सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

८० हजार खर्च गरेर रोपेको धान पाकेपछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौँ: किसान


  •    न्युजभित्तो/१५ आश्विन २०८१, मंगलवार १३:२६ 
  • कमलामाई (सिन्धुली), १५ असोज । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए ।

    गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो । दसैँअघि थन्क्याई सक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि किसान निराश छन् ।

    जग्गा भाडामा लिएर २२ रोपनीमा लगाइएको धान भित्र्याउने बेलामा बाढीले सखाप पारेपछि भोक, निद्रा हराएको किसान केशवसिंह श्रेष्ठको दुःखेसो छ । “जेठ २९ गते रु ८० हजार खर्च गरेर रोपेको धान पाकेपछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौँ । सात जनाको परिवार छ, अब के खुवाएर पाल्ने रु चिन्ता मात्र लाग्छ, चार दिनदेखि भोक, निद्रा छैन”, भन्नुभयो । किसान श्रेष्ठले २२ रोपनीबाट एक सय मुरी धान भित्र्याउने गर्नुभएको थियो । यस वर्ष एक दानो भित्र्याउन नपाई बाढीले सखाप बनायो ।

    सुनकोशी–१ गोइरीकी कृष्णमाया तोलङ्गेले बाढी खेतमा पसेपछि एक दानो धान भित्र्याउने अवस्था नरहेको बताउनुभयो । तीन रोपनीमा लगाएको पाकेको धान, रोपाइँ खर्च, बीउ, मल, परिश्रम सबै खेर गएको उहाँले सुनाउनुभयो ।

    बाढीले बगाएको धान खेत हेर्दै गणेश श्रेष्ठ भक्कानिनुभयो । सुनकोशी–१ गजुलीदह बस्ने किसान श्रेष्ठको मुख्य पेसा कृषि नै हो । यसैबाट निर्वाह भएको थियो, पाँच जना परिवारको जीवन । पाकेको धानसहित पाँच रोपनी खेत बगर बनाएपछि उहाँलाई यतिबेला चिन्ता बढेको छ ।

    नेपालथोकका किसानलाई मात्रै होइन, बाढीले खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ त कहीँ ढालेर सोतर बनाएको छ भने कतै बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेर उराठिलो बगर बनाइदिएको छ । सुनकोशी गाउँपालिकाभित्रको क्षेत्रमा मात्रै तीन सय बिघामा लगाइएको धान बाली बाढीले नष्ट गरेको उपाध्यक्ष कपिलकुमार कोइरालाले बताउनुभयो ।

    गोलञ्जोर गाउँपालिका क्षेत्रमा भित्र्याउने बेला भएको ३० बिघाको धान बाली क्षति भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको आकलन छ । सुनकोशमा आएको बाढीले विशेषगरी गोलञ्जोर–७ को बेसीँफाँट, वडा नं ६ को बलेनी, हैवारी क्षेत्र, वडा नं २ को कुखुरेटार, ३ नं वडाको मुर्गी, दिङदिङबेँसी र वडा नं १ को च्याखुटारबेँसीको धान फाँटमा क्षति गरेको उहाँले बताउनुभयो ।

    हरिहरपुरगढी गाउँपालिकामा वाग्मती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँटलगायत स्थानका धान बाली सखाप बनाएको छ । हरिहरपुरगढी–१, २ र ३ वडाको खेतीयोग्य जमिन कटान भएको छ । पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार यहाँका चार सय ६५ हेक्टर खेतीयोग्य जमिन नदीले कटान गरेसँगै धान बालीमा क्षति भएको छ ।

    भर्खर पसाएको धान बाढीले जमिनसँगै कटान गरेपछि किसान दुःखी छन् । बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेको, च्यापिएको धानको बाला हेर्दै यहाँका किसान अधिकांश समय पुर्पुरोमा हात राखेर बस्छन् । मन बुझाउने विकल्प भेट्दैनन् । किसानलाई सरकारसँग पनि केही आशा छैन ।

    जिल्लाका नौवटै पालिकाका खेतीयोग्य जमिन र धान बालीमा ठूलो क्षति भएको कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन दिनको अविरल वर्षासँगै आएको हुरी र बाढीपहिरोले जिल्लाको सबै पालिकाको धान बालीमा असर गरेको छ । खोला र नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान भएका छन् ।”

    कुन पालिकामा कति परिणाममा क्षति भयो भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । सयौँ हेक्टरको धान बालीमा क्षति पुगेको आकलन छ । क्षति विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो । क्षति विवरण यकिन भएपछि सोही आधारमा किसानलाई राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उहाँ बताउनुहुन्छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष सिन्धुलीको ११ हजार एक सय ८८ हेक्टरमा किसानले धान बाली लगाएका थिए ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.