सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा डुबान समस्या हट्दै


  •    न्युजभित्तो/२३ श्रावण २०८१, बुधबार १६:२८ 
  • चितवन, २३ साउन । आधा घण्टा झमझम पानी परेपछि नारायणगढको लायन्स चोक, सहिदचोक, भरतपुरको चौबीसकोठी जस्ता ठाउँ जलमग्न हुन्थे । निरन्तर वर्षा हुँदा जिल्ला प्रहरी कार्यालय चितवनले मोटर लगाएर कार्यालय परिसरको पानी फाल्नुपथ्र्यो । अधिकांश सरकारी कार्यालय प्रवेश गर्दा घुँडासम्म पानीमा डुब्नुपर्ने बाध्यता थियो ।

    देशका विभिन्न सहरमा यतिबेला डुबानको समस्या छ । विगतमा यो समस्या भरतपुरले पनि व्यहोरेको थियो । यो वर्ष साउन बित्न लाग्दासमेत भरतपुरका स्थानीयबासिन्दाले डुबानको समस्या भोग्नुपरेको छैन ।

    भरतपुर महानगरपालिका–३ का अध्यक्ष विकास थापा बितेका वर्षहरुमा ठूलो पानी पर्दा बजार क्षेत्र जलमग्न भएर आधा घण्टा सम्म आवागमनमा समस्या हुने गरेको बताउनुहुन्छ । यो वर्ष अहिलेसम्म बजार क्षेत्रमा डुबानको समस्या नभएको उहाँले बताउनुभयो । वडाध्यक्ष थापाले भन्नुभयो, “छ लेन सडकको नाली र सहिदचोकदेखि बेलचोक हुँदै १ नम्बर पुलसम्म नाली बन्यो, पुङ्गी खोला सफाइ भयो । योसँगै बजारमा डुबानको समस्या हट्यो । ”

    नारायणगढको न्यूरोडमा निर्माणाधीन नाली सम्पन्न भएसँगै बजार क्षेत्रको डुबान समस्या पूर्ण रुपमा समाधान हुने उहाँको भनाइ छ । भरतपुर महानगरपालिका–१० डुबानको मुख्य समस्यामा थियो । वडाध्यक्ष परमेश्वर खनालले छ लेन सडक र बाईपास सडकका नाली, भरतपुर अस्पतालदेखि हाकिमचोकसम्म, दूरसञ्चार रोड, प्रहरी कार्यालय–मालपोत चोक सडकको नालीलगायत भित्री सडक र मुख्य सडकमा नाली व्यवस्थित गरेसँगै समस्या हटेको जानकारी दिनुभयो ।

    वडा नं ११ र १२ ले बाईपास सडकबाट केरुङ्गा घोलसम्म नाली बनाएपछि यी वडामा डुबानको समस्या घटेको वडा अध्यक्ष खनालले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरेसँगै भरतपुरको सहरी क्षेत्रको डुबान हटेको बताउनुभयो । केही ठाउँमा मात्रै समस्या बाँकी रहेको र ती ठाउँमा पनि समस्या पूर्ण रुपमा समाधान हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पुङगी र केरुङ्गा खोला व्यवस्थित गर्ने काम भइरहेको छ, यसले पूर्णता पाउँदा भरतपुरको मुख्य सहरी क्षेत्रमा डुबानको समस्या हल हुन्छ ।”

    महानगरले तत्कालीन कामअन्तर्गत भित्री सडकमा नाली बनाउने, पानीको निकासका उपाय खोज्ने काम गरिरहेको छ । मध्यकालीन योजनाअन्तर्गत पुङ्गी र केरुङ्गा खोलाको संरक्षण गरिरहेको छ । खोलाको रोकावट हटाउने र सुन्दरताको काम गरिरहेको छ । जसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा सङ्घीय सरकारको साझेदारीमा रु ३० करोड बढीको काम गर्दैछ ।

    प्रमुख दाहालका अनुसार दीर्घकालीन योजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा रु दुई अर्ब बढी लागतमा ठूला ढल व्यवस्थापन आयोजना यसै आवबाट सुरु गर्ने तयारी छ । दाहालले भन्नुभयो, “महानगरपालिकाले विगत सात वर्षदेखि सहरी ढल व्यवस्थापनका लागि निरन्तर काम गरेकाले प्रतिफल देखिन थालेको हो ।”

    खानेपानी तथा ढल व्यवस्थापन विभागले एसियाली विकास बैंकको सहकार्यमा उक्त आयोजना सञ्चालन गर्न लागेको हो । महानिर्देशक रामकुमार श्रेष्ठका अनुसार मन्त्रालयबाट योजना स्वीकृत भइसकेको छ । अर्थ मन्त्रालयले एसियाली विकास बैंकसँग सम्झौता गरेसँगै काम अघि बढ्ने छ । उहाँले भन्नुभयो, “बैंकसँग सम्झौता हुनासाथ बोलपत्र आह्वान गरेर काम अघि बढ्छ ।” भरतपुर महानगरपालिकामा रु। दुई अर्ब ५० करोड लागतमा ढल निर्माण हुने उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.