सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सल्टिँदै लहानमा खानेपानीको समस्या


  •    न्युजभित्तो/१६ फाल्गुन २०८१, शुक्रबार १३:१० 
  • सिरहा, १६ फागुन । लहान नगरपालिका–२४ मलन्हाकी सुशीला सदायलाई छ महिना अघिसम्म इनारको धमिलो पानी खानुपरेको तीतो अनुभव ताजै छ । हिउँदको समयमा थोरै रसाउने त्यही इनारको धमिलो पानी गाउँभरिका मानिसहरुले बाँडीचुँडी पिउनुपर्ने बाध्यता थियो । त्यसमाथि बालबच्चा बिरामी परिरहने समस्या उहाँले अझै विर्सन सक्नुभएको छैन । इनारकै पानी खाने, नुहाउने, लुगा धुनेलगायत काममा प्रयोग गर्नुपर्दथ्यो । करिब १७ घरपरिवारले प्रयोग गर्ने दलित बस्तीको सामूहिक इनार सडक छेउमै छ ।

    वैशाख—जेठको उखरमाउलो गर्मीमा रातभर जाग्राम बसि एक घैला पानीे जोहोको लागि गरेको कष्टपूर्ण सङ्घर्ष सुशीलाका लागि कहालीलाग्दा विगत थिए । तर, गत वैशाखदेखि उहाँले नेपाल खानेपानी संस्थान लहान शाखाबाट धारा जडान गरेसँगै वर्षौँदेखिको खानेपानी समस्याबाट छुट्कारा पाउनुभएको छ ।

    “अब पानीको समस्या छैन । घरमा धारा जोडेदेखि जतिबेला मन लाग्यो त्यतिबेला सफा र स्वच्छ पानी प्रयोग गर्न पाएका छौँ । एकमुठ्ठी धमिलो पानी पिउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ”, सुशीलाले भन्नुभयो, “पहिलेजस्तो बालबच्चा बिरामी भएका छैनन् । पानी नै त रहेछ सबै कुराको मुख्य कारण । पहिले भोगियो, अहिले बल्ल बुझियो ।” उहाँले धाराबाट खेर जाने पानीबाट करेसाबारीमा तरकारी तथा फलफूलखेती गर्ने बताउनुभयो । टोलका १७ दलित घरपरिवारले अहिले धारा जडान गरेको छन् ।

    त्यस्तै लहान नगरपालिका–४ सुन्दरपुरकी लिलमदेवी सदायसँग पनि सुशीलाको जस्तै पानी अभावले धेरै पीडा खेप्नुपरेको विगत थियो । तर अहिले उहाँले खानेपानीको धारा जोड्नुभएको छ । पानीको अभावमा भाँडा माझ्न नजिकै रहेको बलान नदी जानुपर्ने बाध्यताबाट उहाँलाई मुक्ति मिलेको छ । आफ्नै घरमा धारा जडान भएदेखि उहाँ खुसी हुनुभएको छ । “पहिलाको दुःख सम्झेर पानी खेर फालेको छैन । सधैँं यस्तै पानी आइरहोस्”, उहाँले भन्नुभयो । लिलमदेवी र सुशीलादेवी जस्तै लहान नगरपालिकाका विषेशगरी गृहिणी खानेपानीको सुविधा भएपछि खुसी भएका छन् ।

    यसरी लहानका गाउँ र बस्तीमा सहजरुपमा खानेपानीको सेवा विस्तार हुनुमा नगरपालिका, खानेपानी संस्थान तथा गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको छ । चुरेसँग जोडिएको यस नगरक्षेत्रमा भूमिगत पानीको स्रोतहरु सुक्दै जान थालेपछि यहाँका स्थानीय पछिल्लो समय खानेपानी अभावको दिगो समाधानको खोजीमा थिए । ठीक त्यसैबेला गैरसरकारी संस्था ‘वाटर एड’ नेपालको सहयोग तथा लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान र नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा सन् २०१८ देखि विकन परियोजना सञ्चालन भयो । केही वर्ष पहिलेसम्म सीमित व्यक्तिले फाट्टफुट्ट धारा जडान गरेको पाइन्थ्यो भने परियोजना सञ्चालनपछि धारा जोड्नेको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ ।

    स्थानीयमा जनचेतनाको अभावमा कुवाकै पानी खोने र त्यहीँ पानी वस्तुभाउलाई पनि खुवाउने प्रचलन व्याप्त रहेको बताउनुहुन्छ दलित जनकल्याण युवा क्लबका विकन परियोजना कार्यक्रम प्रबन्धक राजेशकुमार लोहनी । उहाँले भन्नुभयो, “त्यतिबेला मुख्य सहरी क्षेत्रमा मात्र धारा जोड्ने काम हुन्थ्यो । गाउँघरमा पैसा तिरेर धारा जोड्ने कल्पनासम्म पनि मानिस गर्दैन थिए । कुवा, इनार, चापाकलमै निर्भर थिए अधिकांश नागरिक ।” परियोजनापछि स्थानीय सङ्घ संस्था तथा सरोकारवाला निकायको सक्रियतामा धारा जडान गर्ने सेवाग्राहीको सङ्ख्या बढदै गएको उहाँको भनाइ छ ।

    नेपाल खानेपानी संस्थान शाखा कार्यालय लहानका खानेपानी वितरण शाखा प्रमुख लट्टु यादवका अनुसार हालसम्म नगरक्षेत्रमा पाँच हजार तीन सय १९ धारा जडान भएका छन् । यसमध्ये एक हजार दुई सय २९ दलित परिवारले धारा जडान गरेका छन् । नगरका विभिन्न वडामा गरी हालसम्म एक सय १५ किलोमिटर खानेपानीको पाइपलाइन विस्तार भएको छ ।

    प्रमुख यादवका अनुसार विसं २०५६ सालदेखि सञ्चालित यहाँको खानेपानी संस्थानमा छ वर्षअघि सुरु भएको विकन परियोजना सञ्चालन हुनुभन्दा अगाडि करिब दुई हजारको सङ्ख्यामा मात्रै खानेपानीको धारा जडान भएको थियो ।

    उहाँका अनुसार लालपुर्जा भएका व्यक्तिलाई धारा जडानका लागि रु छ हजार तीन सय ९० खर्च लाग्ने गरेको छ । जसमा रु तीन हजार धरौटी, रु तीन हजार दुई सय २० राजस्व, रु ४० खानेपानी कार्ड, निवेदन शुःल्क रु २० र पहिलो महिनाको न्यूनतम शुल्क रु एक सय २० लाग्ने गर्छ । लालपूर्जा नभएको सुकुम्बासीलाई धरौटी, राजस्व र कार्ड गरेर रु १० हजार एक सय १० लाग्ने गर्छ । न्यूनतम रु एक सय २० मा सेवाग्राहीले १० हजार लिटर पानी प्राप्त गर्ने गरेका छन् । त्यसपछि प्रतियुनिट रु २५ लाग्छ । एक युनिटमा एक हजार लिटर पानी हुन्छ ।

    दलित समुदायलाई अनुदान
    लहान नगरपालिकामा करिब २० हजार सुकुम्बासी दलित समुदायको जनसङ्ख्या रहेको तथ्याङ्क छ । उनीहरुसँग घरजग्गाको लालपुर्जा छैन । त्यसैले उनीहरूलाई नगरको र संस्थाको संयुक्त अनुदान उपलब्ध गराइएको छ । धारा जडानका लागि नगरपालिकाले रु तीन हजार सात सय २० र परियोजनाले रु तीन हजार दुई सय ७०सहयोग गर्ने गरेको छ । त्यसकारण यहाँका दलित समुदायले धारा जडान शुल्क रु तीन हजार एक सय २० मात्र तिरे पुग्छ ।

    त्यसैगरि नगरपालिकाको वडा नं २, ७ र १४ का दलित समुदायमा धारा जडान गराउन त्यहाको वडा कार्यालयले सहयोग गरेको छ । वडा नं २ मा ६३ घर, वडा नं ७ मा २८ घर र वडा नं १४ मा ६३ दलित घरपरिवारले वडाको आर्थिक सहयोगमा निःशुल्क धारा जडान गरेका छन् । उनीहरूलाई परियोजनाले धारा सामग्री पनि सहयोग गरेका छ ।

    खानेपानीकोे क्षेत्र विस्तार
    लहान नगरपालिकामा जम्मा २४ वटा वार्ड रहेका छन् । खानेपानी वितरण शाखा प्रमुख यादवका अनुसार विकन परियोजना सञ्चालन हुनुअघि करिब दुई दशकसम्म वडा नं १ देखि १० सम्ममात्रै खानेपानी संस्थानले काम गरिरहेको थियो । अहिले वडा नं १३, १४, १६ र २४ मा खानेपानीको पाइपलाइन तथा धारा जडान विस्तार भएका छन् । उहाँका अनुसार धाराको माग भए बमोजिम २४ वटै वडामा खानेपानीको सेवा विस्तार हुनेछ । जसमध्ये वडा नं। २४ मा पछिल्लो सेवा विस्तार गरिएको हो ।

    वडा नं २४ किसान बाहुल्य रहेको वडा पनि हो । यहीँका किसानले उत्पादन गरेको तरकारीले नगरको करिब ७० प्रतिशत माग धानेको वडाअध्यक्ष राशलाल राय बताउनुहुन्छ । चुरेसँग जोडिएको यस वडामा पानीको सङ्कट गहिरिँदै जाँदा सञ्चालित उक्त परियोजना निकै नै प्रभावकारी भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सायद विकन परियोजना नआएको भए यो सम्भव थिएन । अब वडामा कोही पनि नागरिक खानेपानीको अभावमा बस्नु परेको छैन ।”

    लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले खानेपानी संस्थानको सहकार्यमा सञ्चालित उक्त परियोजनाबाट यहाँका स्थानीयको समस्या समाधान भएको बताउनुभयो । परियोजनालाई खानेपानी मन्त्रालय र खानेपानी संस्थानले पनि सहयोग गरिरहेकाले यसै परियोजनामार्फत सन् २०३० सम्ममा लहानका सबै घरमा शुद्ध खानेपानी पु¥याउने लक्ष्यसहित काम भइरहेको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.