सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी


  •    न्युजभित्तो/१८ असार २०८१, सोमबार ११:४९ 
  • झापा, १७ असार । घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।

    सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन् । सबै सर्प विषालु हुँदैनन् । तर विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पुर्‍याउनुपर्ने चिकित्सक बताउँछन् ।

    पूर्वी इलामको सूर्योदय नगरपालिका–१ पशुपतिनगरका ३९ वर्षीय दिनेश तामाङलाई आइतबार बिहान घाँस काट्ने क्रममा गुर्बे सर्पले दाहिने हातमा डस्यो । गाउँका मानिसले झारफुक गर्ने धामीको सम्पर्कमा उहाँलाई पुर्‍याए । सिरु र खरानी दलेर धामीले झारफुक गर्दा ठीक नभएपछि उहाँलाई चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लगियो ।

    नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायले सञ्चालन गरेको उक्त केन्द्रमा उपचार गराएपछि बल्ल उहाँको स्वास्थ्यमा सुधार आएको छ । तराईमा गोमन र करेत सर्प बढी विषालु छन् । पहाडी क्षेत्रमा गुर्बे र हरेउ विषालु सर्प मानिन्छन् । बर्खा याममा मानिसलाई डस्ने मुख्य सर्प यिनै हुन् ।

    मेचीनगर–१५ बिचार्नीका ५१ वर्षीय जुपुइ हेमरम सोही सर्पदंश उपचार केन्द्रमा उपचाररत हुनुहुन्छ । उहाँको देब्रे औँलामा आइतबार बिहान ओछ्यानमै सर्पले डस्यो । सन्थाल समुदायमा सर्पको विष झार्न झारफुक गर्ने परम्परागत प्रचलन छ । आधा घण्टाभन्दा बढी समय तन्त्रमन्त्र प्रयोग गरेर विष झार्दा पनि सुधार नभएपछि उहाँलाई मोटरसाइकलमा चढाएर चारआलीको सर्पदंश उपचार केन्द्र पुर्‍याइयो ।

    सर्पले डसेपछि धेरैजसो पीडित डरले सिकिस्त हुने गरेका छन् । कोहीले जिउँदो सर्प समातेर चिकित्सकलाई प्रमाण देखाउन अस्पताल पुर्‍याउने गर्छन् । इलामको माइजोगमाई–१ का १५ वर्षीय विनोद राईले घाँस काट्दा देब्रे हातको औँलामा डस्ने विषालु हरेउ सर्प जिउँदै समातेर चारआलीको सर्पदंश उपचार केन्द्रमा पुर्‍याए । अहिले राईको उपचार भइरहेको छ ।

    मेचीनगर–६ का ३२ वर्षीय मुन्ना कार्की प्रख्यात सर्प उद्धारकको रुपमा चिनिनुहन्छ । उहाँले विगत ११ वर्षमा एक हजारभन्दा बढी सर्प मानिसका घरबाट उद्धार गरेर जङ्गलमा पुर्‍याइसक्नु भएको छ । तीन दिन अघि छिमेकीको घरमा उद्धार गर्ने क्रममा विषालु गोमनले डस्दा उहाँ आफै घाइते हुनुभएको छ । उद्धार गरेर ल्याएको कालो गोमनलाई बट्टामा राखिरहेका बेला उहाँलाई डसेको थियो । उहाँको स्वास्थ्य सुधार भइरहेको छ ।

    सर्प बर्खायाममा जमिनको सतहमा आहाराका लागि निस्कन्छन् । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । जसका कारण नेपालमा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् । बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पुर्‍याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाका चारआलीस्थित अरिदमन गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउनुुहुन्छ । सर्पदंश उपचार केन्द्र चारआलीमा मुख्य प्राविधिक रहनुभएका उहाँ पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी र हिमाली भेगमासमेत सर्पको बिगबिगी बढ्न थालेको बताउनुहुन्छ ।

    चारआलीको उपचार केन्द्रमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भारतको दार्जिलिङ एवं विहारका जिल्लाबाट सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । “पहाडमा गुर्बे, हरेउ र तराईमा गोमन र करेत प्राणघातक सर्प हुन्”, उहाँले भन्न्ुभयो, “हामीकहाँ उपचारका लागि आउने अधिकांश बिरामीले तिनै सर्पले डस्यो भन्ने गर्नुभएको छ । बर्खाको चार पाँच महिना त सर्पको डसाइको प्रकोप नै हुने गरेको छ ।”

    केन्द्रको सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईले विसं २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका बिरामीले उपचार पाएको बताउनुभयो ।

    केन्द्रले बिरामीको दर्ता शुल्क रु एक सय र साधारण उपचार सेवा शुल्क रु छ सय मात्र लिने गरेको छ । उपचारका लागि बस्दा बेड शुल्क रु एक सय, पाँच भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम) को रु एक हजार पाँच हजार र पाँच भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु तीन हजार शुल्क लिने गरिएको केन्द्रले जनाएको छ ।

    विपन्न र असहाय बिरामीका लागि निःशुल्कसमेत उपचार गर्दै आएको अध्यक्ष भट्टराईले बताउनुभयो । “समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौँ”, उहाँले भन्नुभयो । बर्सेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१ जना, जेठमा एक सय २३ जना र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् । विसं २०८० मा सर्पले डसेका नौ सय ७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

    कोशी प्रदेशमा १३ वटा सर्पदंश उपचार केन्द्र छन् । झापामा मात्रै चारवटा छन् । चारआलीस्थित नेपाली सेनाको व्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो । नेपाल रेडक्रस सोसाइटीले दमक र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कनकाई र कचनकबल गाउँपालिकाले बनियानीमा आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् ।

    सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक संस्थाले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् । देशभर ८८ उपचार केन्द्र रहेकोमा २२ वटा नेपाली सेनाको प्रत्यक्ष प्राविधिक सहयोगमा सञ्चालित छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.