सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ बसपार्क शुद्धीकरण अभियान : चार महिनामा ७२१ पक्राउ


  •    न्युजभित्तो/७ माघ २०७६, मंगलवार ११:५७ 
  • काठमाडौँ । मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोङ्गबुस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान सञ्चालन गरिएको हो ।

    होटल मिलाइदिने भन्दै यात्रुलाई जबर्जस्ती तानेर दुःख दिने बिचौलिया, क्याबिन रेष्टुरेन्टमा बढी रकम लिएर ठगी गर्ने, दोहोरी साँझ सञ्चालनको नाममा सुतेका व्यक्तिलाई ‘डिस्टर्व’ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ । प्रहरीले सोमबार मात्र होटल तथा रेष्टुरेन्ट सञ्चालक र बिचौलियालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मित्रनगर देउराली खाजाघरका सञ्चालक जितेन्द्रप्रसाद कँडेल, रिलेशन रेष्टुरेन्टका सञ्चालक प्रेमबहादुर अछामी, मनोज खाजाघरका सञ्चालक नवीन तामाङ, सृष्टि सुब्बा खाजाघरका सञ्चालक धनबहादुर लिम्बू र बागलुङ कालिका खाजाघरका सञ्चालक कुमारी थापा छन् । पक्राउ पर्ने बिचौलियामा राजेश सुनार, मिलन तामाङ, सुवास तामाङ, प्रेम तामाङ, करन सापकोटा, नरेन्द्र किसान र सुरेश तामाङ रहेका छन् ।

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सामुदायिक सेवा केन्द्र गोङ्गबु, काठमाडौँ महानगरपालिका–२६, टोखा नगरपालिका–९ र नयाँ बसपार्क क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको सहकार्यमा गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा हुने विकृति अन्त्यका लागि सामूहिक जाँच तथा प्रचारप्रसारलाई तीव्र पारेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले चार महिनाको अवधिमा नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा लाग्ने ७२१ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको बताउनुभयो ।

    “नियन्त्रणमा लिइएका ७२१ मध्ये २६१ लाई अभद्र व्यवहार, चोरी, मानव बेचबिखन र लागुऔषध कारोवारमा मुद्दा चलाएका छौँ”, उहाँले भन्नुभयो । मुद्दा चलाइएकामध्ये २०६ पुरुष, ३४ महिला र २१ तेस्रोलिङ्गी छन् । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाउन नयाँ बसपार्कभित्रको विकृति, विसङ्गति अन्त्य गर्नुपर्ने बताउनुभयो । “नयाँ बसपार्क विस्तारै सुध्रिँदै गएको छ, बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलाप र बिचौलिया रोक्नु जरुरी छ”, उहाँको भनाइ छ ।

    नयाँ बसपार्क क्षेत्र रहेको काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले ठमेल आउने पर्यटकलाई बसपार्कमा आउने वातावरण निर्माण गर्नेगरी नयाँ बसपार्कलाई सुधार गर्नुपर्ने बताउनुभयो । “नयाँ बसपार्क क्षेत्र सुधार भएर पर्यटक आएमा यस क्षेत्रका बासिन्दाको आम्दानीसमेत वृद्धि हुन्छ”, उहाँले भन्नुभयो ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले गोङ्गबु क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिएको बताउनुभयो । “नयाँ बसपार्कलाई व्यवस्थित बनाउनु हामी सबैको दायित्व हो, बसपार्क व्यवस्थित भए मात्र राजधानी व्यवस्थित हुन्छ”, उहाँले भन्नुभयो । कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा देशका विभिन्न भागबाट दैनिक एक हजारभन्दा बढी बस आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्क क्षेत्रमा हाल ५०० भन्दा बढी होटल, ५० भन्दा बढी दोहोरी साँझ रेस्टुरेन्ट र एक हजारभन्दा बढी खाजाघर सञ्चालनमा छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.