सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ग्याल्पो ल्होसारः शेर्पा समुदायको पहिचान, परम्परा र नयाँ वर्षको उल्लास


  •    न्युजभित्तो/१६ फाल्गुन २०८१, शुक्रबार १६:०१ 
  • ताप्लेजुङ, १६ फागुन । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पापुङका तेन्जिङ शेर्पा बुधबार घरबाट ल्होसार मनाउन काठमाडौँतर्फ प्रस्थान गर्नुभयो । उहाँको परिवार केही महिनाअघि मात्र पापुङबाट काठमाडौँ सरेकाले आफन्तहरूसँग नयाँ वर्ष मनाउन उहाँ राजधानी जानुभएको हो ।

    स्थानीय कञ्चन शेर्पा भने बिहीबार बिहानदेखि नै ल्होसारका लागि आवश्यक तयारीमा व्यस्त हुनुहुन्छ । उहाँले घर तथा पूजा कोठा सजाउँदै विभिन्न सामग्री जुटाउनुभएको छ ।

    मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा पनि आफ्नो परिवारसँग ल्होसार मनाउन बिहीबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ आइपुग्नुभयो । उहाँले परिवार फुङ्लिङमै रहेकाले गाउँबाट सदरमुकाम आउनुभएको हो । यी त केही प्रतिनिधिमात्र हुन् । अहिले हिमाली शेर्पा समुदायहरुका आ–आफ्नो गाउँघर तथा आफ्नो परिवार भएको ठाउँमा ल्होसार मनाउन पुगेका छन् ।

    तेन्जिङ शेर्पाका अनुसार आज बिहान पूजापाठ गरेर आफ्नो परिवारसँग विभिन्न परिकार बनाएर खाने दिन हो । आजको दिन शेर्पा समुदायका परिवार आफ्नै घरमा बसेर दुःख सुखका कुरा गर्ने विभिन्न परिकार बनाएर खान्छन् ।

    यो पर्व शेर्पा समुदायको प्रमुख चाड हो । जसलाई नयाँ वर्षका रूपमा फागुन शुक्ल प्रतिपदाका दिन विशेष उल्लासका साथ मनाइन्छ । फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुगोलाका वडा अध्यक्ष तथा स्थानीय छेतेन लामाका अनुसार यस वर्ष २१५२ औँ ग्याल्पो ल्होसार परेको छ ।

    यो पर्व १२ वर्ग (मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, र बराह) मा विभाजित गरिएको छ । “हामी हिमाली शेर्पाहरू तिब्बतेन पात्रोअनुसार पर्वहरू मनाउँछौँ । नेपाली र तिब्बतेन पात्रो मेल नखाने भएकाले कहिलेकाहीँ एक वर्षमा १३ महिना वा ११ महिना पर्न सक्छ,” शेर्पा बताउनुभयो ।

    नेपालमा शेर्पाहरूले एक साता ल्होसार मनाउने परम्परा छ भने तिब्बतमा यो पर्व दुई साता मनाइन्छ । शेर्पाहरुका अनुसार ग्याल्पो ल्होसारको सुरुआत भोटका नवौँ राजा उदे गुङ््यालको पालादेखि वसन्त पर्वका रूपमा भएको मानिन्छ ।

    पर्वको पहिलो दिन बिहान सबेरै उठेर घरमा पूजापाठ गरी गुम्बा जाने चलन छ । दोस्रो दिन आफन्तहरू भेटघाट गर्ने, पारिवारिक जमघट गर्ने र विशेष परिकार पकाएर भोज खाने गरिन्छ । तेस्रो दिन बुद्ध धर्म रक्षाका लागि विभिन्न धर्मपालहरूको (भैरव, महाकाल आदि) पूजा गरिन्छ ।

    डण्डु लामाका अनुसार ल्होसारका अवसरमा घर वरपर सफाइ गर्छन् । पुरानो वर्षका नकारात्मक ऊर्जालाई हटाएर नयाँ सङ्कल्पका साथ वर्षको सुरुआत गरिन्छ । साथै, चौबाटोमा फोहर फाल्ने चलन रहेको छ, जसलाई नकारात्मकताको परित्यागको सङ्केत मानिन्छ । यस अवसरमा विशेष परिकार ‘गुथुक’ तयार गरिन्छ, जसमा मकै, भटमास, केराउ, चना, मुला, चामलको आटा आदि मिसाइन्छ । गुथुक आफ्नो कूल देवतालाई चढाइएपछि मात्र परिवारका सदस्यहरूले ग्रहण गर्छन् ।

    साथै, परिवारका सदस्यको लागि पिठोका डल्ला बनाइन्छ, जसमा कागज, घीउ, नून, खुर्सानी, कोइला आदि राखिन्छ । ती वस्तुहरू व्यक्तिको स्वभाव दर्शाउन प्रयोग गरिन्छ । जस्तै कागज अध्ययनशीलताको, घिउ चाप्लुसीको, खुर्सानी रिसाहा स्वभावको र कोइला डाहको प्रतीक मानिन्छ ।

    लामाहरुका अनुसार ल्होसारको पहिलो बिहान परिवारका सदस्यहरू धारामा गई स्नान गरी पूजा गर्छन् । त्यसपछि जल कूल देवतालाई चढाइन्छ । यस अवसरमा ‘छ्याङगुल’ नामक विशेष परिकार तयार गरिन्छ । जसमा जाँडमा छसर्पी, बदाम, नरिवल, किसमिस आदि मिसाइन्छ । ल्होसारको विशेष दिन शुभसाइत हेरी पहाड वा अग्लो स्थानमा गई लुङ्दार ९ध्वजा० टाँग्ने गरिन्छ । लुङ्दारमा विभिन्न मन्त्र लेखिएका हुन्छन् । जसले शान्ति, समृद्धि, र दीर्घायुको कामना दर्शाउँछ । यो कार्य लामाबाट अभिषेक गरी सम्पन्न गरिन्छ ।

    नेपाल सरकारले ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ । जसले यो पर्वलाई राष्ट्रिय पहिचान दिलाएको छ । सांस्कृतिक विविधताका कारण शेर्पा समुदाय मात्र नभइ अन्य समुदायका मानिसहरू पनि ल्होसार पर्वको रमझममा सहभागी हुन थालेका छन् । परम्परा र आधुनिकता दुवैलाई समेट्दै ग्याल्पो ल्होसार झन् व्यापक रूपमा मनाउने क्रम बढिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.