद बजार जोखिममा रहेको विषय मन्त्री घिसिङ समक्ष जानकारी गराउनुभयो ।

    सबै ठाउँमा ज्ञापनपत्र बुझेपछि मन्त्री घिसिङले अलपत्र रहेका सडक आयोजनामा ठेक्का रद्द गरेर भए पनि काम सम्पन्न गराउने प्रतिबद्धता जनाउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.