सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई


  •    न्युजभित्तो/२ मंसिर २०८१, आईतवार १३:४५ 
  • चितवन, २ मङ्सिर । विसं २०६५ मङ्सिर २६ गते साँझ भरतपुरबाट बुटवल वनभोज खान गएर फर्किएको एक निजी विद्यालयको बस नवलपरासीको गैँडाकोटमा दुर्घटना हुँदा २३ जनाले एकै ठाउँमा ज्यान गुमाए । सो घटनामा छोरी गुमाएका भरतपुर महानगरपालिका–९ की मधु पाठक अहिले पनि दुर्घटना सुन्नासाथ छोरी सम्झनुहुन्छ ।

    स्थानीय विद्यालयमा पढ्दै गरेकी १५ वर्षीया आकृति पाठकसहित शिक्षक र विद्यार्थी गरी २३ जनाले घटनामा ज्यान गुमाएका थिए । पाठकको भनाइमा अहिले पनि सडकमा यात्रा गर्दा सो घटनाले झस्काइरहन्छ । उहाँले भन्नुभयो, “कतै दुर्घटना सुन्नेबित्तिकै छोरी सम्झेर मन खिन्न हुन्छ ।”

    घटनापछि छोरीका नाममा ट्रस्ट बनाउनुभएका पाठक दुर्घटना न्यूनीकरणका लागि सबै लाग्नुपर्ने बताउनुहुन्छ । दिनानुदिन बढ्दै गएको दुर्घटनालाई न्यूनीकरण गर्न बालबालिकादेखि नै शिक्षा दिनुपर्ने उहाँको सुझाव छ ।

    विश्व स्वास्थ्य सङ्गठनले सन् १९९३ देखि नोभेम्बरको तेस्रो आइतबारलाई सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झना दिवसका रूपमा प्रत्येक वर्ष विश्वभरि मनाउन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्मा यो दिवसमा सर्वसाधारण सबैलाई दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश प्रवाह गर्नुपर्ने बताउनुहुन्छ ।

    उहाँको भनाइमा अहिले मृत्युको आठौँ कारण दुर्घटना हुने गरेको छ । अध्ययनहरूका अनुसार सन् २०३० सम्ममा दुर्घटना मृत्युको सातौँ कारण बन्न सक्छ । यसको मतलब दुर्घटना बढ्दो रूपमा रहेको छ । शर्माका अनुसार मानवीय, सडक, यान्त्रिक र प्राकृतिक कारण दुर्घटना हुने गर्दछन् । कारणभित्र धेरै कारण रहेको भन्दै उहाँ प्रमुख चार कारणमा केन्द्रित रहेर दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “प्रहरी, प्रशासनले मात्र दुर्घटना न्यूनीकरण गर्न सक्दैन, सबै पक्ष लाग्नुपर्छ, न्यूनीकरण हुन्छ ।” चितवनमा मात्र वार्षिक एक सय जनाभन्दा बढी दुर्घटनाका कारण ज्यान गुमाउने गर्दछन् । यो सङ्ख्या गत आर्थिक वर्षमा एक १५ थियो ।

    चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले दुर्घटनापछिको उद्धार र उपचार राम्रो भएमा धेरैलाई बचाउन सकिने बताउनुभयो । अस्पतालको आकस्मिक कक्ष हेर्दै आउनुभएका उहाँले दुर्घटनाको उपचार गर्ने अस्पतालमा राम्रो ट्रमा केयर हुनुपर्ने भन्दै आकस्मिक कक्षमा काम गर्ने चिकित्सक, नर्सलाई पनि समयसमयमा तालिम दिइरहनुपर्ने बताउनुभयो ।

    दुर्घटनाको उपचार गर्न ‘टर्सरी’ अस्पताल चाहिन्छ, दक्ष चिकित्सक हुनुपर्छ र अस्पतालको आकस्मिक कक्ष पनि सधैँ तयारी अवस्थामा रहनुपर्ने तथा घाइतेलाई तीन वर्गमा विभाजन गरेर उपचार गर्नुपर्ने उहाँले बताउनुभयो ।

    निजी र सार्वजनिक दुवै सवारीसाधनमध्ये सार्वजनिक सवारीसाधनमा बढी ध्यान दिनुपर्ने प्रा डा लम्सालको सुझाव छ । सबै पक्षले ध्यान दिनसकेमा आधुनिक समाजमा दुर्घटना रोक्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको अवस्था, यात्रुको सजगता, सार्वजनिक यातायातको सुरक्षाजस्ता विषयमा ध्यान दिनुपर्छ ।”

    चालकहरूको पेसागत मर्यादामा ध्यान दिनुपर्ने भन्दै मुख्य रूपमा मादक पदार्थ र लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउन नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्व, मेला महोत्सवको समयमा पनि बढी दुर्घटना हुने गरेका छन् ।”

    दुर्घटनापछि तत्काल उपयुक्त अस्पताल नपु¥याउँदा धेरैले ज्यान गुमाउने गर्छन् । नेपालमा सुविधासम्पन्न एम्बुलेन्स र दक्ष चालक नहुँदा घाइतेलाई बचाउन गाह्रो हुने गरेको छ । देशभर एम्बुलेन्सको सङ्ख्या छ हजार हाराहारी छ । तीमध्ये निकै कम मात्र सुविधासम्पन्न एम्बुलेन्स छन् ।

    संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले सुविधासम्पन्न एम्बुलेन्स र तालिमप्राप्त चालक नहुँदा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “चालकको तालिमले मात्रै पुग्दैन, स्वास्थ्यसम्बन्धी पनि तालिम चाहिन्छ ।” चालकलाई फस्टएड तालिम र चिकित्सक, नर्ससहितको सुविधासम्पन्न एम्बुलेन्स चलाउन सकेमा दुर्घटनाका धेरै घाइतेलाई बचाउन सकिने उहाँ बताउनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.