सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ: प्रधानमन्त्री कार्की


  •    न्युजभित्तो/२५ मंसिर २०८२, बुधबार १३:४१ 
  • पाटन (ललितपुर), २४ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरुमा भ्रष्टाचार अन्त्य चुनौतीका रुपमा देखा परेकोे बताउनुभएको छ ।

    सतहत्तरऔँ अन्तरराष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भ्रष्टाचार आर्थिक अनियमितता मात्रै नभई विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर विषय पनि हो भन्नुभयो ।

    उहाँले भन्नुभयो, “जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छ, यसैले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनबद्धता व्यक्त गरेको छ । पारदर्शिता र जवाफदेहिताको वातावरणबिना मानवअधिकार सुरक्षित रहन सक्दैन ।” लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन हो भन्नुहुँदै प्रधानमन्त्री कार्कीले नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व हो भन्नुभयो ।

    उहाँले भन्नुभयो, “आगामी प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ, समयमै निर्वाचन सम्पन गर्न सबै पक्षलाई सहयोग गर्न सरकार अपिल गर्दछ, साथै निर्वाचनमा खटिने सुरक्षा निकाय कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सरकारले मिलाउनेछ । सम्पूर्ण बालिग नेपालीको मताधिकारलाई सुनिश्चित गर्दै सबै राजनीतिक दललाई निर्वाध रुपमा भाग लिन र निर्वाचनजस्तो यस लोकतान्त्रिक अनुष्ठानलाई सफल पारी मानवअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्नसमेत अनरोध गर्दछु ।”

    प्रधानमन्त्री कार्कीले नेपालको शान्ति प्रक्रियाले विश्वलाई प्रेरणा दिएको छ जनाउँदै सङ्क्रमणकालीन न्यायका बाँकी काम टुङ्गिन ढिलो भइरहेका छन् भन्ने कुरा सरकारको जानकारीमा छ भन्नुभएको छ । प्रधानमन्त्री कार्कीले “पीडितलाई न्यायको अनुभूति नदिलाएसम्म सङ्क्रमणकालीन न्याय पूर्ण हुँदैन, हालै परिमार्जित कानुन र सहमतिहरूको आधारमा यस प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय निष्कर्षमा पु¥याउन सम्बन्धित संयन्त्रहरु सफल हुनेछन् भन्ने विश्वास सरकारको रहेको छ । ”

    उहाँले राष्ट्रिय मानवअधिकार आयोग लोकतन्त्रको पहरेदार संस्था भएकाले यसको स्वायत्तता, स्वतन्त्रता र प्रभावकारितालाई सरकारले उच्च प्राथमिकताका साथ संरक्षण गर्दै आएको जनाउँदै आयोगका सिफारिसहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्धत रहेको बताउनुभयो ।

    प्रधानमन्त्री कार्कीले आयोगलाई ‘क’ श्रेणीमा कायम राख्न संस्थागत तथा भौतिक पूर्वाधार, जनशक्ति र बजेट व्यवस्थापनलाई अझ सुदृढ बनाइनेछ भन्नुभयो। “मानवअधिकारको संरक्षणमा जलवायु परिवर्तन आजको अर्को चुनौतीका रूपमा देखापरेको छ । नेपाल न्यूनतम कार्बन उत्सर्जन गर्ने राष्ट्र हुँदाहुँदै पनि जलवायु परिवर्तनका विनाशकारी प्रभावहरू सबैभन्दा बढी हामीले नै भोग्नुपरेको छ । हिमाल पग्लिनु, अनिश्चित मौसम चक्र, बाढी–पहिरो, तापक्रम वृद्धिजस्ता जलवायुजन्य असरले हाम्रो जीवनका हरेक आयाम–खाद्य सुरक्षा, स्वास्थ्य, बसोबास, शिक्षा–आदिलाई प्रत्यक्ष प्रभावित बनाइरहेका छन् ।” उहाँले भन्नुभयो ।

    प्रधानमन्त्रीले जलवायु परिवर्तन कुनै वातावरणीय मुद्दा मात्र होइनस यो मानव अस्तित्व र अधिकारसँग प्रत्यक्ष सम्बन्धित विषय हो भन्दै सरकार अनुकूलन, जोखिम न्यूनीकरण, दिगो विकास र जलवायु न्यायका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई मजबुत बनाउँदै सक्रिय रूपमा अघि बढिरहेको छ भन्नुभयो ।

    “दिगो विकास लक्ष्यको मूल भावनासहित गरीबी न्यूनीकरण, लैङ्गिक समानता, सामाजिक न्याय, समावेशिता, शान्ति र समृद्धिको दिशामा सरकार निरन्तर अग्रसर छ, नेपाल पक्ष भएका अन्तरराष्ट्रिय मानवअधिकार महासन्धिअन्तर्गतका दायित्वहरू समयमै पूरा गर्नैपर्छ र सन्धिजनित समितिबाट प्राप्त सुझाव तथा सिफारिसहरूको कार्यान्वयनमा सरकार निरन्तर सक्रिय रहनेछ, मानवअधिकार रक्षकहरूको सुरक्षा र पहिचानका लागि आवश्यक कानुन निर्माण, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने प्रयास र छैटौँ राष्ट्रिय मानवअधिकार कार्ययोजनाको निर्माण गरी कार्यान्वयन सरकारका प्राथमिकतामा छन् ।” उहाँले भन्नुभयो ।

    मानवअधिकार केवल कानुनी प्रावधान होइन, यो हाम्रो सामाजिक चरित्र बन्नुपर्छ भन्नुहुँदै उहाँले हामी सबै मिलेर मानवअधिकारलाई दैनिक जीवनको संस्कृतिमा रूपान्तरण गर्न सके मात्र दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल हुन सक्दछ भन्नुभयो ।

    उहाँले मानवअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानवअधिकार रक्षक, नागरिक समाज, पत्रकार, कूटनीतिक समुदाय सबैमा म हार्दिक शुभकामना दिन चाहन्छु भन्नुभएको थियोे ।

    उहाँले अब मानवअधिकार भनेको केवल जीवित रहनु मात्र होइन भन्दै आत्मसम्मानका साथ बाँच्न पाउनु, राज्यका निर्णयमा प्रश्न गर्न पाउनु, स्वच्छ वातावरणमा रमाउने अवसर पाउनु, र डिजिटल विश्वसँग समान र स्वच्छ पहुँच पाउनु पनि मानवअधिकार हो भन्नुभयो ।

    उहाँले भन्नुभयो ,“मानवअधिकारको प्रारम्भिक अवधारणाले मुख्यतः बाँच्न पाउने अधिकार र स्वतन्त्रतालाई जोड दिन्थ्यो, तर आजको २१औँ शताब्दीमा मानवअधिकारको दायरा अत्यन्त फराकिलो बनेको छ, विशेषगरी हाम्रो नयाँपुस्ता जेनजीले मानवअधिकारलाई कानुनी ग्रन्थमा सीमित नराखेर व्यवहारिक नतिजासँग जोडेर हेर्ने गरेको छ । सामाजिक सञ्जाल तथा डिजिटल प्लाटफर्ममार्फत उनीहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सुन्दर प्रकटीकरण हो, र म यसलाई सम्मान गर्दछु, सरकार युवाहरूको डिजिटल अधिकार, गोपनीयताको अधिकार, नवप्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीति निर्माण र कार्यान्वयनमा समाहित गर्न दृढताका साथ अघि बढ्नेछ ।”

    सन् १९४८ डिसेम्बर १० मा जारी भएको घोषणापत्रले अङ्गीकार गरेका यी मूल्य र मान्यताहरूले आज मानव सभ्यतालाई मानव–मूलक बनाउने आधार तयार पारेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री कार्कीले दिवसको अवसरमा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सरकारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभयो ।

    संयुक्त राष्ट्र सङ्घले ७७ औँ अन्तरराष्ट्रिय मानवअधिकार दिवसका लागि ‘मानवअधिकार, हामी सबैको अपरिहार्य आधार’ भन्ने नारा तय गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.