सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाउँमै मोतियाबिन्दुको उपचार


  •    न्युजभित्तो/१२ जेष्ठ २०८२, आईतवार ११:४० 
  • बेनी (म्याग्दी), ११ जेठ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाकी ८१ वर्षीया सुकुमा नेपालीले तीन वर्षदेखि आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि राम्रोसँग आँखा देख्न छाड्नुभएको थियो । खर्चको व्यवस्थापन र सहरमा पुगेर आँखाको शल्यक्रिया गर्ने चाँजोपाँजो मिलाउन नसकिरहेको समयमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा नेपालीले घरआँगनमै सहज रूपमा उपचार गर्ने अवसर पाउनुभयो ।

    “आँखाले मधुरो देख्ने भएकी थिएँ, सहरमा पुगेर उपचार गराउन पाएको थिइनँ, बुढेसकालमा फेरि आँखा खुल्छन् जस्तो लागेकै थिएन, गाउँमै आएको शिविरमा उपचार गरेपछि अहिले राम्रोसँग देख्न सक्ने भएकी छु”, नेपालीले भन्नुभयो ।

    शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर उपचार सेवा लिनुभएकी रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटकी धनीमाया बुद्धिजाले घरआँगनमै शिविर राखेर गाउँपालिकाले खर्च नगरिकन उपचार गर्ने सुविधा दिएको बताउनुभयो । रघुगङ्गा गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा तीन दिनसम्म सञ्चालन भएको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविरमा ९५ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

    शनिबार सम्पन्न शिविरमा एक सय ६० जनाले आँखा परीक्षण सेवा लिएका छन् । वडास्तर र गाउँपालिकामा आयोजित शिविरबाट एक हजार ३९ जनाले आँखा परीक्षण सेवा लिएको गाउँपालिकाले जनाएको छ । शिविरमा उपचार सेवा लिएकाहरूले गाउँघरमै सहज र सुलभ तरिकाले आँखाको उपचार गराउन पाएकामा नाचगान गरेर खुसीयाली मनाएका छन् । वृद्धवृद्धा अवस्थामा गुम्दै गएको ज्योति शिविरमा चिकित्सकहरूको उपचारपछि फर्किएर उज्यालो देख्न पाएकामा उनीहरूले नाचगान गरेर खुसीयाली मनाएका थिए ।

    ग्रामीण र दुर्गम गाउँबस्ती रहेको यस गाउँपालिकाभित्र पालिकाको समन्वयमा तिलगङ्गा आँखा प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूले वडास्तरमा गरेको आँखा जाँच शिविरमा धेरै जनामा मोतियाबिन्दुको समस्या भेटिएपछि शल्यक्रियासहितको शिविर राखेर निःशुल्क उपचार गर्ने प्रबन्ध गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

    “दुई महिनाअघि वडा नं २ भगवतीमा गरेको शिविरमा मात्र ४८ जनामा मोतियाबिन्दुको समस्या भएका बिरामी पहिचान भएका थिए, त्यसपछि सबै वडामा आँखा जाँच शिविर राख्यौँ, वडास्तरको शिविरबाट एक सय ४६ जनामा मोतियाबिन्दुको पहिचान भयो, ठूलो सङ्ख्यामा मोतियाबिन्दुका समस्या भएका बिरामी भेटिएपछि विशेषज्ञ टोलीलाई पालिकामै ल्याएर उपचार सेवा दिएका हौँ”, गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो ।

    गाउँमै आँखा उपचारको विशेषज्ञ सेवासहित शिविर सञ्चालन भएपछि सर्वसाधारण नागरिकलाई ठूला सहरमा पुगेर आँखाको शल्यक्रिया गर्नुपर्ने बाध्यता र झन्झट हटेको छभने समय र सम्भावित आर्थिक खर्च पनि बचत भएको छ । बिरामीको आँखाको परीक्षण, मोतियाबिन्दुको निःशुल्क शल्यक्रियासहित चश्मा वितरण गरिएको र निःशुल्क एक सातापछि फलोअप सेवासमेत दिने तयारी गरिएको तिलगङ्गा आँखा प्रतिष्ठान अस्पतालका नेत्र अधिकृत मनकृष्ण डङ्गोलले जानकारी दिनुभयो ।

    शिविरमा बिरामीको दृष्टिसँगै मधुमेह, उच्चरक्तचाप, रगतलगायत परीक्षण र जाँच पनि गरिएको थियो । शिविरमा तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा इन्दिरा पौडेल नेतृत्वको नेत्र अधिकृत र स्वास्थ्यकर्मी र रघुगङ्गा गाउँपालिकाका स्वास्थ्यकर्मीसमेतको टोलीले उपचार, परामर्श तथा औषधि वितरण सेवा दिनुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.