सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी नदीलाई व्यवस्थित गरी सुन्दर र रमणीय बनाइँदै


  •    /१८ बैशाख २०७६, बुधबार १६:१४ 
  • नारायण अधिकारी/रासस
    ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको नारायणी नदीलाई व्यवस्थित गरी सुन्दर र रमणीय बनाइने भएको छ । समग्र नदीको बृहत् गुरुयोजना निर्माण गरी गौरवको आयोजनाको रुपमा यसलाई अगाडि बढाइने भएको हो ।

    प्रदेश नम्बर ३ सरकारले मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईको संयोजकत्वमा विज्ञ समिति गठन गरी यसै महीनाभित्र प्रतिवेदन पेश गर्ने गरी गुरुयोजना निर्माण गर्ने काम गरिरहेको छ । समितिका संयोजक भट्टराईका अनुसार नदीको प्रत्यक्ष अध्ययन, अवलोकन र नापजाँच गरी गुरुयोजना बनाउने काम भइरहेको छ ।

    सोही क्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष, सदस्यसँगै विज्ञले स्थलगत अध्ययन गरेका छन् । सङ्घीय सरकारका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरु, सांसदलगायतले पनि नदीको अवलोकन गरेको भट्टराईले बताउनुभयो । बहुवर्षीय योजनाको रुपमा काम गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न सहज हुने गरी हालका लागि गुरुयोजनाको प्रारम्भिक प्रतिवेदन तयार भइरहेको छ ।

    भट्टराईका अनुसार स्व. मदन भण्डारीको जीप दुर्घटना भएको स्थल दासढुङ्गा र शव भेटिएको स्थल गाँजापुरमा आउँदो वर्षबाट काम गर्न बजेट विनियोजन गर्न मिल्ने गरी गुरुयोजना निर्माण भइरहेको छ । उहाँका अनुसार दासढुङ्गामा अन्तर्राष्ट्रियस्तरको राजनीतिक अनुसन्धान केन्द्रसहितको बृहत् पार्क र गाँजापुरमा आवासीयस्तरको जैविक विविधता केन्द्र स्थापना गरिँदैछ । गाँजापुरमा भण्डारीको तत्कालीन समयमा भेटिएको शवकै आकारको प्रतिमा पनि निर्माण गरिँदै छ ।

    भट्टराईले नारायणी नदीको दुवैतर्फ व्यवस्थित तटबन्ध र चार लेनको सडक निर्माणका लागि गुरुयोजना निर्माण गरिएको बताउनुभयो । सडकसँगै हरियाली बनाएर त्यसपछि मात्र बस्ती वा अन्य संरचना हुनेछन् । नारायणी नदीको पानीमा स्वच्छता ल्याउनका लागि फोहर पानी प्रशोधन गरेर मात्र मिसाउने व्यवस्था गरिँदै छ । कालीगण्डकी र त्रिशूली मिसिएर नारायणी नदी बनेको हो ।

    कालीगण्डकीको उद्गमस्थल मुक्तिनाथ र दामोदर कुण्ड एवम् त्रिशूलीको उद्गमस्थल गोसाइँकुण्डबाटै नदीलाई स्वच्छता ल्याउने गरी काम गर्नका लागि गुरुयोजना निर्माण गरिँदै गरेको भट्टराईले बताउनुभयो । सुन्दर र रमणीय नारायणी नदीमा त्यसपछि पानी जहाज सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

    प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले यस गुरुयोजना बनेसँगै प्रदेश नम्बर ३, गण्डकी प्रदेश र स्थानीय सरकार सहकार्य गरेर नारायणी नदीमा बहुउद्देश्यीय कार्यक्रम अघि बढाइने बताउनुभयो । यस अभियानमा सङ्घीय सरकारले सहयोग गर्ने उहाँको भनाइ छ । नारायणी नदी र जोडिएका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिएको उहाँले बताउनुभयो ।

    विदेशमा नदीलाई संरक्षण गरेर आर्थिक क्रियाकलापमा प्रयोग गरिएको भन्दै थपलियाले त्यही ढङ्गले नारायणी नदी र सँगै रहेका संरचनालाई संरक्षण गरी व्यवस्थित गरिने बताउनुभयो । उहाँले जननेता मदन भण्डारी र जीवराज आश्रितसँग सम्बन्ध जोडिएको ठाउँ भएकाले एउटा तीर्थस्थलको रुपमा हेरिएको बताउनुभयो । नारायणी नदीलाई देशकै एउटा आन्तरिक र बाह्य पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिएको थपलियाले बताउनुभयो ।

    गुरुयोजना बनेसँगै नदीको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने काम अगाडि बढाउने उहाँले बताउनुभयो । नारायणी नदीसँग जोडिएको पवित्र तीर्थस्थल देवघाट हुँदै नगर वन, सामुदायिक वनलगायतका क्षेत्रलाई व्यवस्थित गराइने छ ।

    जिल्ला पर्यटन विकास समिति, चितवनका महासचिव विश्व सुवेदीले पर्यटकीय गन्तव्य जल र जङ्गलमा केन्द्रित भएको भन्दै नारायणी नदीलाई संरक्षण र व्यवस्थित गर्नसके पर्यटन प्रवद्र्धन गर्न ठूलो टेवा पुग्ने बताउनुभयो । पछिल्लो समय नदी किनारमा बनेका उद्योग र होटलका फोहरसँगै पूजाआजामा मूर्ति सेलाउनेजस्ता कामले नदी प्रदूषित बन्दै गएको उहाँले बताउनुभयो ।

    शहर बजारका फोहरसमेत नदीमा सोझै विसर्जन गरिँदै आएको भन्दै उहाँले नारायणी नदीलाई व्यवस्थित गर्नसके तेस्रो पर्यटकीय गन्तव्य चितवनमा थप पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.