सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ढोरवाराही धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै


  •    न्युजभित्तो/७ कार्तिक २०८१, बुधबार १४:२८ 
  • दमौली (तनहुँ), ७ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गर्न पहल थालिएको छ । नगरपालिकाले नगरभित्रकै प्रमुख धार्मिकस्थल ढोरवाराही मन्दिरको विकासका लागि पहल थालेको हो ।

    ढोरवाराही मन्दिरको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावनाको अध्ययन गरी समग्र विकास तथा व्यवस्थापन गर्ने उद्देश्य राखिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । सोही उद्देश्य पूरा गर्न केही समय अगाडि मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

    उक्त कार्यक्रममा सहभागी हुनुभएका मन्त्री पाण्डेले ढोरवाराही मन्दिरको धार्मिक महत्व अपार रहेको भन्दै यसको विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । नगरपालिकाले ढोरवाराही मन्दिरसम्म पुग्ने बाटोसमेत स्तरोन्नति गरिसकेको छ ।

    सडकको आवश्यकताअनुसार कालोपत्र र ढलान गरिएको छ । यसले भक्तजनलाई सहज रुपमा मन्दिरसम्म पुग्न सहयोग पुग्ने विश्वास गरिएको छ । नगरपालिकाले रु ३१ लाख चार हजार नौ सय ४० को लागतमा उक्त सडक स्तरोन्नति गरेको नगरप्रमुख पण्डितले बताउनुभयो ।

    मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ ढोरवाराही मन्दिरको दर्शनका लागि भक्तजन आउने गर्दछन् । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउँछ । ढोरवाराहीमा रहेको पोखरीमा बेला–बेला लहरी छुट्ने गर्दछ । रहस्यमयी लहरीलाई धार्मिक आस्थाका रुपमा लिइन्छ । ढोरवाराही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिने गरिन्छ ।

    प्रत्येक १५ मिनेटमा रहस्यमय ढङ्गले चल्ने पानीको लहरीले ढोरवाराही मन्दिर क्षेत्रको महिमा र महत्व उच्च बनाएको शुक्लागण्डकी–९ का निवर्तमान वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको ठूलो लहरी छुट्ने कारण यस क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वलाई बढाएको छ ।”

    हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरवाराही मन्दिरमा देवीको चतुर्वाहु मूर्तिसमेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ देखि चढाइएका घण्टहरू रहेका छन् । ढोरवाराही प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती रहेको छ । पोखरीको मूलबाट पानीको ठूलो भल आउने र एकै छिनमा फेरि स्वतः घट्दै जान्छ । यस पोखरीमा लहरी छुट्नुलाई धार्मिक आस्थासँग तुलना गरिन्छ ।

    उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरवाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ । पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ । रजबाम विशेषगरी लहरी छुट्ने बेला पोखरी बाहिर निस्कने र उक्त समयमा रजबामको दर्शन गर्दा सौभाग्य प्राप्त हुने विश्वास रहँदै आएको छ ।

    मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टामध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत् ९६७ लेखिएको पाइएको छ । मन्दिरमा नयाँ वर्षको दिन, वैशाख महिनाभर, बडादसैँ, चैतेदसैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजाअर्चनाका लागि दर्शनार्थीको अत्यधिक भीड लाग्ने गर्दछ । एकादशी, औँसी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुबलि दिइँदैन । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.