सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरामा डेङ्गी रोकथामका लागि यस्तो छ तयारी


  •    न्युजभित्तो/२२ असार २०८२, आईतवार १३:१६ 
  • गण्डकी, २२ असार । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गी रोगको सङ्क्रमण फैलिइसकेको छ । महाशाखाले यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी सङ्क्रण हुने चेतावनीसहित सतर्कताका लागि अनुरोध गरिरहेको छ । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने भएकाले त्यसपूर्व नै सङ्क्रमण रोकथाम तथा व्यवस्थापनका लागि तीनै तहका सरकारले तयारी सुरु गरिसकेका छन् ।

    गत वर्ष डेङ्गी सङ्क्रमणको ‘हटस्पट’ बनेको गण्डकी प्रदेश राजधानी पोखरामा पनि समुदायस्तरमा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेका छन् । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरको लेखनाथ क्षेत्रमा फाट्टफुट्ट डेङ्गीको सङ्क्रमण देखिन सुरु भएको बताउनुभयो । “डेङ्गी सङ्क्रमणको उच्च जोखिम रहने समय नजिक आइरहेकाले रोकथामका उपायबारे समुदायमा अभिमुखीकरणको काम गरिएको छ”, उहाँले भन्नुभयो,“हाल कक्षा ७ देखि १० सम्मका विद्यार्थी, महिला स्वास्थ्य स्वयम्सेवीकालगायतलाई डेङ्गी सङ्क्रमण रोकथामका विषयमा सचेतना प्रदान गरिएको छ ।”

    जनस्वास्थ्य निरीक्षक रेग्मीले डेङ्गी परीक्षणका लागि ‘किट’ व्यवस्थापन र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका काममा पनि महानगरको स्वास्थ्य महाशाखा लागिरहेको बताउनुभयो ।

    गत वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो । त्यसबेला प्रदेश स्वास्थ्य मन्त्रालयले पोखरा डेङ्गी सङ्क्रमणको ‘हटस्पट’ बनेको उल्लेख गरेको थियो । गत वर्ष भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा यहाँ छ गुणाले डेङ्गी सङ्क्रण बढेको थियो । महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गर्दै आए पनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताउनुभयो । “हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन छ । त्यसैले यस वर्ष सबैलाई सचेत रहन आग्रह गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

    डेङ्गी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्न पनि आग्रह गरिएको छ । डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको जानकारहरूको भनाइ छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय भएको धवलागिरि प्रादेशिक अस्पतालका प्रमुख डा किरण तिवारीले बताउनुभयो ।

    उहाँका अनुसार गत वैशाखयता दुई जना डेङ्गी सङ्क्रमित उक्त अस्पताल आएका छन् । सङ्क्रमितले तुरुन्त परीक्षण गरी आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने डा तिवारीको भनाइ छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापर्ने उहाँले बताउनुभयो । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेङ्गीलाई सामान्य रूपमा नलिन अस्पताल प्रमुख डा तिवारीको आग्रह छ ।

    “डेङ्गी सङ्क्रमण हुँदैमा आत्तिहाल्नु पर्दैन र अधिकांश डेङ्गी सङ्क्रमित सामान्य उपचारपछि निको हुने गरेका छन् । सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने हुनसक्छ”, प्रमुख डा तिवारीले भन्नुभयो,“डेङ्गी भएमा आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त पिउने र जथाभावी औषधि सेवन गर्न हुँदैन । अधिकांश डेङ्गी सङ्क्रमित सामान्य उपचारपछि निको हुने गरेका छन्। प्रमुख चिकित्सक तिवारीले बताउनुभयो ।” गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तनसक्ने खतरा हुने हुँदा उच्च सावधानी अपाउन उहाँको आग्रह छ ।

    गत वर्ष कास्की, तनहुँलगायत जिल्ला डेङ्गी सङ्क्रमणबाट बढी प्रभावित बनेका थिए । असारदेखि कात्तिकसम्म डेङ्गीको सङ्क्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गीले महामारीको रूप लिनसक्ने जनस्वास्थ्य निरीक्षक रेग्मीले बताउनुभयो । जनघनत्व बढी भएका ठाउँमा डेङ्गी छिटो फैलने हुँदा सहरी क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.