सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म


  •    न्युजभित्तो/२५ फाल्गुन २०८१, आईतवार ११:०७ 
  • इलाम, २५ फागुन । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ । कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने औसत पर्यटकको ‘सेड्युल’ हुन्छ । तर, घुमफिर गरेर घर फर्किँदा पर्यटक रित्तै जाँदैनन् । उनीहरु नगरपालिकाको केन्द्र फिक्कल बजार पुगेर कोसेली किन्छन् ।

    दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप र बम्बइसन साथै चिया र अकबरे कोसेलीका रूपमा लगिने गरेको छ । “कार्यालयमा साथीहरूले इलामको कोसेली खोई भन्छन्”, चितवनबाट घुम्न आउनुभएका रोशन सापकोटाले भन्नुभयो, “ललिपप नलिई नआउनु भनेका छन् । रु छ हजारको किनिसके, जुन हेर्यो, त्यहीँ लैजानुजस्तो छ ।”

    कोसेली सामान बिक्रीका लागि बजारमा लहरै सजाएर राखिएको छ । एउटा पसलले सामान्यतया पाँचदेखि १० हजारसमम्म बिक्री गर्छन् । फिक्कलमा सयभन्दा बढी पसल खुलेका छन् । “हिजो रु नौ हजारको बिक्री भयो । कुनै दिन चार– हजारको मात्रै बिक्छ । सिजन सुरु हुँदैछ । पोहोर त सिजनमा दिनकै रु ३० हजारसम्म बेचेको”, स्थानीय सुजन सापकोटाले भन्नुभयो ।

    यहाँ आउने पर्यटक खाली हात जाँदैनन् । कुनै न कुनै कोसेली बोकेर जाने चलन नै बसिसकेको स्थानीय बताउँछन् । “इलाम आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन, इलामबाट छुर्पी, बम्बइसन र ललिपप पनि खरिद गरेर लग्नैपर्छ भन्ने मान्यता नै स्थापित भएको छ ।” स्थानीय व्यापारी अमीर आचार्य भन्नुहुन्छ, “फिक्कलमा सबैभन्दा बढी चल्ने कोसेली बस्तु हो । धेरै पसल छन्, कुनै खाली हुँदैनन् ।”

    काठमाडौँमा व्यवसाय गरिरहनुभएका दीपक खड्का चिनजानका कोही इलामबाट काठमाडौँ आउने सूचना पाए इलामे कोसेली मगाइहाल्नुहुन्छ । “छोरीले इलामको मिठाई भनेपछि मरिहत्ते गर्छिन्”, उहाँले भन्नुभयो, “इलामको ललिपप र छुर्पी नमगाइ हुँदैन ।”

    दूध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसनले अहिले इलामको घरेलु उद्योगलाई टेवा पुगेको छ । अचेल यहाँका गाउँगाउँमा छुर्पी, ललिपप र बम्बइसन बनाइन्छ । यी मिठाई अहिले ‘इलाम ब्रान्ड’का रुपमा स्थापित हुँदै गएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उर्गेन लामाले बताउनुभयो ।

    जिल्लामा दुई दर्जनको हाराहारीमा ललिपप उद्योग छन् । यहाँ उत्पादित मिठाइको माग स्थानीय बजारका साथै काठमाडौँ र भारतलगायत अन्य मुलुकमा समेत रहेको उद्यमी शिवलाल प्रधान बताउनुहुन्छ । सानो एक प्याकेट ललिपपको खुद्रा मूल्य रु ५० र ठूलो रु एक सयमा बिक्री हुँदै आएको छ । उपहारका लागि कलात्मक ढङ्गले प्याकेजिङ गरिएको ‘गिफ्ट ललिपप’समेत इलामका बजारमा पाइन्छ ।

    इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दूध सङ्कलन गर्दै आएका छन् । स्थानीय बजार क्षेत्रमा दैनिक पाँच हजार लिटर दूध बिक्री हुने गरेका थियो । छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेका थिए । ललिपप, बम्बइसनजस्ता मिठाई उद्योगले पाँच हजार लिटर र भारतीय बजारमा तीन हजार लिटर दूध बिक्री हुने गरेको छ । इलाममा १८ चिज कारखाना, एक सय ५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ ।

    इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.