सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साउनको अन्तिम सोमबारः देवघाटमा ५० हजार भक्तजन आउने अनुमान


  •    न्युजभित्तो/२८ श्रावण २०८१, सोमबार १४:५२ 
  • काठमाडौँ, २८ साउन । आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

    साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् । साउनको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत बसेर पूजापाठ र दान गर्दा सुख प्राप्त हुनाका साथै परिवारमा शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

    देवघाटमा ५० हजार भक्तजन आउने

    तनहुँको धार्मिक तीर्थस्थल देवघाटमा आज बोलबम मेला भर्न करिब ५० हजार भक्तजन आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । तेस्रो सोमबार ३५ हजार, पहिलो र दोस्रो सोमबार २५र२५ भक्तजन आएका उहाँले बताउनुभयो । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थलमा रहेको देवघाटमा हरेक वर्ष साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलामा स्वदेश तथा विदेशबाट हजारौँ भक्तजन आउने गरेका निर्देशक बरालले उल्लेख गर्नुभयो । मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

    सप्तरीका शिवालयमा व्रतालुको घुइँचो

    सप्तरीमा रहेका शिव मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । विशेष गरी साउनको सोमबार व्रत बसेर आज समापन गर्नेहरुको घुइँचो लागेको स्थानीय रामनाथ यादवले बताउनुभयो ।

    साउनमा शिवजीको व्रत बस्नाले पारिवारिक सुख, समृद्धि, विद्या, धनलगायत शान्ति प्राप्त हुने विश्वास वैदिक शास्त्रमा उल्लेख गरिएकाले यहाँका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको उहाँले उल्लेख गर्नुभयो ।

    जिल्लाको राजविराज नगरपालिकास्थित हरिनन्देश्वर, महादेवा गाउँपालिकाको अकुरी, हनुमानगर कङ्कालिनी नगरपालिका–२ स्थित महादेव, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ महादेवको मन्दिर तथा जिल्लाको वीरेन्द्र बजारबाट उत्तर चुरै पहाडमा अवस्थित शनिशिव धाममा भक्तजनको घुइँचो लागेको छ ।

    सिद्धेश्वर शिवालयमा वैदिक विधिपूर्वक विशेष गरिँदै

    अर्घाखाँचीको भक्तिटोला चुत्राबेँसीस्थित सिद्धेश्वर शिवालयमा साउनको अन्तिम सोमबार आज बिहानैदेखि वैदिक विधिपूर्वक विशेष पूजाआजा भइरहेको छ । रुद्री तथा शिवजीको विशेष पूजामा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनको मन्दिर परिसरमा घुइँचो लागेको मन्दिरका पुजारी पण्डित सुमन्तप्रसाद पोख्रेलले बताउनुभयो ।

    ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सिद्धेश्वर शिवालय मन्दिरमा स्फटिकको शिवलिङ्ग स्थापना गरी दैनिक वैदिक विधिपूर्वक पूजाआजा गरिँदै आइएको बताउँदै आज समापन गरिने मन्दिरका संरक्षक नारायणप्रसाद खनालले बताउनुभयो ।

    गलेश्वर शिवालयमा एक महिनामा एक लाखले दर्शन गरे

    म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा साउन महिनामा मात्रै एक लाख बढी भक्तजनले दर्शन तथा पूजाआजा गरेका छन् । भगवान् शिवको पूजाआराधनाका लागि उत्तम मानिने साउने सोमबारमा गलेश्वर शिवालयमा म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, तनहुँ, गोरर्खा, चितवन, बुटवल, भैरवा, काठमाडौँलगायत ठाउँबाट उल्लेख्य मात्रामा भक्तजनक आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

    साउनको चारवटै सोमबार भक्तजनको सुरक्षाका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेर लाइन व्यवस्थित गरी सहज पूजा गर्ने वातावरण मिलाइएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । बेनी–जोमसोम कोरला सडक हुँदै मुक्तिनाथ दर्शन गर्न हिँडेका भारतीय धार्मिक पर्यटकले समेत गलेश्वरको दर्शन गरेका उहाँले बताउनुभयो ।

    गत वर्ष मन्दिरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटीबाट रु ५८ लाख ४० हजार पाँच सय १० आम्दानी भएको कोषका सदस्यसचिव बलबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको साउन तेस्रो सोमबारसम्म गलेश्वर शिवलायमा रु १० लाख ७४ हजार सात सय ४७ भेटी सङ्कलन भएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.