सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजेट अभावले अस्पताल निर्माण अधुरै


  •    न्युजभित्तो/११ भाद्र २०८१, मंगलवार १३:४१ 
  • ढोरपाटन (बागलुङ), ११ भदौ । बागलुङमा दुई पालिकास्तरीय अस्पताल अलपत्र परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन खापाथरमा निर्माणाधीन १० शय्याको नगर अस्पताल र निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल अलपत्र परेका हुन् ।

    ढोरपाटनको नगर अस्पतालभन्दा निसीखोलाको आधारभूत अस्पताल एक वर्ष पहिला निर्माण सुरु गरिएको थियो । आधारभूत अस्पताल निर्माणका लागि विसं २०७८ माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो । नगर अस्पताल विसं २०७९ असार २४ गतेदेखि निर्माण थालिएको थियो ।

    विसं २०८० पुसमा सम्पन्न गर्नेगरी निर्माण सुरु भएको आधारभूत अस्पताल हालसम्म ८५ प्रतिशत मात्रै काम सकिएको निर्माणको जिम्मा पाएको हिन्दुङ एसी आइएस जेबी कन्स्ट्रक्सनका प्रमुख दीपककुमार अदैले जनाकारी दिनुभयो । गाउँपालिकाले रु १० करोड ९४ लाखको लागत अनुमान गरेकामा निर्माण कम्पनीले रु आठ करोड २४ लाखमा जिम्मा लिएको थियो । पछिल्लो दुई वर्ष बजेट नपरेपछि काम रोकिएको अदै बताउनुहुन्छ । यस अस्पतालको हालसम्म ८५ प्रतिशत काम सकिएको र अझै रु एक करोड ७० लाख बजेट अपुग भएको उहाँको भनाइ छ ।

    निसीखोला आधारभूत अस्पताल निर्माणका लागि चार वर्षअगाडि गाउँपालिकाले सात रोपनी दुई आना जग्गा निःशुल्क व्यवस्थापन गरेको थियो । ढोरपाटन नगर अस्पतालको काम सोही निर्माण कम्पनीले जिम्मा पाएको थियो । नगर अस्पतालमा बजेट नआउँदा गत सालदेखि नै काम ठप्प भएको छ । निर्माण कम्पनीले गत वर्ष भदौमै नगरपालिकामा रु छ करोड ६१ लाखको बिल बुझाए पनि अहिलेसम्म रकम नआउँदा काम गर्न नसकेको अदै बताउनुहुन्छ ।

    अस्पातलको भवन निर्माणका लागि रु १२ करोड ९६ लाखमा जिम्मा लिएको अदैको भनाइ छ । काम गर्नुभन्दा पहिले सुरुमा पेस्की रकम रु दुई करोड ४६ लाख मात्रै आएको उहाँले बताउनुभयो । भौगोलिक हिसाबले ढोरपाटन टाढा र सडक पनि निकै साँघुरो तथा अप्ठ्यारो हुँदा ढुवानी र कामदारका लागि बढी खर्च भएको अदै बताउनुहुन्छ । विसं २०८२ असार २३ सम्ममा निर्माण सक्नुपर्ने अस्पताल भवन करिब आधा सकिँदा पनि काम अनुसारको भुक्तानी नभएको गुनासो उहाँले गर्नुभयो । अहिले बजेट नै नपरेको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “नगर अस्पताल निर्माणको जिम्मा त पायौँ तर काम गरेको रकम पाउन सकेनौँ, करोडौँ रकम अहिलेसम्म पाउन सकिएको छैन, यस वर्ष बजेट पनि नपरेको हुँदा अस्पताल अलपत्र जस्तै भएको छ, पोहोर साल भदौ दोस्रो सात नै नगरपालिकामा लगेर बिल बुझाएको थिए, अहिलेसम्म भुक्तानी पाउन सकेका छैनौँ, निसीखोलाको भुक्तानी पायौँ अब ‘फिनिसिङ’को काम बाँकी थियो, तर बजेट नै आएन, बजेट नभएपछि कसरी काम गर्न सकिन्छ रु”

    ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले नगरपालिकाको बजेटले अस्पताल निर्माण गर्न नसक्ने हुँदा अर्थ र स्वास्थ्य मन्त्रालयमा बजेट व्यवस्थानका लागि पत्र पठाएको बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई काम गरेकै रु छ करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेको भन्दै त्योसहित थप बजेट केन्द्र सरकारले व्यवस्थापन नगरेसम्म काम अगाडि बढ्ने स्थिति नरहेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.