सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सबै समुदायको आस्थाको केन्द्र बन्दै ‘विक्रमबाबा’


  •    न्युजभित्तो/१४ चैत्र २०८१, शुक्रबार १४:२० 
  • चितवन, १५ चैत । यहाँका आदिवासी थारु समुदायले सदियौँदेखि पुज्दै आएको विक्रमबाबालाई अहिले सबै समुदायले आस्थाको केन्द्र बनाएका छन् । थारु समुदायले तीनै लोकका ठकुराइन ९मालिक०का रुपमा पुज्ने गरेको विक्रमबाबालाई पछिल्लो समय सबै जातजातिले पुज्ने गरेका हुन् ।

    चितवन राष्ट्रिय निकुञ्जभित्र रुखको फेदमा रहेको विक्रमबाबा पूजास्थलमा तराई र पहाडी मूलका साथै सबै जातजातिले पुज्ने गरेका छन् । थारु कल्याणकारी सभा चितवनका सचिव एवं पत्रकार सन्तकुमार चौधरी थारु समुदायको पनि गुरौँ घरानाले मात्रै पुज्ने गरेको विक्रमबाबामा विस्तारै थारुकै अरु समुदाय पनि भाकल गर्न जाने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “थारु समुदायको पनि गुरौँ घरानाले मात्रै पुज्दथे, विस्तारै थारु समुदायका अरुले भाकल गर्ने र पूजा गर्न थाले, अहिले सबै समुदाय भाकल गर्ने र पूजा गर्न जाने गरेका छन् ।” पछिल्लो समयमा पूजा विधिमा विकृति आउँदै गएको उहाँको भनाइ छ ।

    पत्रकार चौधरीले भन्नुभयो, “परम्परागत पूजा विधिभन्दा बाहिर गएर पूजा हुन थालेको छ, अन्य मठमन्दिरमा जस्तो पूजा विक्रमबाबामा हुने गरेको छ ।” विक्रमबाबाको छट्टै पूजा विधि रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले भाकल पूरा भएपछि बलि दिने चलन थियो, अहिले सुरुमै बलि चढाउन जाने गरेका छन् ।”

    सन्तान नहुनेले सन्तान माग्ने र सन्तान प्राप्तपछि छोरा भए विक्रम र छोरी भए विक्रमियाँ नामकरण गर्ने गरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “भाकल गरेर सन्तान भएपछि ‘एसरमवा’ भनेर पनि नामकरण गरिन्थ्यो ।”

    विक्रमबाबामा बलि चढाइसकेपछि सोही ठाउँमा खाएर आउनुपर्ने परम्परा रहेको चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बलि चढाएर घरमै ल्याउन थालिएको छ, यो परम्परा विपरित छ ।” ऐना, काइँयो, पोते जस्ता वस्तु चढाउन थालिएको भन्दै पत्रकार चौधरी यस्तो परम्परा विगतमा नरहेको बताउनुहुन्छ । परम्परागत पूजा विधिलाई कायम गराउन थारु कल्याणकारी सभा लागिपरेको उहाँको भनाइ छ । बोका, परेवाजस्ता पशुपछीको विक्रमबाबामा बलि दिने चलन रहेको छ ।

    हरेक वर्ष जस्तै यस वर्ष पनि चैत कृष्णपक्ष औँसीका दिनदेखि शुक्लपूर्णिमासम्म विक्रमबाबामा पूजा र मेला लाग्ने भएको छ । यही चैत १६ गते अर्थात् शनिबार बिहानबाट विक्रमबाबामा पूजा एवं मेला सुरु हुने थारु कल्याणकारी सभा चितवनले जनाएको छ ।

    पूजा व्यवस्थापनका लागि केरुङ्गा मध्यवर्ती सामुदायिक वन, पटिहनी उपभोक्ता समिति र घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि खटिनेछन् । मेला व्यवस्थापनका लागि घैलाघारी मध्यवर्ती सामुदायिक वनले काम गरिरहेको केरुङ्गा उपभाक्ता समितिका अध्यक्ष अर्जुन भुजेलले बताउनुभयो । उहाँका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाले पूजा स्थलको सुरक्षासहित अन्य व्यवस्थापनमा सहयोग गर्नेछन् ।

    भरतपुर महानगरपालिका–२३ को संरक्षकत्वमा मेला सुरु गर्न लागिएको हो । पहिलो पटक थारु समुदायका गुरुलाई मुख्य पुजारीका रुपमा तोकेर पूजाको तयारी गरिएको छ । तयारीस्वरुप पूजास्थलको सरसफाइ, खानेपानी, हेल्प डेस्क, दमकल, एम्बुलेन्स र पानीट्याङ्कीको व्यवस्था गरिएको छ ।

    विभिन्न उपसमिति गठनगरी तयारी गरिएको पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शङ्कर महतोले बताउनुभयो । उहाँका अनुसार आउने भक्तजनलाई लक्षित गर्दै चार तहबाट सुरक्षा व्यवस्था गरिएको छ । पूजा स्थलमा नेपाली सेना, मेला व्यवस्थापनका लागि नेपाल प्रहरी, नगर प्रहरी र स्वयंसेवक परिचालन गरिनेछ ।

    पार्किङ व्यवस्थापन, बजार व्यवस्थापन, मेला व्यवस्थापनलगायत काम भइरहेको उहाँले बताउनुभयो । मेलाका संरक्षक वडा नं २३ का अध्यक्ष दीपक दवाडीका अनुसार मेलामा ३०० स्टल’ रहनेछन् । त्यहाँ भक्तजन ठगिनु नपरोस् भनेर मूल्यसूची टाँसिनेछ । विद्यालयको वार्षिक परीक्षा सकिएकाले यस वर्ष आठ लाखभन्दा बढी भक्तजन मेला भर्न आउने अनुमान गरिएको उहाँको भनाइ छ ।

    चैत ३० गतेसम्म सञ्चालन हुने पूजा एवं मेलालाई व्यवस्थित गर्न स्थानीय जुटेका छन् । बिहान ७ देखि बेलुका ५ बजेसम्म पूजाका लागि निकुञ्जमा प्रवेश खुला गरिनेछ भने मेला बिहान ६ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिनेछ । पूजा निकुञ्जभित्र भए पनि मेला भने भरतपुर–२३ स्थित घैलाघारी सामुदायिक वनको चौरमा हुनेछ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.