सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी


  •    न्युजभित्तो/२५ कार्तिक २०८१, आईतवार ११:२९ 
  • सुर्खेत, २५ कात्तिक । दैलेखको गुराँस गाउँपालिका–८ झ्याजे गाउँका किसानले तरकारी बेचेर पर्याप्त आम्दानी गर्दैआएका छन् । नौ परिवार रहेको उक्त गाउँका किसानको मुख्य आम्दानीको स्रोत नै तरकारीखेती हो । तरकारी बेचेरै यो गाउँका किसानले घरखर्च टार्दै आएका छन् । व्यावसायिकरूपमा तरकारीखेती गरेर उनीहरुले बर्सेनि लाखौँ आम्दानी गरेका छन् । तर यहाँका किसान राज्यको सेवा सुविधाबाट वञ्चित छन् । गैर किसानले लाभ लिँदा वास्तविक किसान सरकारी सुविधाबाट वञ्चित भएका छन् ।

    उत्पादित तरकारीलाई बजारसम्म लैजान समस्या रहेको किसानको गुनासो छ । झ्याजे गाउँमा विशेषगरी आलु, बन्दा, काउली, गोलभेँडा, खुर्सानी र काँक्रो उत्पादन हुन्छ । सिजनमा उत्पादन भएको तरकारी ढुवानीमा किसानले हैरानी खेप्दै आएका छन् । स्थानीय तहलाई बारम्बार सडकका लागि आग्रह गर्दा कुनै सुनुवाइ नभएको तथा सडक नहुँदा तरकारी बोक्नुपर्ने बाध्यताले आफूहरू हैरान भएको किसानको दुखेसो छ ।

    स्थानीय किसान पवित्रा खड्का तरकारी उत्पादन गरे पनि बजारसम्म लैजान समस्या भएको बताउनुहुन्छ । “हामीले आफ्नै मेहनतले तरकारी फलाएका छौँ । राज्यबाट आजसम्म कुनै अनुदान र सुविधा पाउन सकेका छैनौँ ।”

    सरकारी तथा गैरसरकारी निकायले किसानका लागि अनुदान र सुविधा दिने गरेका छन् । तर यहाँका किसान केही नपाएको बताउँछन् । उहाँले भन्नुभयो, “स्थानीय र प्रदेश सरकार नजिकै छन्, तर गाउँसम्म सडक ल्याइदेउ भन्दा सुन्दैनन् । सडकको सुविधामात्र भए गाउँमा अहिलेको भन्दा दोब्बर तरकारी उत्पादन हुन्थ्यो, ढुवानीमा समस्या हुने भएकाले पनि हामीले चाहेजति खेती गर्न सकिरहेका छैनौँ ।”

    स्थानीय किसान कृष्ण खत्री यो वर्ष आफूले ५० क्विन्टल तरकारी बेचेको बताउनुहुन्छ । तर ढुवानीको समस्याले पर्याप्त आम्दानी लिन नसकिएको उहाँको भनाइ छ । “तरकारी बिक्री गर्न गाउँसम्म गाडी नचल्दा बोकेरै बजार लैजानुपर्ने समस्या छ”, उहाँले भन्नुभयो । पाखापानीबाट गाउँसम्म सडक खनिए पनि त्यो सडकको सुधार हुनसकेको छैन । अर्कातर्फ आफूहरूले करिब तीन किलोमिटरसम्म तरकारी बोक्नुपर्ने बाध्यता रहेको र बोक्न नसक्दा तरकारी कुहिएर खेर जाने गरेको खत्रीले बताउनुभयो ।

    छैन सरकारी सुविधा

    यो गाउँका किसानले वर्षायाममा तरकारीखेती गर्छन् । हिउँदमा भने गहुँ र तोरीखेती हुन्छ । यहाँका किसानले व्यावसायिक तरकारीखेती गरेर वर्षमा रु ७० लाखबराबरको तरकारी निर्यात गरिरेहका छन् । तर हालसम्म यहाँका किसानले सरकारी अनुदान र सुविधा पाउन सकेका छैनन् । न त कुनै गैरसरकारी निकायले नै यहाँका किसानका लागि उन्नत बीउ, तालिम र औजार उपलब्ध गराएका छन् । यसकारण पनि आफूहरू राज्यबाट उपेक्षित भइरहेको किसानको गुनासो छ ।

    स्थानीय किसान ताराकेशर वलीले भन्नुभयो, “पन्ध्र वर्षदेखि आलुको बीउ उही छ, उन्नत जातको बीउ पाएको भए धेरै फल्थ्यो, तर हामीले कहाँबाट ल्याउने रु सरकारले सहयोग गरेको भए हामीले उत्पादन अझै बढाउने थियौँ, तर सरकारले हाम्रो समस्या देख्दैन ।” पछिल्लो समय तरकारीमा नयाँ रोग देखिन थालेको भन्दै उहाँले रोग र कीराबारे आफूहरूलाई जानकारी नहुँदा उत्पादन घट्न थालेको बताउनुभयो ।

    स्थानीय सरकार र वडाले कृषि प्राविधिक र कृषि औजारमा पनि सहयोग नगरेको वलीको गुनासो छ । आलुको बीउ जोगाउन हम्मेहम्मे हुने गरेको भन्दै सरकारले गाउँमा आलुको बीउ जोगाउनेगरी भण्डारगृह निर्माणमा सहयोग गरिदिनुपर्ने उहाँको माग छ । उत्पादन भएको तरकारीको बजारीकरणमा पनि सरकारले सहयोग नगर्दा बिचौलियाले फाइदा लिइरहेको किसानको भनाइ छ ।

    स्थानीय किसानले गाउँमै कृषक समूह गठन गरेका छन् । समूहमार्फत विभिन्न निकायमा अनुदान, उन्नत बीउ र अन्य सुविधा माग गरिएको किसानको भनाइ छ । तर पनि आफूहरूले हालसम्म कुनै अनुदान र सुविधा नपाएको उनीहरूको गुनासो छ । स्थानीय किसान मनकुमारी खड्काले भन्नुभयो, “किसानलाई सरकारले अनुदान दिन्छ भन्ने सुनेका छौँ, तर हामीलाई आजसम्म कसैले दिएका छैनन् । न कतैबाट उन्नत बीउ र औषधि नै पाएका छौँ, न कसैले हामीलाई तालिम नै दिएका छन् ।”

    गाउँमा हालसम्म गैरसरकारी संस्था पनि नआएको र तरकारीखेतीका लागि कुनै सुविधा पनि पाउन नसकेको उहाँको भनाइ छ । व्यावसायिक खेतीका लागि अनुदान, उन्नत बीउ, मल, औषधि, तालिम र कृषि औजार पाउन सके गाउँमा तरकारीखेती थप फस्टाउने किसानको भनाइ छ ।

    बर्सेनि ७० लाखको तरकारी निर्यात

    झ्याँझे गाउँमा तरकारीका लागि उपयुक्त हावापानी छ । जसले गर्दा आलु, बन्दा, काउली र टमाटार उत्पादन हुन्छ । तरकारीबाट नगद आम्दानी हुने भएपछि हिजोआज किसानले अन्नबालीको खेती घटाउँदै लगेका छन् । ढुवानीको समस्या भए पनि किसानले व्यावसायिक रूपमा तरकारीखेती गरिरहेका हुन् । गाउँमा नौ परिवार बस्छन् । तर यो गाउँबाट वर्षमा रु ७० लाख मूल्यको तरकारी निर्यात हुन्छ ।

    स्थानीय किसानले वर्षमा रु ३० लाख मूल्यको आलु बिक्री गर्छन् । यस्तै बन्दा पनि रु २० लाख बराबरको निर्यात भइरहेको छ । यस्तै काउली रु १५ लाख बराबरको निर्यात हुन्छ । टमाटर, खुर्सानी र काँक्रा गरेर रु पाँच लाखबराबरको निर्यात हुन्छ । स्थानीय किसान गगनबहादुर खत्रीले भन्नुभयो, “यो वर्ष गाउँबाट आलुमात्र चार सय क्विन्टल निर्यात भयो, बन्दा र काउली पनि यही अनुपातमा बिक्री हुन्छ । तरकारी बेचेरै वर्षमा यो गाउँले रु ७० लाख भित्र्याउने गरेको छ, सडकको सुविधा भएको भए उत्पादन अझै बढ्थ्यो ।”

    यो वर्ष आफूले रु तीन लाखको आलु बिक्री गरेको खत्रीको भनाइ छ । यस्तै बन्दा र काउलीबाट वर्षमा रु दुई लाख आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । उत्पादन भएको तरकारी ढुवानी गर्न समस्या हुने भएकाले आफूहरूले सम्भावना भएर पनि कमैमात्र खेती गरिरहेको खत्रीको भनाइ छ । नौ परिवारले मात्र रु ७० लाखको तरकारी उत्पादन गरिरहेको भन्दै उहाँले सरकारले भने आफूहरूलाई बेवास्ता गरेको गुनासो गर्नुभयो ।

    किसानले उत्पादन गरे पनि मूल्य भने पाउन सकेका छैनन् । यसपालि आलु प्रतिकिलो रु ४० मा बेच्नुपरेको किसानको गुनासो छ । बिचौलियाले फाइदा खाने गरेको भन्दै किसानले ढुवानीमा सहयोग गर्न सरकारसँग माग गरेका छन् । बजारसम्म लैजान सहज भएमा आफूहरूले तरकारीको उचित मूल्य पाउने उनीहरूको विश्वास छ । तर बोकेरै बजारसम्म लैजानुपर्ने बाध्यताका कारण तरकारी कुहिने डरले किसान सस्तो मूल्यमा बेच्न बाध्य छन् । यहाँ उत्पादन भएको तरकारी सुर्खेत र दैलेखका बजारसम्म निर्यात हुने गरेको छ । गाउँसम्म सडक, उन्नत बीउ, मल, बजारीकरण, तालिम र कृषि औजारमा सहयोग पाए गाउँमा थप तरकारी उत्पादन वृद्धि हुने र आफूहरूको आम्दानी पनि बढ्ने किसान बताउँछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.