सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा


  •    न्युजभित्तो/८ कार्तिक २०८१, बिहीबार १२:०४ 
  • महोत्तरी, ८ कात्तिक । दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, बत्ती बाल्ने दियो, छ्याँची छोप्ने ढकन, र कलशका रूपमा प्रयोग हुने अम्खोरा र छठ पर्व लगत्तै सुरु हुने सामाचकेवा तथा त्यसबेला खेलिने हात्ती र खेलौनासहितका माटाका भाँडा हाटका आकर्षण बनेका छन् ।

    मिथिला परम्परामा माटाका भाँडावर्तन शुद्ध हुने विश्वास तथा प्रयोग गरिने प्रचलनले यी पर्वमा बस्तीपिच्छेका बजारमा उत्साहपूर्वक क्रयविक्रय जारी छ । अन्य पर्वका बेला प्रायः नदेखिने कुम्भकारहरू पनि छैटका बेला नयाँ उमङ्गका साथ बजारमा भेटिन्छन् । उनीहरूका हात साँझबिहान निरन्तर चक्रमा व्यस्त छन् । कतिपय ग्राहकले पेस्की दिएर भाँडा बनाइ दिन माग गरेका छन् । यस्ता ग्राहकको फर्माइस र बजारमा भाँडाको माग बढेपछि अहिले कुम्हाललाई दोमट माटो खोजेर ल्याउने, धुल्याउने, मुछ्ने र थरिथरिका भाँडा बनाउन चक्र घुमाउन भ्याइनभ्याइ छ ।

    “कि करु हजुर, अखैन सिजन अई, फेरु दिवाली, छठके बाद त हमरासबके खोजबाला कोई नई रहत, ताहीद्वारे आन सब काम छोइडक बर्तन बन्बमे लागल छी”(के गरौं हजुर, अहिले यी भाँडाको बेला छ, दीपावलीरछठपछि हामीलाई खोज्ने कोही हुँदैनन्, त्यसैले अहिले अरु सबै काम छाडेर भाँडा बनाउन जुटेका छौं) औरही नगरपालिका–४ श्रीपुर कविलाशाका ५० वर्षीय सुरेश पण्डित कुम्हाल भन्नुहुन्छ ।

    केही दशकअघिसम्म दैनिक प्रयोजनमा प्रयोग हुने माटाका भाँडा अब यहाँका भान्सामा देखिन छाडेका छन् । माटाका भाँडामा राखिएका सामग्री शुद्ध रहने विश्वास कायमै रहेपनि यी सानो ठक्करमै वा झरेर प्याट्टै फुट्ने भएपछि आम उपभोक्ताले अब दैनिक प्रयोजनका धातु र प्लाष्टिकका भाँडा प्रयोग गर्न थालेका छन् । अन्यबेला खासै प्रयोगमा आउन छाडे पनि दीपावली र छठमा यिनै भाँडा प्रयोग गर्नपर्ने धार्मिक मान्यता र विश्वासले अहिले यस भेगका सबै हाट र बस्तीबस्तीमा माटाका भाँडाका छुट्टै बजार जमेका हुन् ।

    वैदिक परम्परा, धार्मिक मान्यता र पवित्रताको भावले गर्दा दीपावली र छठमा माटाका भाँडाको प्रयोगले निरन्तरता पाउँदै आएको मिथिलाका संस्कृतिविद्को धारणा छ । पर्वअनुष्ठानका सबै विधिका सामान राख्न नयाँ भाँडा प्रयोग गरिनुपर्ने स्थापित परम्पराले अहिले माटाका भाँडाको माग हुने गरेको संंस्कृतिविद् एवं साहित्यकार जलेश्वर नगरपालिकाको बखरी बस्तीका बासिन्दा ८५ वर्षीय महेश्वर राय बताउनुहुन्छ ।

    हाल पर्वविशेषमा बिक्री हुने भाँडाकै आर्जनबाट आफ्नो चाडपर्व धान्नसँगै वर्षभरिको नगद खर्चको जोहो गरिन पर्ने हुँदा सपरिवार यसै काममा जोतिनु परेको भङ्गाहा–५ भूचक्रपुरका सीताराम पण्डित कुम्हाल बताउनुहुन्छ । ‘‘पहिले हाम्रो गुजाराको पेसा नै यही थियो, अबभने दैनिक आवश्यकतामा प्लाष्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएका छौँ” सीताराम भन्नुहुन्छ, “वर्षभरिको गुजारा नै त हैन, थोरथार नगद खर्चको जोहो र चाडपर्वको खर्च भने अहिलेको मेहनतले धान्छ ।”

    दीपावली र छठ पर्वका अवसरमा महोत्तरीका १५ वटा स्थानीयतहका बजारमा पछिल्ला तीन वर्षको खरिदबिक्री सालाखाला ५० लाख सेरोफेरोको कारोबार हुने गरेको महोत्तरीका उद्योग वाणिज्य सङ्घका पदाधिकारी बताउँछन् । विगतका आठ गाविस समेटेर बनेको जिल्लाको सबैभन्दा बढी भूगोल र जनसङ्ख्या ओगटेको बर्दिबास नगरक्षेत्रमा १५ लाख हाराहारीमा माटाका भाँडाको कारोबार भएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का बताउनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.