सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सन्दर्भ स्तनपान महिना: कार्यस्थलमा छैन स्तनपान कक्ष


  •    न्युजभित्तो/२२ श्रावण २०८२, बुधबार १२:३१ 
  • नारायण अधिकारी

    चितवन, २१ साउन । सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको छ । निजी क्षेत्रमा भने यो सुविधा अझै सबैले पाइसकेका छैनन् । यसो त स्वस्थ बच्चाका लागि कम्तीमा दुई वर्ष नियमित स्तनपान गराउनुपर्ने हुन्छ ।

    तीन महिनापछि नियमित काममा फर्किने कर्मचारी होस् वा पेसा व्यवसायमा लाग्नेहरुले चाहेर पनि आफ्ना सन्तानलाई आवश्यक मात्रामा स्तनपान गराउन पाएका हुँदैनन् । काम गर्ने थलोमा स्तनपान गर्नका लागि ठाउँको अभाव हुने गर्दछ ।

    इलाम घर भएर व्यावसायिक कीट विकास केन्द्र भण्डारामा कार्यरत सुरुचि त्रिपाठीको शिशु अहिले एक वर्ष छ महिना पूरा भएको छ । उहाँ कृषि विकास कार्यालय चितवनमा कार्यालयमा हुँदा नवजात शिशुलाई जन्म दिनुभयो । शिशु जन्मिएपछि तीन महिना नियमित आमाको दूध खुवाएको भए पनि पछि कार्यालयको कामको चापले गर्दा नियमित स्तनपान गराउन पाउनुभएन । उहाँले भन्नुभयो, “घर र कार्यालय दुवैमा सहयोग गर्ने व्यक्ति भयो भने सहज हुने रहेछ ।”

    कार्यालयमा कार्यालय प्रमुख कस्तो छ भन्नेमा भर पर्नुपर्ने हुँदा समस्या हुने उहाँको भनाइ छ । टाढा घर हुनेलाई बच्चाको हेरचाहादेखि नियमित स्तनपानको समस्या हुने गरेको उहाँले बताउनुभयो । बच्चा आमाको दूधमा निर्भर हुने समयमा बच्चालाई छाडेर जाँदा उसको शारीरिक वृद्धिमा समेत समस्या हुने गरेको उहाँले बताउनुभयो ।

    बच्चाको सुनौलो एक हजार दिन भन्ने गरिए पनि सरकारी तथा निजी क्षेत्रमा कार्यरत आमाहरुलाई स्तनपान गराउन समय नमिल्ने उहाँले बताउनुभयो ।

    पत्रकार प्रतिमा सिलवाल आफूले छोरालाई चार महिनामात्रै नियमित स्तनपान गराउन पाएको बताउनुहुन्छ । काठमाडौँमा बसेर काम गर्दैगर्दा कार्यालय टाढा भएकाले दिउँसोको समयमा स्तनपान गराउन नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “एकातर्फ मलाई गाह्रो हुन्थ्यो, अर्कोतर्फ बाबुलाई ल्याक्टोजिन खुवाउनु पथ्र्यो ।” आफूलाई जस्तै धेरै आमाहरुले यो समस्या भोगिरहेको सिलवाल बताउनुहुन्छ ।

    भरतपुर महानगरपालिका–९ शरदपुर निवासी स्वस्तिका चौहानको पनि समस्या उस्तै छ । शिशु जन्मिएको तीन महिनादेखि कार्यालयको काममा आउनुभएकी उहाँको बच्चा अहिले एक वर्ष छ महिनाको छ । नजिकै घर भएकाले त्यस्तो ठूलो समस्या नभए पनि महिला कर्मचारीलाई बच्चा जन्मिएपछि समस्या हुने गरेको उहाँले बताउनुभयो ।

    सरकारी कर्मचारी उहाँ बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालयमा काममा हुँदा बच्चालाई आवश्यकताअनुसार स्तनपान गराउन कठिन हुने बताउनुहुन्छ । हरेक दुई÷दुई घण्टामा बच्चालाई स्तनपान गराउन जान समेत सम्भव नहुने हुँदा समस्या पर्ने गरेको उहाँको भनाइ छ ।

    चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका बाल रोग विशेषज्ञ डा स्वेच्छा अधिकारी स्तनपान बच्चाको पहिलो र सबैभन्दा महत्वपूर्ण आहार भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो केवल खाना मात्र होइन, रोगसँग लड्ने शक्ति दिने प्राकृतिक औषधि पनि हो ।”

    स्तनपान बच्चा र आमा दुवैका लागि अमूल्य उपहार भएको बताउँदै डा अधिकारीले भन्नुभयो, “आमाको दूध सिधै स्तनबाट बच्चालाई दिइन्छ । यसमा कुनै तयारी गर्नु पर्दैन, तापक्रम पनि बच्चाका लागि उपयुक्त हुन्छ र यो पूर्ण रूपमा सङ्क्रमणमुक्त हुन्छ ।”

    आमाको दूधमा बच्चाको रोगसँग लड्ने क्षमतालाई बढाउने तत्वहरू हुने जनाउँदै उहाँले स्तनपान गराइएका शिशुहरूको मस्तिष्क विकास अन्यको तुलनामा बढी राम्रो हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आमाको दूधमा यस्तो तत्व हुन्छ जुन न्यूरोलोजिकल विकासमा सहयोग गर्छ, जुन गाई वा अन्य दूधमा हुँदैन ।”

    बच्चालाई आमासँग नजिक हुनु, सुरक्षित महसुस हुनु र मायाको अनुभूति हुनु यहीँबाट सुरु हुने उहाँको भनाइ छ । डा अधिकारीले भन्नुभयो, “पूर्ण रुपमा स्तनपान गरेको बच्चामा एलर्जी, दम, पेटको सङ्क्रमण, मोटोपन, मधुमेह, उच्च रक्तचाप र मुटुको रोगहरू कम हुने सम्भावना हुन्छ ।”

    बच्चालाई मात्रै नभएर स्तनपानले आमालाई पनि फाइदा हुने उहाँको भनाइ छ । डा अधिकारीका अनुसार बच्चा जन्मेपछि जब आमाले स्तनपान सुरु गर्छिन्, तब पेटभित्रको बच्चा बस्ने अङ्ग (गर्भाशय) खुम्चिन थाल्छ । यसले गर्दा धेरै रगत बग्ने सम्भावना घट्छ र आमाको शरीर चाँडै ठीक हुन मद्दत हुन्छ ।

    स्तनपान प्राकृतिक गर्भनिरोधक हुने बताउँदै डा अधिकारीले क्यान्सरको जोखिम घटाउने बताउनुभयो । भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा खेमप्रसाद पौडेलले स्तनपानका फाइदा बुझाउन आवश्यक रहेको बताउनुभयो । नवजात शिशुलाई दुई वर्षसम्म स्तनपान गराउनुपर्ने उहाँले बताउनुभयो । शिशुहरुको राम्रो बृद्धिविकासका लागि महत्वपूर्ण आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

    कार्यालयमा अनिवार्य रुपमा स्तनपान कक्ष हुनुपर्ने, स्तनपान गराउने आमाहरुलाई अतिरिक्त समय व्यवस्थापन गरिदिनुपर्ने, आम नागरिकले आफ्नो ठाउँबाट स्तनपान गराउनका लागि सहयोग गरिदिनुपर्ने उहाँको सुझाव छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.