सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’


  •    न्युजभित्तो/२९ फाल्गुन २०८१, बिहीबार ११:२९ 
  • काठमाडौँ, २९ फागुन । चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो । चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको बहाना पनि हो । त्यसैले हिजोआज जताततै विभिन्न ‘ब्रान्ड’मा चियापसल खुलेका छन् र ती पसलमा मानिसहरु झुम्मिएकै देखिन्छन् । नेपालीका लागि चिया संस्कृति नयाँ भने हैन । बयस्कदेखि वृद्ध अवस्थाकाले पनि चियाको चुस्की लिन्छन् । चियाले न भोक मेट्छ न पोषण दिन्छ तर सम्बन्धहरू न्यानो बनाइराख्छ भनेर विश्लेषण गर्नेहरू पनि छन् । त्यसैले चियालाई थकाइ मार्ने, तलतल मेट्ने, तनाव कम गर्ने अर्थात् ‘फ्रेस’ हुने कडीका रूपमा समेत अथ्र्याउने चलन छ ।

    त्यसैले सहरबजारमा बग्रेल्ती चियाका ब्रान्ड खुलेका छन् । चियावाला, चिया चौतारी, चियासंसार, मड्का चिया आदि‘। यिनै मध्येको एक हो ‘पोखरेल मट्का चिया’ । राजेश शर्मा (पोखरेल दाइ) ले विगत एक वर्षदेखि परम्परागत चियापसललाई फरक शैलीमा नयाँ ब्रान्डका रुपमा स्थापित गर्नुभए छ । सिंहदरबारको पूर्वीगेट अनामनगरमा रहेको यो पसल त्यहाँ पुग्नेहरूको रोजाइमा पर्न थालेको छ । मड्का मात्रै हैन १९ थरीका चियाको चुस्कीको स्वाद पाइने भएकाले यहाँ ग्राहकको भीड लाग्ने गरेको छ । नेतादेखि कलाकार, वकिल पत्रकार तथा चियाका पारखीहरूका माझ यो पसल चर्चाको विषय बन्ने गरेको छ ।

    काठमाडौँ महानगरपालिका–२९ का वडा सचिव शम्भु बरालका अनुसार वडाभित्र १०० हाराहारी चिया पसल खुलेका छन् । तीमध्ये कतिपय ‘चिया पसल’ भनेर दर्ता छन्भने धेरैजसो बेकरी, खाजाघर आदि नामले सञ्चालनमा छन् । पछिल्लो समय चिया व्यवसायमा आकर्षण बढेको र विभिन्न ब्रान्डका चिया पसल खुल्नेक्रम जारी रहेको उहाँले बताउनुभयो ।

    पुर्खेउली घर स्याङ्जा भएका पोखरेलले चियाको यो ‘ब्रान्ड’ स्थापित गर्नुपछाडिको सङ्घर्ष लामो छ । १३ वर्षको उमेरदेखि पेसा व्यवसाय गर्नुभएका उहाँले विस २०५७ देखि अनामनगरमा चिया पसल सुरु गर्नुभएको थियो । त्यअघि उहाँले नवलपराशीमा गण्डकी गेष्ट हाउस, किराना पसल र पान पसल पनि सञ्चालन गर्नुभयो । त्यसपछि उहाँ चिया पसलमा जोडिनुभयो तर त्यसबाट फाइदा नभएपछि शर्मा रोजगारीका लागि युरोपका विभिन्न देशमा भाँैतारिनुभयो । “युरोपमा साथीभाइको व्यापार–व्यवसायमा जोडिने भनेर विदेश गए, विदेश र नेपालको लगानीको तुलना गरे । विदेशमा जोखिम देखेँ”, उहाँले भन्नुभयो । शर्माले डेनमार्क, बेल्जियम, पोर्चुगल, नेदरल्यान्डमा चियाको नयाँ तौरतरिका सिक्ने अवसर पाउनुभयो र त्यही सीपलाई एक वर्षदेखि नेपालमै चियाको नयाँ ब्रान्डका रूपमा स्थापित गरेको सुनाउनुभयो ।

    चियाका पारखीको ध्यान खिच्न पोखरेलले चिया पसल र सामाजिक सञ्जालमा विभिन्न नाराहरु पोष्ट गर्नुहुन्छ । ‘चियामा रोइलो होइन रमाइलो गरौँ । एक कप हजार खुसी, पोखरेल चिया तपाइँको सन्तुष्टि’ यी र यस्ता साङ्केतिक नाराले पनि पोखरेल मटका चिया अनामनगरमा अरूभन्दा भिन्न छ ।

    उन्नाइस थरीका चिया

    पोखरेल मट्का चियामा १९ वटा चियामा १९ प्रकारका मसलाको फरक स्वाद पाउन सकिन्छ । “दूधजन्य १९ थरी र पानीजन्य अरू फरक चिया पनि पाइन्छ, लालीगुराँस, लेमनग्रासलगायत मागअनुसारका चिया पनि हामीले दिने गरेका छौँ”, पोखरेलले भन्नुभयो । फरक फरक मसलाको समिश्रण, त्यसैले उहाँ एउटा कपको रु २५ देखि १३० सम्म लिनुहुन्छ ।

    उहाँले अनामनगर क्षेत्रका मात्र नभई कालीमाटी, स्वयम्भू, पेप्सीकोला, बालाजु, पुतलीसडकलगायत स्थानबाट ग्राहकहरू आफूकहाँ आउने गरेको बताउनुभयो । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ठाकुर गैरेलगायत नेताहरूले बेलामौकामा आफ्नो चिया पिउने गरेको उहाँले सुनाउनुभयो । शर्माले यसैबाट परिवारको खर्च राम्रोसँग चलेको र पाँच जनालाई रोजगारी दिएको बताउनुभयो ।

    करिब रु २० लाख लगानीमा सञ्चालन गरिएको पोखरेलको मट्का चियाको ‘चेन’ पनि विस्तार हुँदैछ । छिट्टै कतारमा र काठमाडौँका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

    विगत २५ वर्षदेखि चिया बेच्दै आउनुभएका शर्माले अरू शाखामा अरबी, इरानी, गुलाफलगायत १० थरी चियाको स्वाद चखाउने योजना बनाउनुभएको छ । उहाँले ग्राहकको इच्छाअनुसार चियासँग बेकरी आइटम, मःम, चाउमिन, भुटेको र उसिनेको मकै, कोदोको सुक्खा रोटी, मोही, दही आदि परिकार पनि पस्किनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.