सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टीनमेयरबीच औपचारिक भेटवार्ता हुँदै


  •    न्युजभित्तो/४ असार २०८१, सोमबार ११:४८ 
  • काठमाडौँ, ३ असार । सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रैंक–वाल्टर स्टीनमेयरबीच आज औपचारिक भेटवार्ता हुँदैछ । राष्ट्रपति पौडेल आफ्ना जर्मनी समकक्षी स्टीनमेयरको औपचारिक निमन्त्रणामा शनिबार राति बर्लिन पुग्नुभएको हो ।

    राष्ट्रपति पौडललाई बर्लिनमा आज जर्मन सरकारका तर्फबाट गार्ड अफ अनर प्रदान गरिने उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो । जर्मनीको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र त्यहाँका राष्ट्रपति स्टीनमेयरबीच आजै साँझ प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता हुनेछ ।

    सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको यो पहिलो औपचारिक भ्रमण हो । नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले काठमाडौँमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो । सन् २०१८ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

    विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबिचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पु¥याएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो ।

    तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गर्नुभएको थियो । त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गर्नुभएको थियो ।

    यसैगरी, तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री माधवकुमार नेपालले सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनीको भ्रमण गर्नुभएको थियो । यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गर्नुभएको थियो ।

    त्यस्तै जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केले सन १९६७ र राष्ट्रपति प्रा रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गर्नुएको थियो । जर्मन संसद्की उपाध्यक्ष क्लाउडिया रोथले अप्रिल २०१७ मा नेपाल भ्रमण गर्नुभएको थियो । टोबियास फ्लुगरको नेतृत्वमा जर्मनीको संसदीय प्रतिनिधिमण्डलले सन् २०१९ मार्च १ देखि ५ सम्म नेपालको औपचारिक भ्रमण गरेको थियो । जर्मनीकी प्रथम महिला एल्के बुडेनबेन्डरले फेब्रुअरी २०२० को पहिलो साता युनिसेफको संरक्षकको हैसियतमा नेपाल भ्रमण गर्नुभएको थियो ।

    अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन गत जेठ ३० स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका राष्ट्रपति पौडेलले यही असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमणमा हुनुहुन्छ । उहाँ असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुभएको थियो ।

    राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल हुनुहुन्छ । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, जर्मनीका लागि नेपाली राजदूत तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहुनुभएको छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनुहुनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.