सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना


  •    न्युजभित्तो/२ श्रावण २०८२, बिहीबार ११:११ 
  • घोडाघोडी (कैलाली), १ साउन । लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर चुरे पहाडको फेदीमा छ आमपानी झरना । उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्रको यो झरना व्यवस्थित रूपमा निर्माण भई सञ्चालनमा आएपछि पर्यटकको रोजाइमा पर्न थालेको हो ।

    आमपानी क्षेत्र यसअघि पनि गर्मी छल्न स्थानीय र वरपरका जिल्लाका बासिन्दाका लागि रमणीयस्थलका रूपमा परिचित थियो । कोरोनाको समयमा यो क्षेत्र अझ बढी चर्चामा आएको थियो । कोरोना महामारीको समयमा आवतजावत सीमित हुँदा पनि यहाँ आन्तरिक पर्यटकको चाप बाक्लो देखिन्थ्यो । बर्गदा सामुदायिक वनका कार्यालय सचिव ध्वजबहादुर शाही भन्नुहुन्छ,“यो ठाउँ पहिले पनि प्रकृतिप्रेमीका लागि लोकप्रिय थियो, झरना निर्माणपछि भने आन्तरिक पर्यटकको सङ्ख्या झनै बढेको छ ।”

    सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत झरनाको पूर्वाधार निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरिएको थियो । राजमार्गदेखि नजिकै शान्त वातावरणमा रहेकाले पनि क्षेत्रको दिगो व्यवस्थापन गरी पर्यापर्यटन विकास गर्ने उद्देश्यले झरना निर्माण गरिएको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइ प्रमुख डबलबहादुर बोहोराले बताउनुभयो ।

    झरना निर्माण हुनुभन्दा पहिले पनि यहाँ शौचालय र पिकनिक स्थल बनाइएको उहाँले जानकारी दिनुभयो । “पहिले पनि यहाँको विकास लागि हामी थोरै भए पनि लगानी गरहेका थियौँ, हाल रु ४० लाख खर्चेर झरनाको व्यवस्थापन गरेका छौँ । अब यसको विकासले सामुदायिक वनलाई विश्वास छ । अब यसको संरक्षण र सदुपयोग गर्न जरुरी छ”, इकाइ प्रमुख बोहोराले भन्नुभयो ।

    सामुदायिक वनमा रहेको खोलामा झरना निर्माण कार्यका लागि सामुदायिक वनकै अध्यक्ष केशबहादुर रावलको अध्यक्षतामा निर्माण समिति बनाइएको थियो । झरना क्षेत्रमा नुहाउन र पिकनिक गर्न मिल्ने पूर्वाधार विकासका साथै खोलाको व्यवस्थापन गरी झरनामा निरन्तर पानी आपूर्ति हुने व्यवस्था मिलाइएको छ । झरनाको पानी सञ्चित गर्न ट्याङ्की, नुहाउने ठाउँ, फोहोरा, कपडा फेर्ने कोठा, शौचालय र पदमार्ग बनाइएको इकाइ प्रमुख बोहराले जानकारी दिनुभयो । झरनाको हेरचाह, सुरक्षा र व्यवस्थापन सामुदायिक वनले गर्दै आएको छ ।

    सामुदायिक वनका सचिव शाहीका अनुसार हाल झरना क्षेत्रमा शनिबार र सार्वजनिक बिदामा ५०० भन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । अन्य दिनमा दैनिक १०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् । कैलाली, बर्दिया, सुर्खेतलगायत छिमेकी भारतसम्मका पर्यटकहरू पनि यहाँ पुग्ने गरेको शाहीले बताउनुभयो ।

    झरना निर्माणपछि पर्यटकहरुको सङ्ख्या बढे पनि समस्या पनि बढेको उहाँको भनाइ छ । “आमपानी क्षेत्रमा पहिलेदेखि नै सरसफाइको समस्या थियो । झरना निर्माणपछि पर्यटक बढिरहेका छन् । कतिपय पर्यटकले सिसाको बोतल, प्लास्टिकका बोतललगायत फोहर जताततै फालिदिने गरेकाले थप समस्या भएको छ । फोहर फाल्नका लागि बनाइएका डस्टबिन पनि राखेका थियौँ, तिनको प्रयोगमा पनि बेवास्ता भइरहेको छ”, सचिव शाहीले गुनासो गर्नुभयो ।

    अब सामुदायिक वनले सो क्षेत्रलाई व्यवस्थित गर्ने र फोहर व्यवस्थापनका लागि टिकट प्रणाली लागू गरिने जनाइएको छ । “चाँडै नै गाउँपालिकालगायत सरोकार भएकाहरूसँग छलफल गरी न्यूनतम शुल्कमा टिकटको व्यवस्था गर्नेछौँ । यसले आम्दानीका साथै पर्यटकको सुरक्षा र जवाफदेहिताका लागि पनि सहयोग पुग्नेछ”, सचिव शाहीले भन्नुभयो ।

    झरना सञ्चालनबाट उठेको आम्दानी सामुदायिक वनको कोषमा जाने हुँदा त्यसले वन संरक्षण, नयाँ पूर्वाधार निर्माण र स्थानीय रोजगारी सिर्जनामा योगदान पु¥याउने अपेक्षा गरिएको छ । छोटो घुमघाम गन्तव्य खोज्नेहरूका लागि आमपानी झरना नयाँ आशा बनेको स्थानीयको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.