सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण


  •    न्युजभित्तो/१० बैशाख २०८२, बुधबार १२:३७ 
  • सिरहा, १० वैशाख । जिल्लाको बरियारपट्टी गाउँपालिका९४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको बसोबास छ । दक्षिणतर्फ पर्ने हुलाकी सडकबाट नजिकमा रहेको यो बस्तीमा झण्डै चार सय बढी जनसङ्ख्या बसोबास गर्दै आएका छन् ।

    गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा दुई महिनाअघि यहाँ कलधारा निर्माण गरिएपछि एउटा कुवामा निर्भर गाउँलेहरूलाई खानेपानीको समस्याबाट मुक्ति मिलेको छ । बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा हालसम्म ४८ वटा कलधारा उपलब्ध गराइएको हो ।

    “दुई महिना अघिसम्म यहाँका स्थानीय खानेपानीका लागि एउटा कुवामा निर्भर थिए । कुवाको पानी पिउने, हातमुख धुने, नुहाउने, भाँडा माझ्नेलगायत काममा प्रयोग हुन्थ्यो”, स्थानीय अधनियादेवी सदायले भन्नुभयो । अहिले कलधारा निर्माण भएपछि पानीको समस्या समाधान भएको उहाँको भनाइ छ ।

    “हातमुख धुन, घरायसी प्रयोजनका लागि आवश्यक पर्ने पानी भर्न बिहानैदेखि लाइनमा बस्नुपथ्र्यो । पानीका लागि निकै दुःख र हैरानी बेहोर्नुपरेको थियो”, विगतलाई स्मरण गर्दै सदायले भन्नुभयो, “अहिले बस्तीमा १० वटा कलधारा बनाइएको छ । खानेपानीको समस्या समाधान गरेकामा उहाँहरूलाई धन्यवाद ।”

    यो कलधारा झण्डै दुई महिनाअघि संस्था र पालिकाले दिएको स्थानीय अमरिकाकुमारी सदायले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसअघि बस्तीमा रहेको कुवाबाट फोहर पानी आउथ्यो । फोहर नै भएपनि पिउनुपर्ने बाध्यता थियो । अहिले जडान गरिएको ट्युबवेलमा भने सफा पानी आइरहेको छ ।” यसअघि एउटा मात्र कुवा हुँदा नुहाउन बढी समस्या हुने गरेको अनुभव उहाँले सुनाउनुभयो ।

    यस्तै समस्या थियो बरियारपट्टीको वडा नं २ स्थित खोक्सीको दलित बस्तीमा । चालिस परिवार रहेको उक्त बस्तीमा अहिले दुई वटा कलधारा जडान गरिएको बस्तीकी फूलकुमारी पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य केही कलधारा निर्माणको क्रममा छन् ।

    त्यसैगरी वडा नं १ स्थित नर्गीमा रहेको दलित बस्तीमा छ वटा कलधारा निर्माण गरिएको छ । गर्मीको समयमा पानीको प्रयोग गर्न सहज भएको स्थानीय बताउँछन् ।

    यहाँका दलित बस्तीमा पानीको चरम अभाव देखेपछि एकीकृत जीविकोपार्जन सुधार परियोजनाअन्तर्गत कलधारा उपलब्ध गराइएको दलित जनकल्याण युवा क्लबका कार्यक्रम संयोजक लालुप्रसाद पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यत्रो बस्तीका मानिसहरू एउटै कुवाको पानीमा निर्भर रहनुपरेको बाध्यता थाहा पाएपछि हामीले उहाँहरूलाई सहयोग गरेका हौँ । योसँगै हामीले उहाँहरूको जीविकोपार्जनका लागि अन्य सहयोगहरू पनि गरेका छौँ ।”

    संयोजक पोखरेलका अनुसार बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा ४८ वटा कलधारा उपलब्ध गराइएको छ । उक्त कलधाराको रु ३० देखि रु ६० हजारसम्म लागत रहेको उहाँको भनाइ छ ।

    संयोजक पोखरेलले परियोजनाअन्तर्गत दलित र सीमान्तकृत समुदायको जीविकोपार्जन, आम्दानी तथा उत्पादनमा वृद्धि, सरसफाइ, स्वच्छता र खाद्य व्यवहार सुधार तथा सामुदायिक समूहको सशक्तीकरणका लागि भूमिका निर्वाह गरिरहेको जानकारी दिनुभयो ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामजुलुम मण्डलले विभिन्न संस्थाहरूसँग सहकार्य र समन्वय गर्दै विपन्न दलित समुदायको जीवनस्तर उकास्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.