सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धानखेत मासेर किबीखेतीः बजारमा उच्च माग


  •    न्युजभित्तो/२० कार्तिक २०८१, मंगलवार १०:३८ 
  • गलकोट (बागलुङ), २० कात्तिक । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका-५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गर्नुभएको छ ।

    गत वर्ष पाँच सय केजी किबी बजार पठाउनुभएका उहाँको किबी बगैचामा यस पटक दोब्बर बढी उत्पादन भएको छ । गत वर्षदेखि उत्पादन दिन थालेको किबी वार्षिक रुपमा ५०० केजी भन्दा बढीका दरले उत्पादनमा वृद्धि हुँदै आएको छ ।

    किबीको मूल्य क्रमशः घट्दै गए पनि उत्पादन बढ्दै गएको कँडेलको भनाइ छ । उहाँजस्ता सयौँ किसानले किबीलाई प्राथमिकतामा राखेर खेती गर्न थालेका छन् । प्रतिकेजी रु तीन सयमा बिक्री हुँदै आएको किबीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् ।

    “सुरुमा बढी मेहनत लाग्छ किबीमा २०७७ सालमा लगाएको किबीले गत वर्षदेखि उत्पादन दिन थाल्यो, अघिपछि स्याहार गरिरहन पर्दैन, जागिर तथा अन्य काम गरेर पनि किबीखेती गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कोरोनाकालमा बाँझो बारीलाई सदुपयोग गर्न लगाएको किबीले वर्षभरिको घर खर्च पुगे भइहाल्यो, कोदो जम्मा आठ–दश मुरीमात्र फल्थ्यो पहिला त्यही बारीमा ।”

    बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूलखेतीका रूपमा किबीलाई लिन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । कँडेलले यो वर्ष रु तीन लाख बढीको किबी बिक्री गर्ने लक्ष्य लिनुभएको छ ।

    पछिल्लो समय बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, खेतीयोग्य अन्य जग्गामा काम गर्ने जनशक्ति अभाव भइरहेका सन्दर्भमा जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबी बनेको छ । काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने यस वर्ष २० क्विन्टल किबी फलेको बताउनुभयो । उहाँले किबीको बजारीकरणका लागि स्थानीय तहलाई नीति बनाउन आफूले सुझाएको जानकारी दिनुभयो ।

    “बीस क्विन्टल किबी फलेको छ, एकैपटक बजारमा पुग्दा बिक्री नहुन सक्छ, कम्तीमा एक महिना राखेर बिक्री गर्न सके राम्रै आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “एकपटक लगाउने, समय–समयमा हेरचाह गर्ने र थाक्रो व्यवस्थापन गरेपछि सहजै किबी फल्छ, तरकारीखेतीलाई जस्तो स्याहार गर्नु पर्दैन, फुर्सदको समय उपभोग पनि हुने आम्दानी पनि हुने ।” किबीलाई सुन्तलाको जस्तै बजारीकरणको भने आवश्यकता रहेको अनुभव सुनाउनुहुन्छ ।

    किबीको उत्पादन बढेपछि रु छ सय पर्ने किबीको मूल्य भने घटेर रु तीन सय प्रतिकेजीमा झरेको छ । गाउँ–गाउँमा उत्पादन भएको किबी अहिले बागलुङ बजारमा देखिन थालेको छ । केही वर्ष पहिलासम्म आयात गरेको किबी बिक्री गर्दै आएका यहाँका फलफूल व्यवसायी अहिले बागलुङकै गाउँ–गाउँमा उत्पादन भएको किबी बिक्री गर्न भ्याइनभ्याइ भएको बताउँछन् ।

    बागलुङ नगरपालिका–८ सिगानाका पूर्ववडाध्यक्ष जितबहादुर जिसीले धानखेत मासेर सुन्तला र किबीखेती गर्दै आउनुभएको छ । बहुगुणी फल भएको भन्दै जिसीले घरमा खाने र पाहुनालाई समेत पठाउने गरेको बताउनुभयो । आफू वडाध्यक्ष हुँदा किसानलाई सुन्तला र फलफूलखेतीमा आकर्षण गर्न आफैँबाट सुरु गरेको बताउनुभयो ।

    बागलुङ –१० भकुण्डेका हर्कबहादुर थापा, निसीखोला गाउँपालिका–४ स्थित तुलसीराम रेग्मी, गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ स्थित लीला घर्ती र ताराखोला गाउँपालिका–५ का नरबहादुर रानालगायत बागलुङका करिब एक सयभन्दा बढी किसान किबीको व्यावसायिक खेतीमा लाग्नुभएको छ ।

    केही नयाँ हुनुहुन्छ भने केही किबीका पुराना किसान हुनुहुन्छ । पहाडी जग्गाको सदुपयोगसँगै बहुगुणी फल किबीको राम्रो सम्भावना देखेपछि किसान उत्साहित भएका हुन् । मलजल र थाक्रो राम्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने किबी किसान मेहरसिंह पाइजाले बताउनुभयो ।

    किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ । किबीखेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास अधिकृत कुमार पुनले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.