सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कागतीको उत्पादन छ बजार छैन


  •    न्युजभित्तो/१६ श्रावण २०८१, बुधबार १३:४५ 
  • झापा, १६ साउन । कागतीको व्यावसायिक खेती र पर्याप्त उत्पादन भइरहे तापनि बजार अभाव र रोगको प्रकोपका कारण किसान निराश हुन थालेका छन् । भारतबाट आयात हुने कागतीलेसमेत स्थानीय उत्पादनको बजारमा समस्या सिर्जना गरेको किसानहरुको भनाइ छ ।

    कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले झापामा आर्थिक वर्ष २०७६/७७ मा एक सय ७८ हेक्टर, आव २०७७/७८ मा दुई सय चार हेक्टर, आव २०७८/७९ मा तीन सय हेक्टर, आव २०७९/८० मा तीन सय हेक्टर र आव २०८०/८१ मा दुई सय ७० हेक्टर क्षेत्रफलमा कागतीखेती भएको बताउनुभयो । आव २०७९/८० देखि जिल्लामा कागती खेतीको क्षेत्रफलमा कमी आउन थालेको छ ।

    उहाँका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०र८१ मा एक हजार चार सय आठ मेट्रिक टन कागती उत्पादन भएको छ । उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव ७५ मेट्रिक टन रहेको छ । “जिल्लाको माग धान्ने गरी उत्पादन हुने गरेको छ,” उहाँले भन्नुभयो, “किसानहरु बिक्रीमा समस्या आएको बताउनुहुन्छ । बजारीकरणका बारेमा गम्भीर भएर सोच्ने बेला आइसकेको छ ।”

    सरकारले कागतीखेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानले धान खेत मासेर कागतीका बिरुवा रोपेका थिए । तत्कालीन कृषि विकास कार्यालयले तालिम, बिरुवा र मल दिने नीति ल्याएको थियो । पछि कृषि ज्ञान केन्द्रले कागतीमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ थप प्रोत्साहनका कार्यक्रमहरु ल्यायो । कागतीखेतीमा होमिएका किसानले बिरुवा, मल र सीप पाए पनि उचित बजारको व्यवस्था सरकारले गर्न नसकेको गुनासो गर्दै आएका छन् । पछिल्लो समय किसान साना गाडी लिएर गाउँ गाउँमा कागतीका पोका बेच्दै हिँड्न बाध्य छन् ।

    पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु छ करोड २७ लाख २० हजारको आठ सय ९६ मेट्रिक टन कागती भारतबाट भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । “चियाका बोट मासेर कागतीको व्यावसायिक खेती थालेको थिएँ,” विर्तामोड–६ का कमलराज बिमलीले भन्नुभयो, “सुरु सुरुमा त राम्रो फल्यो र आम्दानी पनि राम्रै पाइयो तर पछिल्लो समय रोगले बोट मास्न थाल्यो । भारतबाट सस्तो मूल्यमा भित्रिने कागतीले स्थानीय उत्पादनको बजार खर्लप्पै खान थालेको छ ।” कागतीको बोटमा टुप्पो सुक्ने प्रकोप देखापरेको उहाँले बताउनुभयो । विगत एक वर्षमा कागतीका चार सय बोट सुकेर मरेको उहाँको भनाइ छ ।

    झापामा कम्तीमा तीन सय किसानले कागतीको व्यावसायिक खेती गर्दै आएका छन् । केही सहकारी संस्थाले आफैँ र आफ्ना सदस्यलाई पनि यस खेतीमा लगाएका छन् । झापामा सुन–१, सुन–२, मद्रासी, युरिका र एनपीआरपी–५५ जातको कागतीखेती हुँदै आएको छ । कागतीको उत्पादन बढेपछि यसलाई कच्चापदार्थका रुपमा प्रयोग गर्ने अचार र जुसलगायत ठूला उद्योगहरु स्थापना नहुँदा किसानले सोचेजस्तो आम्दानी लिन सकेका छैनन् ।

    बुद्धशान्ति गाउँपालिका–२ का रामप्रसाद उप्रेतीले एक बिघा जमिनमा लगाएको कागतीले विगत चार वर्षदेखि उत्पादन दिइरहेको छ । वार्षिक रु पाँच लाखको कागती बेच्दा आधा रकम नाफा हुने उहाँले बताउनुभयो । “आम्दानी नै नहुने खेती त होइन,” उप्रेतीले भन्नुभयो, “धानखेतीको तुलनामा दश गुणा बढी आम्दानी हुँदोरहेछ तर अहिले बजार पाउन गाह्रो हुँदै गयो ।” उहाँले कागती बारीमा सुपारीखेती गरेर थप आम्दानी लिनुभएको छ । दुईजनालाई बाह्रै महिना कामदारका रुपमा रोजगारी दिनुभएका उहाँले बोटबाटै प्रतिगोटा रु तीनमा व्यापारीले कागती किन्ने गरेको बताउनुभयो । धान र अरू खेतीमा जस्तो खर्च ज्यादा नहुने भएकाले कागती सहज रुपमा बिक्री हुने वातावरण बन्ने हो भने फाइदै फाइदा हुने उहाँको अनुभव छ ।

    सिजन अनुसार मल, सिँचाइ, गोडमेल र फल टिप्दा स्थानीयले थप रोजगारी प्राप्त गरेका छन् । मेचीनगर, बुद्धशान्ति, विर्तामोड, अर्जुनधारा र गौरादह कागतीखेतीका लागि उर्वर पालिका बनेका छन् । कचनकबल–२ का जगदीश राजवंशीले बजार र प्रकोपबाट पीडित भएर कागतीखेती मास्न बाध्य भएको बताउनुभयो । उहाँको खेतमा हजुरबुबाको पालादेखि कागतीखेती हुने गरे तापनि व्यावसायिकखेती भर्खर गरिएको थियो । “दुई वर्षअघि ठूलो हावाहुरी र असिनाले क्षति पु९याएपछि कागतीखेती मास्नु पर्यो,” उहाँले भन्नुभयो, “किसानको क्षति हुँदा क्षतिपूर्ति दिने ठाउँ हुँदोरहेनछ । मैले कागतीबाट राम्रै आम्दानी पाएको थिएँ ।”

    जमिनको सतहबाट दुई मिटरसम्म चट्टान नभएको, पानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको पिएच पाँच दशमलव पाँच देखि छ दशमलव पाँचसम्म भएको दोमट माटो कागतीखेतीका लागि सबैभन्दा उयपुक्त मानिन्छ । पछिल्लो समय कागतीका बोटमा डाँठ पहेँलो हुने, पातमा कालो दाग आउने, जरा कुहिने र हाँगा सुक्नेलगायतका रोगले आक्रमण गरेको किसान रामप्रसाद उप्रेतीको गुनासो छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै
    बिमाका लागि पशुको नामसारी अनिवार्य
    पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव
    • तनहुँमा दूध उत्पादनमा वृद्धि
    • सन्दर्भः विश्व माटो दिवस: बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान
    • प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
    • माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.