सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व बाघ दिवसः सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती


  •    न्युजभित्तो/१४ श्रावण २०८१, सोमबार १७:१८ 
  • चितवन, १४ साउन । नेपालमा बाघको सङ्ख्या बढेसँगै संरक्षणमा नयाँ चुनौती थपिएका छन् । लक्ष्य लिएभन्दा बढी सङ्ख्यामा बाघ बढेपछि बासस्थान र आहारा व्यवस्थापन चुनौती बनेको हो । यससँगै मानवसँगको द्वन्द्व पनि बढ्दै गएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

    सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ सर्वेक्षणअनुसार नेपालमा बयस्क बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै यो सङ्ख्या एक सय २८ रहेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । पाटेबाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

    तत्कालीन समयमा नेपालमा एक सय २१ बाघ थिए । सन् २०२२ मा आइपुग्दा यो सङ्ख्या दुई सय ४२ पु¥याउने लक्ष्य लिइएकामा लक्ष्यअनुसारको सङ्ख्या बढेर तीन सय ५५ पुगेको छ । यो देशकै लागि सफलता मानिए पनि यसपछिका चुनौतीहरु भने थपिएका छन् ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले गत आर्थिक वर्षमा निकुञ्जमा आठवटा बाघ मरेका जानकारी दिनुभयो । बाघ मरेको कम थाहा हुने भन्दै उहाँले निकुञ्ज सुरक्षाको क्रममा बढी गस्ती गरिएकाले बाघ धेरै मरेका हुनसक्ने बताउनुभयो । बासस्थानका लागिसमेत बाघहरु एकआपसमा लडेर मृत्यु हुने गरेको तिवारीको भनाइ छ । “यो अवधिमा चारजनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । निकुञ्जभित्र र बाहिर यस्ता घटना हुने गरेका छन् । एक जनाको निकुञ्जभित्रको कोर क्षेत्रमा र अन्यको मध्यवर्ती वन क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु भएको हो”, उहाँले भन्नुभयो ।

    सूचना अधिकारी तिवारीले केही वर्ष अघि गरिएको अध्ययनले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक सय ७५ बाघका लागि बासस्थान पुग्ने देखाएको थियो । बासस्थान व्यवस्थापनमा सुधार गरेमा अरु थप बाघ रहन सक्ने देखिएको उहाँको भनाइ छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज एकआपसमा जोडिएका छन् ।

    बाघको आहार प्रजाति पर्याप्त नहुँदा शिकारका लागि बाघ बाहिर बस्तीमा प्रवेश गर्ने र घटना हुने गरेको छ । निकुञ्जभित्र र आसपासका क्षेत्रमा बाघ हिंस्रक बनेसँगै नियन्त्रणमा लिएर राख्ने गरिएको छ । निकुञ्जको मुख्यालय कसरा र भरतपुरको देवनगरमा पाँच वटा बाघ खोरमा राखिएको छ । कसरामा तीनवटा छन् भने देवनगरमा दुईवटा छन् ।

    सौराहामा खोर मर्मत हुँदै गरेकाले अहिले बाघ नराखिएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो । नियन्त्रणमा लिएर राखिएका बाघको हेरचाहका लागि समेत कठिनाइ हुने गरेको उहाँको भनाइ छ

    चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बाघको सङ्ख्या बढेसँगै चुनौती पनि थपिएको बताउनुभयो । बासस्थानको व्यवस्थापन गर्न नसक्दा मानव बस्तीमा बाघ प्रवेश गरेर द्वन्द्व बढाएको उहाँले उल्लेख गर्नुभयो । सरकारले बासस्थान व्यवस्थापनमा पर्याप्त बजेट विनियोजन गरेर निकुञ्जभित्र आहारको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    अध्यक्ष ढुङ्गानाले बाघको आहारा प्रजाति मानव बस्तीमा आएर बालीनाली खाइदिने र उनीहरुको सिकारका लागि बाघ पनि मानव बस्तीमा आउने गरेको बताउनुभयो । मध्यवर्ती क्षेत्रमा निकुञ्जमा उठेको राजस्वको ३० देखि ५० प्रतिशत विनियोजन गरेर मेसजाली, कम्पाउन्ड वाल, मध्यवर्तीमा भौतिक पूर्वाधार र संरक्षण शिक्षाका कार्यक्रम गर्दै आएकामा पछिल्ला वर्षहरुमा बजेट न्यून आएसँगै थप समस्या भएको उहाँले जानकारी दिनुभयो । सङ्कलन भएको राजस्वको २० प्रतिशतभन्दा तल मध्यवर्तीमा बजेट आएको भन्दै उहाँले यसले थप द्वन्द्व बढाउने अवस्था सिर्जना गरेको बताउनुभयो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले बाघको सङ्ख्या बढेसँगै आहारा प्रजाति बढाउनुपर्नेमा जोड दिनुभयो । निकुञ्जभित्र बासस्थानको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने भन्दै महानिर्देशक डा ढुङ्गानाले सङ्ख्या थपिएसँगै सेञ्चुरी निर्माण गरेर यसको संरक्षण गर्नुपर्ने अवस्था आएको बताउनुभयो । विचरण गर्न सक्ने ठूलो खुल्ला खोर ९सेञ्चुरी० निर्माण गर्ने योजनामा विभाग रहेको उहाँले जानकारी दिनुभयो ।

    कतिपय देशहरुमा बाघ उपहार दिएर ‘बाघ कूटनीति’ अपनाउने विषयमा पनि छलफल भइरहेको महानिर्देशक ढुङ्गानाले बनाउनुभयो । यसबाट अन्य देशहरुमा मित्रता बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ । बाघलाई मानव बस्तीमा आउन नदिने गरी भित्रै व्यवस्थापन गर्ने विषयमा विभागको ध्यान गएको महानिर्देशक ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो, “आहारा प्रजाति बढाउन आवश्यक घाँसेमैदान, पानीपोखरी र सिमसार क्षेत्र सुधार कार्यक्रम अगाडि बढाउने योजनामा छौँ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.